दशैंमा पनि रोकिएन १४० मेवा क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम

असोज २९, दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दशैंमा पनि कामलाई निरन्तरता दिएको छ ।

आयोजनाको तीन ओटै प्याकेजका काम दशैंमा पनि निरन्तर सञ्चालन भइरहेको छ । प्याकेज १, प्याकेज २ र प्याकेज ३ अन्तर्गतका कामलाई दसैं बिदामा पनि नरोकी सञ्चालन गरिएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए । उनका अनुसार तीन ओटै प्याकेजको काम दशैंमा रोकिएका छैनन्, कामहरु निरन्तर भइरहेका छन् ।

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरु गरिरहेको छ । सो प्याकेजअन्तर्गत हाल पाँच ठाउँमा काम भइरहेको छ । आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका कामलाई दशैंमा पनि निरन्तरता दिइएको छ । हाल ५५ जना चिनियाँ प्राविधिक, कामदारसहित २१५ जनाले प्याकेज–२ अन्तर्गतको काम गरिरहेका छन् ।

सिनो हाइड्रोले हालसम्म पाँच ओटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । २१५ मिटरको ट्रेलरेस सुरुङको काम भने भर्खरै शुरु गरिएको छ । आयोजना प्रमुख घिमिरेका अनुसार जम्मा सुरुङको काम ५० प्रतिशत सकिएको छ ।

प्याकेज–३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । सो प्याकेजअन्तर्गत हालसम्म २७ ओटा फाउण्डेशनको काम सकिएको छ भने ६ ओटा फाउण्डेशनको काम चलिरहेको छ । कुल ९४ मध्ये २० ओटा टावरका लागि सामग्री आउने क्रममा रहेको उहाँले जानकारी दिए ।

प्रशारण लाइन निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरण भइरहेको छ ।

प्रशारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइइ पुनरावलोकन गरी स्वीकृतीका लागि विद्युत् विकास विभाग पठाइएको उनले जानकारी दिए। प्रशारण लाइन निर्माणका लागि कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न १ करोड ३१ लाख ३४ हजार ५१० रुपैयाँ मुआब्जा निर्धारण भएको छ ।

प्याकेज–१ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । सो प्याकेजअन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजका लागि आठ जना भियतनामी प्राविधिक साइटमै परिचालन छन् । त्यस कामका लागि दशैंं आगाडि खटिएका ७५ जना मजदूरलाई दसैं बिदा दिइएको छ । आर्थिक दैनिकमा समाचार छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro