सशस्त्र प्रहरी प्रमुख नयाँ दिल्लीमा
वि.सं.२०८० कात्तिक १९ आइतवार
shares
काठमाडौं।सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल नयाँ दिल्ली जानुभएको छ । उहाँ साँझ भिस्तारा एअरको उडान नम्बर युके १५६ मा त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँसँगै श्रीमती अनिता अर्याल र सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल पनि सोही उडानमा त्यता गएका छन् ।
यसअघि अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल नेतृत्वको टोली दिउँसै नयाँ दिल्ली पुगेको छ । नौ सदस्यीय टोली नेपाल वायुसेवाको उडान नम्बर आरए २१७ मा दिउँसो साढे २ बजे काठमाडौंबाट गएको हो ।
टोलीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक किरण बस्नेत, प्रहरी नायव महानिरीक्षक विकासराज खनाल पनि छन् । त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी, गृहमन्त्रालयका उपसचिवहरु उमाकान्त अधिकारी पनि टोली सदस्यका रुपमा नयाँ दिल्ली गएका हुन् ।
उनीहरुमध्ये पौडेल, खनाल र अधिकारीका श्रीमती पनि सँगै उता गएको बताइन्छ । महानिरीक्षक नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलका महानिर्देशक नितिन अग्रवालसँग हुने सीमा सम्बन्धी बैठकमा छलफल गर्ने कार्यक्रम छ ।
महानिरीक्षक भारत गएपछि अनुपस्थितिमा अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई चार्ज बुझाइएको हो ।




























