२ अर्व ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँ संशोधित बजेट नगर सभामा पेश 

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाको २ अर्व ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट नगर सभामा पेश भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख एवं सभाका अध्यक्ष बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सुरु भएको नगर सभाको १२ अधिवेशनमा उपप्रमुख एवं सभाका उपाध्यक्ष सुनिता डंगोलले संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । बजेट ११ औँ नगर सभाबाट चालु आर्थिक बर्षका लागि स्वीकृत ४ अर्व ३६ करोड ७१ लाख ७ हजार बजेटका कार्यक्रमहरुलाई संशोधनमा लगिएको हो । 

संशोधन प्रस्ताव पेश गर्दै उपप्रमुख डंगोलले, ६ महिनामा बजेट कार्यान्वयनको प्रगति हेरेर संशोधन प्रस्ताव पेश गरिएको बताउनुभयो । यसबाट बजेट कार्यान्वयनमा सुधार हुने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

चालु आर्थिक बर्षका लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको थियो । यसमा सञ्चित कोषबाट २२ अर्व ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।

सभामा लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिकी संयोजक गायत्री पुडासैनीले, आर्थिक बर्ष २०७७÷०७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भएको जानकारी दिनुभयो । त्यस आर्थिक बर्षमा बेरुजु देखिएको १ अर्व ७ करोड १२ लाख २५ हजार रुपैयाँमध्ये प्रारम्भिक प्रतिवेदनको माध्यमबाट ३७ लाख ८१ हजार रुपैयाँ फस्र्यौट भएको छ । फस्र्यौट हुन बाँकी रहेको १ अर्व ६ करोड ७४ लाख ४४ हजार रुपैयाँमध्ये २५ करोड ७५ लाख रुपैयाँ असुल गर्नुपर्ने, ६१ करोड ४६ लाख ८४ हजार रुपैयाँ प्रमाण तथा कागजपत्र पेश गर्नुपर्ने, ४ करोड ४५ लाख ८८ हजार रुपैयाँ नियमित गर्नुपर्ने र पेश्की १५ करोड ६ लाख ६ हजार रुपैयाँ रहेको छ । प्रतिवेदनमा संयोजक पुडासैनीले उल्लेख गर्नुभएको छ । समितिको यो प्रतिवेदन सभाबाट पारित भएको छ ।

यसपछि संयोजक पुडासैनीले आर्थिक बर्ष २०७७÷०७८ सम्मको नियमित गर्नु पर्ने ६५ करोड ६१ लाख ८१३ रुपैयाँ वेरुजुको प्रमाण संकलन, पुष्ट्याइँ र जवाफ प्राप्त भएको जानकारी दिँदै यो रकम नियमित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । यो प्रस्ताव सभाबाट पारित भएको छ ।

सभामा विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जनले विधेयक तथा संशोधन गर्नुपर्ने ऐन सम्बन्धी प्रस्ताव पेश गर्न‘भएको थियो । यसरी पेश भएका २ वटा विधेयकमा नगर प्रहरी र सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धी छन् । संशोधन गर्नुपर्ने बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, कर्मचारीको सेवा सर्त सम्बन्धी ऐन, २०७७ र आर्थिक ऐन २०७९ संयोजक महर्जनले पेश गर्नुभयो । पेश भएका विधेयक तथा ऐनको दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ । समितिले यी दस्तावेज नगर सभाको आगामी बैठकमा पेश गर्नेछ ।

सभामा सुशासन समितिका संयोजक एवं वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले महानगरपालिकाको संगठन संरचना, दरबन्दी संरचना, र केही पद नामहरुको कार्य विवरण संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ को दफा ५ उपदफा १ बमोजिम प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति र सुशासन समितिको निर्णयका आधारमा संयोजक तिवारीले प्रस्ताव पेश गर्नुभएको हो ।

यो प्रस्तावमाथि दफावार छलफल गरेर नगर सभाको अर्को बैठकमा पेश गर्ने गरी सुशासन समितिमा पठाइएको छ ।

सभाको अर्को बैठक माघ ६ गते बस्नेछ ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro