राष्ट्र बैंकको निर्देशनपछि नेप्से परिसूचक २.४१ % ले बढ्यो
वि.सं.२०७८ कात्तिक ४ बिहीवार
shares
साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक २ दशमलव ४१ प्रतिशत अर्थात् ६० दशमलव ५६ अंकले वृद्धि भएको छ ।
यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा बढेर २ हजार ५७१ दशमलव ६६ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २१७ ओटा धितोपत्रको ६१ लाख १ हजार ४१४ कित्ता रू. २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका ती धितोपत्र मध्ये पाँच ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आँखुखोला जलविद्युत् कम्पनी,युनिभर्सल पावर कम्पनी,मैलुङ खोला जलविद्युत् कम्पनी,सिईडीबी हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो ।
ती पाँच ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । आँखखोला जलविद्युत् कम्पनी, युनिभर्सल पावर, मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत,सिईडीबी हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशत र नेशनल हाइड्रोपावरको ९ दशमलव ९७ प्रतिशत दरले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी सबैभन्दा बढी एनआइबिएल प्रगति फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ३४ प्रतिशत घटेको हो । फण्डको इकाई मूल्य प्रतिइकाई रू.१० कायम भएको छ ।
त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू. ९ करोड ४८ लाख ५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४६० कायम भएको छ । बुधवार कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको छ ।
सबैभन्दा बढी वित्त समूहको परिसूचक ५ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमलव ८४ प्रतिशत, व्यापार समूहको परिसूचक ३ दशमलव शून्य १ प्रतिशत,होटल एण्ड टुरिजमको परिसूचक ३ दशमलव १३ प्रतिशत, विकास बैंक समूहको परिसूचक ३ दशमलव १४ प्रतिशत,फाइनान्स समूहको परिसूचक ४ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी निर्जीवन बीमा समूहको परिसुचक २ दशमलव २ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको २ दशमलव शून्य ६ प्रतिशत,अन्य समूहको ३ दशलमव ८९ प्रतिशत,लघुवित्त समूहको १ दशलमव ९९ प्रतिशत,जीबन बीमा समूहको १ दशमलव ३३ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव ४३ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जथाभावी रुपमा ब्याजदर बढाउन रोक लगाएपछि त्यसको सकारात्मक प्रभाव बुधवारको कारोबार दिनमा परेको देखिएको छ । कात्तिक १ गतेबाट लागू हुने गरी बढाएको ब्याजदर फिर्ता गर्न केन्द्रीय बैंकले निर्देशन दिएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताहरुले बताएका छन् ।
कात्तिक १ गतेबाट बैंकहरुले निक्षेपत्रको ब्याजदरमा साढे ११ प्रतिशतभन्दा माथि पुर्याउँदै सूचना निकालेसँगै दुई दिन लगातार शेयरबजार करीब १५० अंकले बजार घटेको थियो । तर केन्द्रीय बैंकले मंगलवार बेलुका ब्याजदर फिर्ता गर्न निर्देशन गएसँगै बुधवारको बजारमा सकारात्मक प्रभाव परेको हो । आर्थिक दैनिकमा समाचार छ ।






























