नबिल र एसियन पेन्टस् बिच च्यानल फाइनान्सिङको सम्झौता
वि.सं.२०८० जेठ ३० मंगलवार
shares
काठमाडौं। नबिल बैंक लिमिटेड र एसियन पेन्टस् नेपाल प्रा. लि बिच च्यानल
फाइनान्सिङ सुविधाको लागि सहकार्य गरिएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा
सोमबार दुई पक्षीय समझदारी गरिएको हो ।
नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका
तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख
कार्यकारी अधिकृत बिनय रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र एसएमई,
लघुवित्त तथा दिगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एसियन पेन्टस्का प्रमुख बित अधिकृत
समीर श्रेष्ठका साथै एसियन पेन्टस्का अन्य कार्यकारीहरूको पनि उपस्थिति थियो ।
यस सम्झौता अन्तर्गत एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल
फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि
आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा
सञ्जालहरूबाट च्यानल फाइनान्सिङ् कर्जा उपभोग गर्न पाउने छन् ।
च्यानल फाइनान्सिङका प्रमुख आकर्षण अन्तर्गत आफ्ना वितरकहरूलाई सामान बिक्री गरेको
बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले
सम्बन्धित व्यवसायीहरूको लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरू समेत
सहुलियत दरमा उपलब्ध हुने बताइएको छ ।
च्यानल फाइनान्सिङका सन्दर्भमा एसियन पेन्टस् नेपालसँग सहकार्यका बारेमा बोल्दै
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंङ्गानाले बैंकसँग आबद्ध हुने एसियन पेन्टसका
वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए । उनले व्यवसाय बिस्तारको लागि
आवश्यक पुँजी बैंकमार्फत पाउने बताए ।
यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन
अनुरुप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खाता मार्फत मात्रै हुने
प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ थियो ।































