सार्वजनिक जीवनमा अध्यात्मिक चेतनाको वहस
वि.सं.२०८० फागुन २ बुधवार
shares
बिषय प्रवेश
सार्वजनिक स्रोत र शक्तिको प्रयोग गरी सार्वजनिक भलाइका लागि काम गर्ने व्यक्तिहरु सार्वजनिक व्यक्ति हुन् । जोसँग आम नागरिकको सरोकारका विषयहरू रहेका हुन्छन् त्यसको जीवन सार्वजनिक जीवन हो ।राज्यको पद्धति मार्फत आम नागरिकको हेरविचार वा संरक्षण गर्ने र सार्वजनिक सेवा प्रवाहको यथोचित प्रबन्ध मिलाउने जिम्मेवारी पाएको सार्वजनिक व्यत्तिःत्व नै सार्वजनिक व्यक्तित्व हुन् । निजी जीवनमा अवलम्बन गरिने कतिपय व्यवहारहरू सार्वजनिक जीवनमा प्रदर्शन गर्नु हुँदैन । समाज, राष्ट्र तथा परिवेशले फरक तथा अनुकरणयोग्य व्यवहारको अपेक्षा गरेको हुन्छ । उक्त जिम्मेवारी वा पदमा रहेका अधिकारीहरूको व्यवहार जस्तोः लवाई, खुवाई, बोलाई, हिँडाई, बसाई, गराई लगायतका आचरणहरूको समष्टिलाई नै सार्वजनिक जीवनका सिद्धान्तका रूपमा बुझ्न सकिन्छ ।सार्वजनिक पदाधिकारीहरूले आदर्श र अनुकरणयोग्य जीवनशैली अपनाउनु पर्दछ ।सार्वजनिक जीवनका सिद्धान्त एवं मूल्य मान्यताहरूलाई अनुसरण गर्न आवश्यक देखिन्छ । आदर्श जीवनशैलीबाट नै कालान्तरमा समाज रूपान्तरण गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्ने हुनाले त्यसतर्फ ध्यान केन्द्रित गरी कार्य व्यवहारहरू सञ्चालन गरिनु उपयुक्त हुन्छ । यसो नगरिँदा भावी पुस्तालाई समेत असर पर्न जाने, सामाजिक मूल्य मान्यताहरू भत्किने, समाजको आदर्श हराउँदै जाने सम्भावना रहन्छ । मौजुदा कानुनको पालना, राष्ट्रप्रतिको दायित्वबोध, पारदर्शी कार्यशैली, स्वच्छ व्यवहार, इमानदारीपूर्वक जिम्मेवारीको निर्वाह, मानवीयताको सम्मान, सार्वजनिक हितबाट निर्देशित हुनसकेमामात्र मुलुकले देखेको सुशासन, सामाजिक नयाय र समृद्धिको सपना साकार हुनेमा विश्वास गर्न सकिन्छ । सार्वजनिक पदाधिकारीको कार्यसम्पादन चुस्त, दुरुस्त, मितव्ययी, स्वच्छ, निष्पक्ष, प्रभावकारी, कुशल, कानुनी, अनुशासित, उच्च मनोबलयुक्त र सदाचारयुक्त हुनुपर्दछ ।यसका लागि सार्वजनिक जीवन जिउनका लागि आध्यात्मिक चेतनाको अपरिहार्यता रहेको छ ।
आध्यात्मवादको अवधारणा
‘अधि र ‘आत्मा को समासबाट आध्यात्म शब्द बन्छ । संस्कृतमा ‘अधि को अर्थ अगाडि हो । ‘वाद भनेको बिचार हो । त्यसैले आध्यात्मवाद भनेको ‘आत्मा अगाडि हो भन्ने बिचार हो । अध्यात्मिक ज्ञानले निरन्तर मानव स्वभाव, संस्कार, बानी, व्यहोरा र उसको प्रवृत्ति तथा मन–बुद्धिलाई सुुसंस्कृत कुशल र विवेक सङ्त बनाउने पक्षमा जोड दिन्छ । म को हुँ ? म के होइन ? आत्मा भनेको के हो ? के मेरो हो ? के मेरो होइन ? भगवान कर्ता हुन् कि होइनन् ? भगवानको वास्तविक स्वरूप के हो ? यस संसारको साँचो कर्ताको प्रकृति कस्तो हुन्छ ? यो संसारलाई कसले चलाउँछ ? सृष्टिकर्ताले कसरी काम गर्छ ? मायाको वास्तविकता के हो ? हामीले देखेका कुरा मात्रै सत्य हुन् कि त्यसको पछि पनि केही शाश्वत सत्य छ ? हामीले जति ज्ञान प्राप्त गरेका छौं, त्यो कतिसम्म सत्य छ ? यी कुराको खोजीबाट अध्यात्मले आफूले आफूलाई चिनाउने गर्छ ।यी सबै प्रश्नहरूको सही उत्तर अध्यात्मले खोज्ने प्रयास गर्छ । यो अध्यात्म विज्ञानसँग एक अद्भुत शक्ति छ । अध्यात्मिक ज्ञान जसले सार्वजनिक व्यक्तित्वलाई स्व–अनुशासित, स्व–संयमित, शान्त, सहनशील, गुणवान्, चरित्रवान् र नैतिकवान् व्यक्तित्व प्रदान गर्न सक्दछ। सार्वजनिक व्यक्तित्वलार्ई एक असल सार्वजनिक व्यक्तित्व बनाउन सकोस् जसले सबैलाई मनसा, वाचा, कर्मणा र व्यवहारले सुख र खुशी बाँड्न सक्छ ।
अध्यात्मिक ज्ञानले प्रतिपादन गरेका सिद्धान्तहरूलाई दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा केवल रीति, रिवाज,आडम्बर र मान्यताका रूपमा मात्रै सीमित हुन पुगेको अवस्था विधमान छ । अध्यात्मिक ज्ञानको सत्य, तथ्य, सार र निचोड तिर विवेकपूर्ण रूपमा सोच समझले संलग्न हुनाले नै कल्याण हुनेछ । मानव समाजका लागि वर्तमान समयको माग विज्ञान एवं अध्यात्म दुवैको आवश्यकता हो । कुनै समयमा विज्ञान र अध्यात्म परस्पर विरोधीको रुपमा हेरिन्थ्यो । परन्तु हरेक मनुस्यलाई विज्ञानसँगै सामाजिक,नैतिक र अद्यात्मिक मूल्यहरुको अपरिहार्यतामा जोड दिइदैछ ।
अध्यात्मबिनाको राजनीति, समाज नीति, अर्थनीति या हरेक वाद एवं चिन्तन सबै अपूरो छ भन्ने विषयले विश्वका हरेक बौद्धिकलाई घचघच्याएको छ । हाम्रो समाजमा आज अध्यात्मलाई धार्मिक क्रियाकलाप, गेरुवस्त्र धारण, चन्दने निधार एवं कर्मकाण्डसँग जोड्ने गरिन्छ जुन अत्यन्तै असुहाउँदो र संकीर्णताको परिणति एवं अध्यात्म बुझाइको कमी हो भन्ने लाग्छ । अध्यात्म सांसारिकताभन्दा समस्त मानवहितको शक्ति तथा जीवनमुक्तिको आधारशिला हो । यसले व्यक्तिलाई समुद्रजस्तो गम्भीर बनाउने मात्र होइन, मानसिक सन्तुलन पैदा गर्छ । त्यसैले आजको हरेक क्षेत्रबाट विक्षिप्त समाजमा अध्यात्मिकताको विषयले प्रश्रय पाउनु जरुरी छ ।अध्यात्मवादको कमिले आज सार्वजनिक जीवन यापन गर्नेहरु भ्रष्टाचारको मुद्धा खेप्दै जेलको काल कोठरिमा जाकिन पुगेका छन् । धन प्रतिको मोह बढ्दै जादा भ्रष्टाचार बढ्दै गउको अवस्था विधमान छ ।
सार्वजनिक जीवनमा आध्यात्मवादको महत्व
अध्यात्मले मानव चेतनाको जागृतिसँग सरोकार राख्दछ । यसले व्यक्तिमा शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजी तथा त्यसले पार्ने असरसँग सम्बन्धित राख्दछ । हाम्रा ग्रन्थले मुखरित गरेका विषय गहन छन् अल्वर्ट आइन्स्टाइन, जर्मन दार्शनिक मुलर, इमानुयल कान्ट, फ्रेन्च दार्शनिक सोफेनहावरदेखि भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम र अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामासम्मले पूर्वीय दर्शनमा भएको अध्यात्मिक पक्षको महत्तालाई कुनै न कुनै रूपले अंगीकार गरेका छन् । आइन्स्टाइनले त अध्यात्मबिनाको विज्ञानलाई कमजोरको संज्ञा दिएका छन् । सोफेनहावरको श्रीमद्भगवतगीता सम्बन्धी चर्चाले पूर्वीय दर्शनमा भएको अध्यात्मको स्थानलाई पाश्चात्य समाजमा नयाँखालको ऊर्जा दिएको छ । अतः सार्वजनिक जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै अध्यात्मिकता हो भन्न अत्युक्ति हुनेछैन ।
अध्यात्मिक क्रियाकलाप नै विकासको अपरिहार्य शक्तिका रूपमा स्थापित हुनु पर्दछ । अध्यात्मले एकाड्ढी होइन एउटै बनाउन प्रेरित गर्छ । अध्यात्मिक ज्ञानले धर्मात्मा, पुण्यात्मा र महात्माभन्दा उच्च सर्वोच्च सत्ता निराकार ज्योति स्वरूप हुनुहुन्छ भन्ने सत्यलाई बोध गराउँछ । शरीरको मृत्यु भए पनि आत्माको अस्तित्व अमर छ भन्ने तथ्यलाई स्पष्ट गराउँछ । सम्पूर्ण मानव आत्मा आपसमा भाइ भाइ हौं । पवित्रता, शान्ति, प्रेम आत्माको स्वधर्म हो भन्ने वास्तविकताको अनुभूती गराउँछ । अध्यात्मिक ज्ञानद्वारा संसारलाई हेर्ने दृष्टिकोण नै सकारात्मक बनिदिन्छ । अध्यात्मिकता वास्तवमा सम्पूर्ण ज्ञान, विज्ञान, नीति, विचार, सिद्धान्त, खोज,अनुसन्धान र विचारधाराको साझा लक्ष्य हुनुका साथै पुनर्रोत्थानका लागि गहन पूर्वक सोच्नुपर्ने तथा आवश्यक पहल कदमी गर्नुपर्ने आवश्यकता छ । अतः सार्वजनिक जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै अध्यात्मिकता हो भन्न अत्युक्ति हुनेछैन ।
सार्वजनिक जीवनमा अध्यात्मिक ज्ञानले व्यक्ति भित्र उच्च कोटीका चिन्तनहरूको धारा प्रवाह गरिदिन्छ । मनमा निरन्तर शुद्ध, शुभ र सकारात्मक चिन्तनहरू उत्पन्न गराउँदछ । शुभ, शुद्ध र सकारात्मक चिन्तनले बुिद्धका लागि पौष्टिक आहारको काम गर्दछ । जसबाट बुद्धि शालीन, दिव्य र तीक्ष्ण बन्न पुग्दछ । बुद्धिको निर्णय शक्ति सशक्त र सही हुन जान्छ र यसबाट सत्कर्म गर्ने मार्ग प्रशस्त हुन्छ । आन्तरिक चिन्तनले सही दिशा लिँदा मनसा, वाचा र कमर्णाका बीचमा एक सुन्दर सामञ्जस्य कायम हुन आउँछ । अध्यात्मिक चिन्तनले सार्वजनिक व्यक्तित्वलाई सबै प्रति निरन्तर शुभ सोच, परोपकारी भावना, सर्व हित र सुखद जीवनको कामना गर्ने एक महान् व्यक्तित्व निर्माण गर्नमा मद्दत गर्दछ । अध्यात्मिक चेतना र जागृतिबाट परिचालित व्यक्तिले कुनै पनि अवस्था र परिस्थितिमा नकारात्मक सोच र कुभलोका भावना पैदा गर्दैन । यदि अध्यात्मिक चिन्तनका नाममा त्यस्ता निम्न कोटीका विचारहरू पैदा हुन्छन् भने त्यसलाई अध्यात्म्कि चिन्तनको नाम दिन सकिँदैन । जसले आफूप्रति मित्रवत्भाव राख्दछ, सहयोग दिन्छ, प्रशंसा गर्दछ, सम्मानको दृष्टिले हेर्ने र व्यवहार गर्ने गर्दछ त्यसलाई मित्र ठान्नु, उसको भलो चिताउनु तथा आफ्ना तर्फबाट पनि सहयोग र स्नेह दिनु कुनै ठूलो कुरा होइन । यस्तो व्यवहार र क्रियाकलाप आम सबैले गरि नै रहेका हुन्छन् ।
अध्यात्मिक उचाई साच्चै अनुमप छ, अलौकिक छ र सामान्य सोच भन्दा धेरै माथिल्लो विशिष्ट स्थान राख्दछ । वर्तमान व्यावहारिक मनस्थितिका सार्वजनिक व्यक्तित्वलाई यो महान् पक्षलाई पचाउन र स्वीकार गर्न गाह्रो हुनसक्दछ तर महानताको शिखर चुम्न र प्रेरणाको स्रोत व्यक्तित्व विकास गर्न यस्तै उच्च अध्यात्मिक चेतना र चिन्तनलाई अवलम्बन गर्नु बाहेक अन्य विकल्प छैन ।
हामी सबैको साझा चाहना छ कि संसार चिरकालसम्म सुख, शान्ति, समृद्धि र सुमधुर सम्बन्धको थलो बनोस् । धरती निवासी सम्पूर्ण मानवजाति कुनै पनि प्रकारको रोग, शोक, भोक, चिन्ता र भय–त्रासले पीडित नहोउन् । सबैले स्वास्थ्य, सम्पत्ति र खुशी सदाका लागि प्राप्त गर्न सकून् । समाजमा कुनै पनि प्रकारको भेदभाव, थिचोमिचो ,अन्याय,अत्याचार तथा पापाचारको स्थिति नरहोस् । हत्या, हिंसा, लडाईं, झगडा, युद्ध, संघर्षको वातावरण सदाका लागि समाप्त होस् सबै प्राणीको जीवनचक्र सही ढंगले चलोस् । विविध प्रजाति लुप्त हुने स्थिति, वातावरणीय प्रदूषण तथा असन्तुलनको संकट न रहोस् । प्रकृतिका तत्वहरू समेत आफ्नो मर्यादामा रहेर सधै सुख दिने काम गरुन् । अध्यात्मिक दिव्यता र अखण्डताले भरपूर होस् । यस्तो संसारको परिकल्पनालाई मूर्त रूप दिन साच्चै अध्यात्मिक चिन्तन–ज्ञान र राजयोग साधनाले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तसर्थ प्रत्येक नर–नारीको प्रयत्न र पुरुषार्थ अध्यात्मिक सुदृढीकरण गर्नुपर्ने रहेको छ । अतः सार्वजनिक जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै अध्यात्मिकता हो भन्न अत्युक्ति हुनेछैन ।
अध्यात्म पारलौकिक विश्लेषण वा दर्शन होइन । अध्यात्मको शाब्दिक अर्थ स्वयम्को अध्ययन हो । प्रत्येक जीवनको एक–एक शरीरमा पृथक सत्ता छ, त्यही अध्यात्म हो । शरीर भित्र चैतन्य छ, प्राण छ । त्यसभित्र आकाश पनि छ । यसबाहेक जे छ, त्यो अध्यात्म हो । अध्यात्मबारे यस्तो लेखिएको छ, ‘अध्यात्म फगत ईश्वरीय चर्चा होइन ।
अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग रहेको हुन्छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै अध्यात्मिक मार्ग हो ।स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।
अध्यात्मिक सुख र आनन्द आफूभित्रैबाट प्राप्त हुन्छ । त्यो सुख मन, बुद्धि, चित्त र अहंकार शान्त भएपछि प्राप्त हुन्छ । मन शुद्ध गराउने साधन हो योग र ज्ञान । योग र ज्ञानबाट मन, बुद्धि र चित्तलाई आफ्नो स्वरुपमा राख्न सकिन्छ । सार्वजनिक व्यक्तित्वको स्वरुप हो आत्मा । आत्माको ज्ञान नभए आफैलाई चिन्न सकिदैन । हामीले शरीरलाई आत्मा भन्छौं । यो हाम्रो भूल हो । आत्मा अविकारी छ, अविनाशी छ र अमर छ । शरीर मर्दछ । अध्यात्मवादीहरुले आत्मा र ईश्वरमा आस्था राख्छन । भौतिकवादीहरुले शरीरमा आस्था राख्छन । ज्ञान भनेको आत्मालाई परमात्मामा जोड्नु हो । अध्यात्मको मुख्य ध्येय भनेको नै मृत्युपछि मुक्तिको कामना गर्नु हो । अध्यात्मले जीवनलाई एउटा संक्षिप्त कालखण्डको रुपमा व्याख्या गर्ने गरेको हुन्छ भने मृत्युलाई शास्वत सत्य । त्यसैले यसले जीवनमा तीब्र वैराग्यलाई नै विशेष प्राथमिकता दिने गर्दछ ।फेरि यो जगत्मा आउन नपर्नेगरी ईश्वरको सानिध्यमा पुग्नु नै हिन्दू धर्मशास्त्रका अनुसार मोक्ष अथवा मुक्ति हो । त्यसैले सार्वजनिक व्यक्तित्वले आफ्नो जीवनकालभरमा फल प्राप्तिको आशा विना नै गरेको सत्कर्मले नै सार्वजनिक सेवाको प्रभावकारीता निर्धारण गर्ने गर्दछ । कुनैपनि सार्वजनिक व्यक्तित्व जन्मिएपछि अमृत र मृत्यु दुबै उसले शरीरमा नै लिएर आएको हुन्छ । मनुष्य मोहबाट मृत्युलाई र सत्यबाट अमृतलाई प्राप्त गर्दछ । अतः अब म हिंसाबाट दूर रहेर सत्यको खोजी गर्नुपर्दछ । काम र क्रोधलाई हृदयबाट निकालेर दुख र सुखको समान भाव राख्नुपर्दछ ।
संसारमा कुनै पनि सार्वजनिक व्यक्तित्व कर्म नगरी शान्त भई बस्न सक्दैन । मन शान्त भए आत्माको अनुभव हुन्छ । योगीहरुले समाधिद्वारा शान्त मनमा आत्माको अनुभव गर्दछन । भौतिकवादीहरुले योग पनि गर्न सक्दैनन् ज्ञान पनि गर्न सक्दैनन । उनीहरुले सकाम कर्म गर्छन । सकाम कर्मद्वारा आत्माको खोजी गर्छन । निस्काम कर्म गर्न सक्दैनन । फलको आशा राखेर कर्म गर्छन। त्यसैले परमानन्द प्राप्त गर्न सक्दैनन । सार्वजनिक व्यक्तित्वको स्वरुप आत्मा भएझंै परमानन्द ईश्वरको स्वरुप हो । आनन्द कहिले नाश हुदैन । मनमा कुनै संकल्प नउठाएपछि परमानन्द प्राप्त हुन्छ । संकल्प उठाए मन चञ्चल हुन्छ र आफ्नो स्वरुपलाइ भुलिन्छ । फलको आशा राखेर कर्म गर्नेहरु धन र पदको मोहमा परेर आफ्नो स्वरुपलाई भुल्छन् । आजकलका सार्वजनिक व्यक्तित्वहरुमा सत्बिचार र सत्विवेक देखिदैन । अनुशासन देखिदैन । नैतिकता आचरण सभ्यता देखिदैन । चित्त शुद्ध छैन । सत्यता, ज्ञान र धर्म छैन, भौतिकवादको प्रभाव बढेको छ । बेदले भन्छ– आचरण सार्वजनिक व्यक्तित्वको गहना हो । आचरणहीन सार्वजनिक व्यक्तित्वलाई देवताहरुले पनि पवित्र गर्न सक्दैनन । (आचरहीनम् नपूनन्ती देबाः) शास्त्रले भन्छ (धर्मेण हिना पशुभिसमाना) पशुले धर्म गर्न सक्दैन । त्यसैले धर्म नभएको सार्वजनिक व्यक्तित्व पशुतुल्य हो । अतः सार्वजनिक जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै अध्यात्मिकता हो भन्न अत्युक्ति हुनेछैन ।
आजकलका सार्वजनिक व्यक्तित्वहरुले तपस्या गर्न पनि सक्दैनन् दान गर्न पनि सक्दैनन् ज्ञान गर्न पनि सक्दैन । धर्म गर्न पनि सक्दैनन । ती सार्वजनिक व्यत्तिःत्व पृथ्वीका भार हुन् भनेको छ । सार्वजनिक व्यक्तित्वले आफ्नो जीवनको हामीले जति कर्म गर्छौं ज्ञानमा समाप्ति हुन्छ । ज्ञानबिना जति भौतिक उन्नति गरे पनि आनन्द प्राप्त हुँदैन । जस्तो समुन्द्रको पानी सागरमा नपुगेसम्म शान्त हुँदैन त्यस्तै आत्मज्ञानबिना मन शान्त हुँदैन । हामीले मानवको जन्म लिएर जति काम गर्छांै त्यो आत्माले देखेको छ भन्ने कुरा भौतिकवादीले जान्दैनन । उनीहरुले ईश्वर छैन भनी ईश्वरप्रति आस्था गर्दैनन ।
त्यस्तै भौतिकवादीहरु अध्यात्मिक ज्ञानको अभावले छट्पटाइरहेका छन । अध्यात्मिक र भौतिकवादीहरुको लक्ष्य एउटै भए पनि ज्ञानको अभावले वास्तबिक सुख प्राप्त गर्न सकेका छैनन । आत्मवादी आत्मालाई प्रकृतिदेखि अलग पदार्थ विशेष मान्दछन् भने अनात्मवादी चैतन्ययुक्त शरीरलाई नै आत्मा मान्दछन् र ज्ञान प्राप्त गर्ने साधनहरूमध्ये इन्द्रिय, प्राण, मन, बुद्धि र अहङ्कार नै आत्मा हो भन्ने अनात्मवादीहरुको धारणा छ । पूर्वीय दर्शनमा अनेक शाखाहरु छन् र प्रत्येक दर्शनले शरीर, प्राण, आत्मा, विवेक, बुद्धि र धारणालाई अनेक तरिकाले परिभाषित गरेका छन् तर पनि आत्माको तत्व भौतिक हो कि अध्यात्मिक हो भन्ने कुरामा भने सधैँ विवाद रहेको छ ।
अध्यात्मिक मार्ग सर्वश्रेष्ठ मार्ग हो भन्ने सम्झेर कर्तब्यनिष्ठ रही विश्वमा रहेको कलमसरुपि अन्धकारलाई अध्यात्मिक ज्योतिले प्रकाशित गरी मानवीय गुणको यर्थात स्वरुप देखाइदिनु मुख्य कर्तब्य हो । आजकाल धेरैजसो सार्वजनिक व्यक्तित्वले अध्यात्मको महत्व नबुझी पूजापाठ तीर्थब्रत गरेर समय बिताउछन् त्यो यथार्थ अध्यात्म होइन ।सार्वजनिक व्यक्तित्वमा सहिष्णुता, सहनशीलता, इमानदारिता, आत्मीयता आवश्यक पर्दछ । भौतिक चिन्तन भन्दा अध्यात्मिक चिन्तन र सेवा सार्वजनिक सेवा प्रवाहमा आवश्यक छ ।
जब भौतिकवादको चमत्कार बढ्दै गयो । भौतिक सभ्यताको विकास हुँदैगयो । तब अध्यात्मिक भावना हराउँदै गयो । भौतिक चिन्तनको बिजारोपण र आफ्नो अस्तित्वलाई मेट्दै गए । सार्वजनिक व्यक्तित्व समाजवादी नभएर ब्यक्तिवादि हुन पुगे । राष्ट्रको अस्तित्वलाई भुल्न थाले । जब सार्वजनिक व्यक्तित्व भौतिक सुख सुविधामा भुल्छ उसले आफ्नो कर्तब्य र इमानदारीतालाई भुल्छ । उसको दृष्टिमा अर्को संसार छैन भन्ने सम्झन्छ । भौतिकवादमा रमाएको सार्वजनिक व्यक्तित्वले उन्नतिको साथै अवनति पनि गरिरहेको छ । यो अध्यात्मिकबादको अभाव हो । सार्वजनिक व्यक्तित्वले आनन्दपूर्वक बाँच्नको लागि पूर्वीय र पाश्चात्य दर्शनको समन्वय गरी अगाडि बढेमा समस्त राष्ट्रको कल्याण हुनेछ ।
अध्यात्मिक मान्छेको सोचाइ फरक हुने गर्छ । अध्यात्मले जहिले पनि कर्म के हो ? असल र खराब कार्यको फल यही लोकमा मात्रै सीमित नभएर अर्काे जन्मसँग समेत जोडिएको भन्दै कुनै पनि लालसाले अर्काे जन्मको बन्धनमा हामीलाई फसाउने बताउने गर्छ । आफ्नो भाग र भोग अनुसारको कर्म निवृत्ति नगरेसम्म मान्छेले निरन्तर त्यही कर्मको जिम्मेवारी पूरा गर्न पनि पुनर्जन्म लिइरहनुपर्छ भन्ने अध्यात्मिक मत छ ।त्यसैले अध्यात्म एउटा यस्तो ज्ञान हो । जसले सबै कुरा कुनै कर्ताको हातमा रहेकोले कुनै पनि कुरामा मरिहत्ते गर्नु आवश्यक नरहेको बताउँछ ।केवल ज्ञानी पुरुषले जो जीवित मूर्तिहरू हुन्, हामीलाई प्रेमको सही परिभाषा दिन सक्छन् ।
अध्यात्मले मृत्युको बारेमा जानकारी दिएर मृत्युप्रति मान्छेको डरलाई भगाउने काम गर्छ । आत्मा कहिलै मर्दैन भन्ने केही हिन्दु दर्शनको मत छ । त्यसैले एक पटक आत्मालाई राम्रोसँग बुझ्न सक्यो भने मात्रै त्यो मान्छे मृत्युबाट डराउँदैन भन्ने अध्यात्मको मत छ ।आर्थिक विकास गरेर र धन सम्पत्ति जम्मा गरेर मात्रै जन्म, मृत्यु, वृद्धावस्था र रोगजस्ता जीवनका समस्याहरूलाई रोक्न सकिँदैन । विश्वका धेरै भागहरूमा यस्ता कैयौँ राज्यहरू, व्यक्तिहरू छन्, जो जीवनका सुख सुविधाबाट परिपूर्ण छन् । धनधान्यले पूर्ण छन् । आर्थिक रूपले विकसित छन् तर त्यहाँ पनि सांसारिक जीवनका समस्याहरू जस्ताको जस्तै छन् । तिनीहरू विभिन्न तरिकाबाट शान्तिको खोजी गर्दैनन् । तर त्यो शान्ति तिनीहरूले त्यस समयमा मात्र पाउन सक्नेछन् । अतः सार्वजनिक जीवनको सुख, शान्ति, आत्मसन्तुष्टि र समन्वयका लागि यही नै उपयुक्त बाटो हो । यसका लागी सरकारद्वारा सार्वजनिक जीवनमा अध्यात्मिक ज्ञान प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ । सांसारिक भौतिक सुख सुविधाका लागि गलत कार्यमा तल्लीन हुनु नदिन आत्म साक्षात्कारको बाटोमा अग्रसर गराउनु पर्दछ ।सार्वजनिक जीवनका लागि अध्यात्मिक ज्ञान अपरिहार्य रहेको छ ।
सार्वजनिक जीवनलाई स्वच्छ, पारदर्शी, व्यवस्थित, सेवामूलक र प्रभावकारी बनाउनु आजको प्रमुख चुनौती हो । देशको नीति निर्माण तहदेखि कार्य सञ्चालन स्तरसम्म स्वच्छता ल्याउन सार्वजनिक जीवन आत्मज्ञानी हुन जरुरी छ ।योगाभ्यास र अध्यात्मिक ज्ञानवृद्धका क्रियाकलापले सार्वजनिक जीवनमा रहेकाहरु भौतिक, मानसिक क्रियाबाट पूर्णतया संयमित हुनेछन् । यसबाट उनिहरुले शुद्ध मनले आफैलाई देख्न सक्नेछन् र आफैमा आनन्दित हुन सक्नेछन् । यही नै सार्वजनिक जीवनको पूर्णताको चिन्ह हो । यस आनन्दमय स्थितिमा प्रभावकारी सेवा प्रवाह गर्न सक्नेछन् र आफ्नो छुट्टै पहिचान सहित स्थापित हुन सक्नेछन् ।यसरी स्थापित भएका सार्वजनिक व्यक्तित्वहरु कहिल्यै पनि न्याय र सत्यबाट डग्दैन । आध्यत्मीक सुख प्राप्त भएपछि उसलाई अरू कुनै सुखले आकर्षित गर्न सक्दैन । यही नै भौतिक संसर्गका कारणले उत्पन्न समस्त दुःखहरूबाट हुने वास्तविक मुक्ति हो ।
अध्यात्म ज्ञानले अनुशासित, मर्यादित र सन्तुलित बनाउन सिकाउँछ र यो विश्वजनीन सत्य हो। यसले सुख भन्दा आनन्दतर्फ लैजान्छ, प्रतिस्पर्धाभन्दा सामूहिक हितमा लैजान्छ। त्यसैले अध्यात्मको ज्ञान र व्यवहारिक उपयोगले मात्र विश्व शान्ति कायम गर्न सक्दछ। पूर्वीय अध्यात्म दर्शनका मूलभूत पक्षहरु मनन्योग्य छन्। मुख्य रुपमा तारतम सागर,गीता, उपनिषद, ब्रम्हसूत्र र बुद्धवाणीहरुलाई विश्वले राम्ररी अध्ययन र मनन गर्नु जरुरी छ । अवश्य पनि अध्यात्मवादको नाममा हामीले भौतिकवादलाई न्यून ठान्न मिल्दैन, अवमूल्यन गर्न मिल्दैन । वास्तवमा भौतिक क्षेत्रमा भएको चमत्कारिक उपलब्धिकै कारण सिंगो विश्व एउटा सानो गाउँमा परिणत हुन पुगेको छ । हामी संसारको कुनै पनि मुलुकमा केही घण्टाको यात्राबाट सहज रूपमा पुग्न सक्ने भएका छौँ । टेलिभिजनको आविष्कारले गर्दा हामी घरभित्रको एउटा सानो कोठामा बसेर संसारका गतिविधिहरू देख्न र सुन्न सक्ने भएका छौँ ।
एकातिर विज्ञान प्रविधिको विकासबाट सार्वजनिक व्यक्तित्वहरुको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कोतर्फ मानव हृदयमा अन्तर्निहित सद्गुण र सद्भावनाहरू भने क्रमिक रूपमा ह्रास हुँदै गइरहेका छन् । परिणाम स्वरूप भौतिक रूपमा आज विश्व साँगुरो बन्दै गए पनि भावनात्मक रूपमा भने मानवीय दूरी झन् झन् बढ्दै गइरहको महसुस हुन थालेको छ ।तसर्थ सार्वजनिक जीवनमा रहनेहरुले अध्यात्मिक मुल्य र मान्यताहरुलाई व्यवहारमा आत्मसात् गर्नै पर्दछ । यसबाट नै विश्वबन्धुत्व र भाइचारा कायम राख्न सकिन्छ ।
(लेखक सहकारी बिभागका उपसचिव हुन्)


























