डाबर नेपालले प्याकिङ गरेको च्यबनप्रासको भाँडोमा भेटियो १४५ किलो चरेस

Ghorahi cement

काठमाडौँ । विश्वमै बिक्रीवितरणमा प्रतिबन्ध रहेको लागूऔषध चरेस ठूलोमात्रामा बरामद भएको छ । बरामद भएको चरेस बहुराष्ट्रिय कम्पनी डाबर नेपालको उत्पादन च्यबनप्रासको सिलप्याक भाँडोभित्र माथि च्यबनप्रास र तल चरेस हालिएको अवस्थामा रहेको थियो । कम्पनीले मात्र गर्नसक्ने सिलभित्र चरेस भेटिनुमा डाबर नेपालका केही अधिकारीहरुको संलग्न रहेको आशंका गरिएको छ । ३२ वटा कार्टुनमा एक सय ९२ वटा च्यबनप्रासभित्र एक सय ८५ किलो तीन सय ५० ग्राम चरेस भेटिएको छ ।

 

चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीका अनुसार कार्टुन र बट्टाबाहेक एक सय ४५ किलो चरेस बरामद भएको छ । ठूलो परिमाणमा चरेस बरामद हुँदासमेत गुपचुप राखिनुले चरेस प्याकेजिङ्गमा ठूलै गिरोहको संलग्नता रहेको आशंका गरिएको छ ।

 

झण्डै २३ दिनअगाडि नै उक्त मात्रामा चरेस फेला पारे पनि नेपाल प्रहरीले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । लामो समयसम्म गुपचुप राख्नाले उक्त चरेस तस्करीमा नाम चलेको समूह नै संलग्न रहेको अनुमान गरिएको छ । नेपाल प्रहरीले हरेक दिन देशमा भएका घट्नाहरु सार्वजनिक गर्दै प्रेस विज्ञप्ति जारी गर्ने गरे पनि करोडौं मूल्य पर्ने चरेस बरामद भएको घटना सार्वजनिक नगरिनुले डबर कम्पनी र नेपाल प्रहरीका अधिकारीको नियतमाथि प्रश्न खडा भएको हो ।

 

गत कात्तिक २७ गते चितवनको रत्तननगर नगरपालिकाको वडा नं. ३ लोकप्रिय टोलमा रहेको विष्णु पन्तको घरमा गोदाम बनाई राखेको अवस्थामा चरेसको कारोबार गर्ने लमजुङ दोर्दी गाउँपालिका वडा नं. ०३ का वर्ष २५ का सुजन गुरुङ र वर्ष २३ का सुजन सार्की तथा रत्ननगर नगरपालिका वडा नं. १५ का वर्ष ३२ का उद्धव अधिकारीसहित प्रहरीले ३२ वटा कार्टुनमा सो परिमाणको चरेस बरामद गरेको थियो ।

 

डाबर नेपालको उत्पादन रहेको च्यबनप्रासको सिलप्याक भाडोमा माथि च्यबनप्रास र तल चरेस रहेको अवस्थामा बरामद भएपछि कतै डाबर नेपालले नै यस्तो धन्दा त गर्दै छैन भन्ने आशंका केही जुनियर प्रहरी अधिकारीहरुले पनि गरेका छन् । तर, प्रहरीको माथिल्लो तहले नै घटनालाई ढाकछोप गर्ने नियतले लामो समयसम्म लुकाएर राखेको कारण जुनियर प्रहरी अधिकारीहरुको आशंकामा समेत बल मिलेको छ ।

 

यस विषयमा बोल्न डाबर नेपालका प्रतिनिधि अभय गोर्खालीलाई पटक–पटक आग्रहसहितको म्यासेज पठाउँदा समेत उनी यस विषयमा प्रतिक्रिया दिन तयार भएनन् । यदि यसमा डाबर नेपालका कुनै अधिकारीको संलग्नता थिएन भने उनलाई बोल्न खासै समस्या हुने थिएन ।

 

त्यसो त पछिल्लो समय नेपालमा ठूला उद्योगीहरुले समेत विभिन्न गैरकानुनी धन्दाहरु गरेको सार्वजनिक हुँदै आएको समयमा डाबर नेपालको सिलप्याक भाडोमा चरेस भेटिनुले थप आशंका उत्पन्न गरेको छ ।

सो चरेसलाई कारोबारीहरुले विष्णु पन्तको घरलाई गोदामका रुपमा मात्र प्रयोग गर्दै आएको बताइएको छ । गोदाम गरिएको उक्त स्थानमा अवैध चरेस लुकाइराखेको भन्ने सूचना प्राप्त भएपश्चात् टाँडीका प्रहरी प्रमुख इन्द्रबहादुर रानाको नेतृत्वमा गएको प्रहरीले बरामद गरेको थियो । चरेस बरामद भएपछि प्रहरी र डाबर नेपालका उच्च अधिकारीकहाँ जानकारी पुगेपछि त्यसलाई तत्काल सार्वजनिक नगर्ने सहमति जुटेको बताइएको छ ।

पक्राउ परेकाहरूलाई अहिले इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा राखिएको छ । यस विषयमा टाँडी प्रहरीले भने घटना अनुसन्धानकै सिलसिलामा रहेकोले थप केही कुरा बताउन नमिल्ने बतायो । चितवन प्रहरीले यस घटनालाई बाहिर ल्याउन नचाहेको हो भन्ने हाम्रो जिज्ञासामा चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीले अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने र थप आरोपित भाग्न सक्ने वा अनुसन्धान प्रक्रिया नै प्रभावित हुनसक्ने भन्दै प्रहरीले औपचारिक रूपमा जानकारी नदिएको बताए । प्रहरीले पक्राउ गरेको तीनै जनालाई जिल्ला अदालत चितवनबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए ।आर्थिक दैनिक

Shangri-la Development Bank Ltd.
Nepali patro