सम्मानजनक बहिर्गमनकाे पर्खाइमा प्रधानन्यायाधीश जबरा
वि.सं.२०७८ कात्तिक १५ सोमवार
shares
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश आफू निकटका न्यायाधीशमार्फत इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई सन्देश पठाएका छन् । प्रधानन्यायाधीश निकट न्यायाधीश डा. मनोजकुमार शर्मालाई उनले सो सन्देश पठाएका हुन् ।
‘आइतबार संयुक्त बैठकमा न्यायाधीश शर्माले प्रधानन्यायाधीश राणाको सन्देश सुनाउँदै भन्नुभयो, सम्माननीयज्यूले सम्मानजनक निकास चाहनुभएको छ । कसरी छलफल गर्न सकिन्छ भनेर भन्नुभयो,’ एक न्यायाधीशले भने, ‘त्यसपछि हामीले छलफल गरेर एकपटक वार्ताका लागि समिति बनाउने निर्णयमा पुग्याै ।
सम्मानजनक बहिर्गमनको बाटोमा रहेको कुरा आएपछि न्यायाधीश डा. शर्मासहितको तीन सदस्य वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र न्यायाधीश डा. मनोजकुमार शर्मा छन् ।
आइतबार नै सो टोलीले प्रधानन्यायाधीशसँग एक चरण छलफल गरिसकेको एक न्यायाधीशले जानकारी दिए । प्रधानन्यायाधीशसँग भेटको निष्कर्ष के आयो भन्नेबारेमा सोमबारको बैठकमा छलफल हुने ती न्यायाधीशले जानकारी दिए ।
सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश राणाले अहिले खोजेको सम्मानजनक बहिर्गमन भनेको आउँदो वर्षको असार मसान्तसम्म प्रधानन्यायाधीश रहने हो । असार मसान्तलगतै राजीनामा दिएर मार्ग प्रशस्त गर्ने प्रधानन्यायाधीश राणाको मूल सन्देश रहेको स्रोतले बतायो ।
२७ मंसिर २०७९ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने जबराले २०७९ असार मसान्तबाट बिदा हुने सांकेतिक सन्देश पठाएका हुन् । त्यसो हुँदा अहिले रोलक्रममा रहेका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की तीन महिनाका लागि प्रधानन्यायाधीश हुन पाउनेछन् । कार्कीको अवकाशपछि रोलक्रमअनुसार न्यायाधीश मीरा खड्काको वैशाखमै अवकाश हुने भएपछि न्यायाधीश हरिकृष्ण कार्की दुई महिनाअघि नै प्रधानन्यायाधीश हुनेछन् ।































