परदेश आँफु पनि जान नचाहने र परीवारको सदस्यलाई पठाउन पनी अवरोध गर्ने म, तर…

Ghorahi cement

काठमाण्डौ। ‘परदेश’ शब्द मलाई अत्यन्तै भावुक बनाउने शब्दवली भित्र पर्छ । मन कटकटी खान्छ अनी असाध्यै भक्कानिन्छ । परदेश आँफु पनि जान नचाहने र परीवारको सदस्यलाई पठाउन पनी अवरोध गर्ने म, परिवारकै सदस्यहरुले ति अवरोधहरु तोड्न सफल भएका छन् । आफ्नै परिवारका सदस्यहरु परदेशिएका छन् । समय परिस्थितिले कलिलै उमेरमा उनीहरुलाई परदेशी बनाएको छ । जिम्बेवारीहरुले भारी बोकाएको छ । पारीवारीक माया, स्नेह भन्ने कुरा पनी निकै बलवान हुने रहेछ यो सन्सारमा । बेला बेला ति परदेशिएका बहिनीहरुलाई सम्झिएर बेचैन हुन्छु । विदेश जानु भन्दा यही केही गर्नुपर्छ भनी भाईबहिनीलाई सुझाउने म, जाने तयारीमा रहेकालाई नजाउ भन्न सकिरहेको छैन । यो सबै बाध्यात्मक परिस्थितिको उपज हो ।

 

एयरपोर्टमा जाँदा ति मलिन अनुहारहरु देख्दा सम्हालिन गाह्रो हुन्छ । परिवारको सदस्यलाई परदेश पठाएर भारी मन बनाउदै त्रिभुवन विमान स्थलबाट फर्कन पर्दाको अनुभुती सायद भोग्नेलाई मात्र थाहा हुन्छ । यस्तै यस्तै परिस्थिति छ हरेक घर घरमा । अनेकन अवरोधहरुलाई तोड्दै बाध्य भएर परदेशिरहेका छन् । दुखमा चाडै बहकिने यो मन किन किन परदेशिएकाहरुको लर्को देख्दा मन बिछट्टै बेचैन हुदैछ आजभोली । के गर्ने होला ? अनेकन प्रश्नहरुल डेरा जमाईरहेका छन् ।

 

हरेक दिन सामाजिक सञ्जालमा बैदेशिक रोजागर सम्वन्धि समाचारहरुले उल्लेख्य मात्रामा स्थान पाईरहेका छन् । यसै यसै बेचैन हुन्छ मन । हरेक महिना करीब ५० हजारले श्रम स्विकृति लिने गरेका तथ्यांकहरु बाहिरीरहेका छन् । एयरपोर्टमा जाने हो भने रुने र रुवाउने दृश्यले मनै अमिलो बनाईदिन्छ । देशमा आफ्नै परिवारसंग बस्न मन नभएर होईन देशको अवस्थाले गर्दा विदेशिन बाध्य भएका छन् अधिकांश युवाहरु । चाहाना अनी रहरले परदेशिनेहरु कम संख्यामा छन् तर अधिकांश बाध्यताले परदेशिएका छन् ।

 

त्रिभुवन विश्वविद्यालय जस्तो गरीमामय शिक्षण संस्थामा विद्यार्थी भर्नादर ह्वात्तै घटेको छ । अन्य शिक्षण संस्थाको अवस्था कस्तो होला । कति शिक्षण संस्था बन्द हुने अवस्थामा पुगेको छ । प्रविणता प्रमाणत्र तह सम्म विद्यार्थी पाईन्छ त्यसपछि स्नातकमा ह्वात्तै घट्छ । स्नातकोत्तर तहमा पनी यसै घट्ने नै भयो । खै त बौद्धिक योद्धाहरु । बौद्धिक जमातहरुले यो देश छोडेर ति भ्रष्ट नेताहरुलाई रजाई गर्न दिईरहने हो भने हामीले त दुख पाँयौ पायौ तर हाम्रा सन्ततीहरुले पनी खुशीको महसुस गर्न पाउने छैनन् । धेरै पछाडी धकेलिने छ यो देशको विकास । किन यति धेरै संख्यामा अन्य दोश्रो मुलुक तर्फ जाने क्रम बढीरहेको छ ? गम्भिर भएर विश्लेषण गर्न र समाधानको पाटो तर्फ लाग्न अपरिहार्य भएको छ ।

 

अपार संम्भावना भएको यति सानो देश, प्राकृतिक सौन्दर्यले भरिपुर्ण, विकास गर्न सकिने प्रचुर क्षेत्रहरु, जल,जमिन र जडिबुटीको भण्डार यतिका धेरै अथाह सम्भावनाहरु हुँदा हुदै पनी यो देशको विकासले निकास पटक्कै पाउन सकेन । अब झन यो देश चुनौतिपुर्ण अवस्थामा जादै गरेको महसुस गरीरहेको छु । बौद्धिक जमातहरु विकसित देश तर्फ, पाखुरीमा बल र केही हिम्मत भएकाहरु खाडीको उर्खरमाउलो तातो मरुभुमीमा खाडीको विकासमा, अनि बुढा भएका बाबुआमा र बालबालिकाहरु मात्र यो देशमा रहदै जाने हो भने यो देशको अवस्था के होला ? झन विकृत शासन प्रणालीको विकास, मनपरीतन्त्र र भ्रस्टाचारले उचाई लिनेछ । जसले गर्दा समाजमा दिगो शान्ति स्थापना हुन सक्दैन र द्धन्द्धको दलदलमा फसिरहन्छ । ठुलाबडाहरु होइन सोझासाझा जनताहरु सर्धै मारमा परिरहन्छन् । गरीब, सोझासाझा जनताहरु गरीबिको दुस्चक्रमा नै जिवन विताउन बाध्य भईरहने,अनेकन दुखका आधिवेहरीसंग लडिरहन पर्ने अवस्था रहिरहन्छ । यो भन्दा विडम्बना के नै हुन सक्छ र नेपाल र नेपालीहरुको लागि ।

 

यो देशमा भएका प्रचुर सम्भावनाहरुलाई अवसरमा परिणत गरी हजारौ नागरिकहरुलाई यही केही गर्ने अवसर दिनुपर्छ । बन्द भएका उद्योगहरु खोल्नुपर्छ । रोजगारका ढोकाहरु उघारिनुपर्छ । अध्ययन गर्न गएकाहरुलाई उच्च शिक्षा हासिल गरेपश्चात स्वदेश फिर्ता ल्याउने परिस्थिति शृजना गर्नुपर्छ । आर्थिक अवस्था सुधार्न गएकाहरुलाई स्वदेशमा बोलाई अवसर दिईनु पर्छ ।

 

दशौँ वर्ष विदेश बसेर आएको व्यक्तिले यही केहि गरौँ भनी अनेकौ प्रयासहरु गर्छ तर ति प्रयासहरु निरर्थक हुन्छ र फेरी परदेश जान बाध्य हुन्छ । यस्तो अवस्था कहिले सम्म रहने हो सरकार ?

 

अब अति नै भईसक्यो । व्यवस्था जुनसुकै भए पनी पार्टी जुनसुकै भएपनी विकास र निकास चाहिएको हो । व्यक्तिमा क्षमता, असल कार्यशैली, तत्परता,नागरीकलाई केन्द्रमा राखेर सेवा गर्ने भाव हुनु महत्वपुर्ण कुरा हो । हाम्रो पिढीले व्यवस्था र पार्टीलाई दोष दिने होइन, उक्त व्यवस्था र पार्टी भित्र भएका व्यक्तिलाई दोष दिने हो । व्यवस्थाभित्र केही कमीकमजोरी छ भने सच्याउनका लागि नजदबाब दिन सकिन्छ तर पुरै व्यवस्था नै परिवर्तन हुनुपर्छ भन्ने बुझाई हामीमा हुनु हुदैन । व्यक्तिको प्रवृत्ति, कमजोर कार्य सम्पादन शैली प्रति प्रश्न गरी उनीहरुलाई मुद्धा प्रति जिम्बेवार बनाउन हामी नागरिकहरुले सहयोग गर्ने हो र राम्रो काममा हातेमालो गर्ने हो ।

 

सरकार प्रत्येक नागरिकहरुको अभिभावक हो । विकास, अवसर, निष्पक्ष न्याय लगायत यी कुराहरु देशभित्र हुने हो भने नागरीकहरुमा यति धेरै वितृष्णा आउने थिएन जस्तो लाग्छ । किन यतिका धेरै नागरिकहरु विदेश पलायन भईरहेका छन ? सरकारको ध्यानाकर्षण हुनु आवश्यक छ । जनताले रातदिन नभनी पसिना बगाएको श्रमबाट तिरेको करमा चैन मात्र गर्ने अनी जनतालाई बेचैन बनाउन मिल्दैन । जनताको बेचैनीलाई यथासक्य चाडो समाधान गर्न तर्फ सरकार अग्रसर होस् । परिवारसंग विछोडिनु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य होस् ।

Shangri-la Development Bank Ltd.
Nepali patro