असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याइने
वि.सं.२०७९ चैत २ बिहीवार
shares
केही सहकारी संस्थाहरुमा आएको समस्यावाट सहकारीको मूल्य र मान्यतामा चल्ने सहकारी संस्थाहरु लाई शंकाको दृष्टिले हेर्न नहुने कुरामा सहकारी अभियन्ताहरु सहमत देखिएका छन्।
खासगरि केही बचत तथा ऋण सहकारीमा देखिएको समस्यालाई समाधान गर्ने तर्फ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पहल शुरु गरिरहेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारी समाधान समिति लाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाहरु वाट बचतकर्ताको रकम शीघ्र फिर्ता गर्ने व्यवस्था मिलाउन उक्त समितिलाई निर्देशन दिएका छन् ।
तदनुरुप उक्त समितिले बचतकर्ताहरुको रु ४५ करोड रकम फिर्ता गराइसकेको छ र सहकारीको मूल्य मान्यता विपरित कार्य गर्ने सहकारीका १०० भन्दा बढी चल अचल सम्पत्ति रोक्का र १००० भन्दा बढी श्रेस्ताहरुको अनुसन्धान गरिरहेको छ ।सहकारी विभागले सहकारीको मूल्य मान्यता विपरित कार्य गर्ने संचालकहरुको राहदानी र वैंक खाता रोक्का गरि बचतकर्ताहरुको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको छ । असल सहकारीलाई प्रोत्साहन गर्ने र गलत कार्य गर्ने सहकारीलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्न उनले सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र पदाधिकारीहरुलाई आग्रह गरे । सचिव डा रेग्मीले सवै जिल्ला संघहरुले जिल्ला जिल्लामा यस्तो भूमिका निभाउन आग्रह गरे ।
सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले गलत कार्य गर्ने सहकारीलाई कुनै पनि जिल्लाका पदाधिकारीहरुले प्रोत्साहन नगर्न र यसमा सचेत हुन सवै संचालकहरुलाई आग्रह गरिने बताए । सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारी व्यवस्थापन समितिको व्यवस्था र यसले गरेको कार्यवाट समस्यामा परेका बचतकर्ताको कुरा सुनिदिने र समस्या समाधान गरिदिने निकाय देशमा रहेकोले सदस्यहरुमा आशाको संचार विस्तार भएको वताए ।उनले भने असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याइनेछ ।
सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले गलत कार्य गर्ने सहकारीलाई कारवाहीको दायरामा ल्याउन विभाग सक्रिय रहेको वताए । छलफलका सहभागीहरुले सहकारी अभियान गलत नभएको तर केही संचालकहरुको गलत क्रियाकलापवाट समस्या आएको र ती समस्या समाधान गर्न सवै सरोकारवालाहरुको सामूहिक प्रतिबध्दता आवश्यक भएको बताए ।































