एमालेको १०औं महाधिवेशनः जुटेन सहमति, अब निर्वाचनकै सहारा

Ghorahi cement

सौराहा, चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास आइतबार दिनभर असफल भएको छ । आइतबार दिनभरि अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले आकांक्षीहरूसँग दिनभरि छलफल गरे पनि कुनै सहमति जुटन सकेन ।

शुक्रबार भएको बन्दसत्रले सर्वसम्मतमा पदाधिकारी र सदस्य चयनको प्रस्ताव गर्न अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई अधिकार दिएको थियो । आइतबार दिनभरि ओलीले नेताहरूसँग छलफल गरेका छन् । तर सहमति हुन नसक्दा उनले सर्वसम्मतमा नाम प्रस्ताव गर्न नसकेका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सर्वसम्मतमै नेतृत्व चयन हुने बताए ।

अध्यक्ष मण्डलका अध्यक्ष ओलीले आफूखुसी बन्द सत्रको कार्यक्रम ढिला गरेको भन्दै आपत्ति जनाएका छन् । उनले ११ मंसिरमा उम्मेदवारी दर्ता र १२ मंसिरमा मतदान गर्ने कार्यक्रम भए पनि सोहीअनुसार कार्यक्रम अगाडि नबढाएको भन्दै आपति जनाएका छन् ।

आइतबार १० बजे बिहान सुरु गर्ने भनिएको बन्दसत्र सुरु हुन सकेन । त्यसपछि ७ बजे राति बन्दसत्र सुरु गर्ने भनिए पनि सो समयमा समेत सुरु हुन सकेन । ८ बजे राति सुरु गर्ने भनिएको बन्द सत्र १० बजे राति सुरु भएको छ । तर, बन्दसत्र सुरु हुनुभन्दा अघि अध्यक्ष मण्डलको बैठक जारी रहेकाले बन्दसत्र कतिखेर सुरु हुने कुनै ठेगान छैन ।

पदाधिकारीमा सर्वसम्मत गर्ने प्रयास ओलीले जारी राखेको उनीनिकट एक नेताले बताए । तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका डा. भीम रावल र महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका विष्णु पौडेलको अडानका कारण ओलीलाई सर्वसम्मतमा सकस भएको छ ।

महाधिवेशनको बन्दसत्रमा सहभागी एक नेताका अनुसार अन्य पदमा सर्वसम्मत निर्वाचित गर्ने वातावरण बनाइसकेका ओलीलाई रावल र पौडेलका कारण सकस परेको हो । ओलीले रावललाई अध्यक्षमा उम्मेदवारी नदिई सर्वसम्मत उपाध्यक्ष बन्न गरेको प्रस्ताव उनले अस्वीकार गरेका छन् । तर, रावल स्रोतका अनुसार शनिबार ओली र रावलबीच कुनै प्रकारको छलफल वा भेटघाट नै भएको थिएन । आइतबारसमेत ओली र रावलबीच कुनै प्रकारको छलफल हुन सकेन ।

सर्वसम्मत पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्न बन्दसत्रले ओलीलाई अधिकार दिँदै गर्दा रावलले अध्यक्षमा आफ्नो उम्मेदवारी कायम नै रहेको बताएका थिए । मतदातामाझ उनी अध्यक्ष पदका लागि मत मागिरहेका छन् । रावलनिकटका नेताहरूले अध्यक्षमा रावललाई मतदान गर्न भन्दै आइतबार दिनभरि मत मागेका छन् । राजधानी दैनिकमा समाचार छ ।

Nepali patro