शेयर बजारमा ८०.२९ अंकको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ठूलो गिरावट देखिएको छ।

लामो समयदेखि लगानीकर्ता राष्ट्र बैंकले त्रैमासिक रुपमा गर्ने मौद्रिक नीतिको समीक्षा पर्खिरहेका थिए।

उक्त समीक्षामा लगानीकर्ताले हटाउन माग गरेको ४/१२ को क्याप (कुनै व्यक्ति वा संस्थाले सेयर धितो राखेर एउटा बैंक वा वित्तीय संस्थाबाट चार करोड रुपैयाँ र समग्र बैंकिङ च्यानलबाट १२ करोड रुपैयाँ मात्र ऋण लिन पाउने व्यवस्था) मा कुनै संशोधन हुने विश्वास लिएका थिए। तर सो सिमालाई राष्ट्र बैंकले यथावत् राखेपछि त्यसको प्रभाव आज सेयर बजारमा देखिएको हो।

समीक्षा सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको छ।

यसदिन नेप्सेमा ब्रिकी चाप नै बढी देखियो। आज ठूलो अंकले गिरावट आउँदा ५ अर्ब बढीको कारोबार भएको छ।

दिनभरिमा ७० हजार ८ सय ४२ पटकको खरिदबिक्रीपछि ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

आज नेप्सेका सबै उपसमूह राताम्मे भएका छन्। बैंकिङ ३४, ब्यापार १५९, होटल तथा पर्यटन १४७, विकास बैंक २६७, जलविद्युत १३२, फाइनान्स ६८, निर्जीवन बीमा ३८५, उत्पादन १९२, अन्य ६८, माइक्रोफाइनान्स १३९ र जीवन बीमा उपसमूह ५३८ अंकले घटे।

Shangri-la Development Bank Ltd.
Nepali patro