एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर
वि.सं.२०७८ मंसिर ११ शनिवार
shares
चितवन । देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।
आजबाट सौराहामा बन्दसत्र
महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले जनाएको छ । एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनमा देशभरबाट ६ लाख नेता कार्यकर्ता आएको दाबी गरिन् । उनले महाधिवेशनमा सहभागीको संख्या अत्यधिक भएर आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको जानकारी दिइन् ।

देशभरका ७७ जिल्ला, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वटै वडाबाट आएका लाखौं जनता, स्वेदशी तथा विदेशी पाहुनाबीच एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो ।
उद्घाटन अगाडि आयोजित -यालीमा एमाले र अध्यक्ष ओलीको पक्षमा नारासमेत लगाइएको थियो । उद्घाटनका क्रममा राष्ट्रिय जनसांस्कृतिक मञ्चका कलाकारले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा एमालेको सरकारका पालामा भएका महत्वपूर्ण उपलब्धि समेटेर तयार गरिएको डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नारायणगढ बजारमा सवारी चलेका थिएनन् । बजार क्षेत्रमा कार्यक्रममा सहभागीहरूको भिड देखिएको थियो । पूर्वी क्षेत्रबाट आउने सवारीसाधन पास नभएका कारण झन्डै ३ किलोमिटरसम्म सहभागीले पैदल यात्रा गरेका थिए । जिल्लाका ७ स्थानबाट बाजागाजासहितको जुलुस निकालिएको थियो ।
एमाले महाधिवेशनमा आएका नेता, कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि तथा पर्यवेक्षकहरूले नारायणी नदी किनार भरिभराउ भएको थियो । महाधिवेशनको उद्घाटन सत्र प्रत्यक्ष रूपमा हेर्नका लागि नवलपुर र चितवनतर्फ नारायणी नदीकिनारमा ठूला ठूला एलईडी डिस्प्लेसमेत राखिएको थियो । राजधानी दैनिकमा समाचार छ ।
































