आईपीओ आवेदनकर्ताहरुलाई घोराही सिमेन्टले दियो धन्यवाद

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले साधारण शेयर (आईपीओ)मा आवेदन दिनेहरुलाई धन्यावाद दिएको छ । घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ बिक्रीमा ल्याएको थियो ।

 

यस कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको शेयर जारी गर्नेछ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता शेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता शेयर छुट्याइएको थियो । सो शेयर खरिदका लागि देश बाहिर रहेका वैदेशिक शेयर खरिदकर्ताले देखाएका उत्साहले थप हौसला बढाएको कम्पनीले जनाएको छ ।

 

नेपालको औद्योगीकरण र व्यापार प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकासमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्धित यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादककारुपमा स्थापित कम्पनी हो । यस उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेको थियो । हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याएको कम्पनीको दाबी छ ।

 

कम्पनीले सर्वसाधारणको लागि पनि आईपीओ जारी गर्ने तयारी गरेको छ । शेयर खरिद कार्यमा आम लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता हुने कम्पनीको अपेक्षा रहेको जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro