विद्यालाई सजिलो छ त एमाले अध्यक्ष बन्न ?

1.2K
shares
Shine resunga department bank

 

काठमाडौं।माधव नेपालहरूको बहिर्गमनसँगै एकलौटी पार्टी सञ्चालन गरिरहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली कम्तीमा अर्को एक कार्यकाल अध्यक्ष ‘खाने’ तयारीमा हुनुहुन्छ । त्यसनिम्ति पार्टी विधानबाट ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान पहिले नै निलम्बन गराउनुभएका उहाँले हालै आफू अनुकूल नेताहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ । तर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित आगमनले अध्यक्षमा दोहोरिने चाहनामाथि ‘चिसो पानी खन्याउने’ खतरा बढेको टिप्पणी हुँदै छ ।

 

हुन त एमालेमा अहिले अध्यक्ष उहाँलाई चुनौती दिनसक्ने नेता देखिएको छैन । पदाधिकारी तहकै नेतासमेत अध्यक्षसँग आँखा जुधाएर बहस गर्ने आँट गर्दैनन् । तर, पूर्वराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराएर नेतृत्वमा पुर्‍याउन तेस्रो तहका केही नेता सक्रिय भैरहँदा ओलीमाथि चुनौती थपिएको हो । भनिँदै छ, पछिल्लो कार्य विभाजनलाई लिएर निकटहरूसमेत रुष्ट हुँदा नेतृत्वको विकल्प खोज्ने मत प्रभावी हुँदै छ ।

 

बताइएअनुसार बालकोटको किचन क्याबिनेटका दुई सदस्य महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालबाहेक सबैजसो नेता कार्य विभाजनप्रति चर्कोरूपमा असन्तुष्ट छन् । अध्यक्ष ओलीका विश्वासपात्र उपमहासचिव प्रदीप ज्ञवालीदेखि स्थायी कमिटी सदस्य भानुभक्त ढकालसम्म चिढिएको अवस्था छ । पूर्वमन्त्रीसमेत रहेका प्रदीपले अमेरिकाको राजदूत नबनाएकोमा र भानुभक्त बागमतीको इञ्चार्ज नपाएकोमा चित्त दुःखाइमा रहेको बताइन्छ । बागमतीको इञ्चार्ज खोजेका कृष्णगोपाल श्रेष्ठले त अहिले अध्यक्ष भेट्न जानै छोडिसके । एक वर्षअघिसम्म ओलीको आलोचना गर्नेमाथि जाइलाग्ने गोकुल बाँस्कोटा पनि कर्नरमा परेका छन् । शुरुबाटै सौतेलो व्यवहार खेपिरहेको ‘दश भाइ’ समूह यसै असन्तुष्ट छ । पूर्वराष्ट्रपति निकट स्रोतका अनुसार यो स्थितिमा विद्यालाई पार्टीमा सक्रिय गराएर नेतृत्वमा ल्याउन सके एमालेले गुमाउँदै गरेको लोकतान्त्रिक चरित्र स्थापित गर्न सकिन्छ भन्ने मत क्रमशः बढ्दै छ । र, महासचिव शंकर र उपमहासचिव विष्णुबाहेक पदाधिकारी तहका प्रायः सबै नेता विद्यासँग कुनै न कुनै हिसाबले सम्पर्कमा छन् । बालकोटले पनि पूर्वराष्ट्रपति भेट्न को–को गए भन्ने रिपोर्ट लिन संयन्त्र बनाएको छ भनिन्छ ।

 

पार्टी सदस्यता नवीकरण गराएको भए पनि पूर्वराष्ट्रपति भण्डारी पार्टीका कार्यक्रम र सार्वजनिक मञ्चमा धेरै देखिनुभएको छैन । तर, राज्यबाट प्राप्त हुने सुरक्षाबाहेक अन्य सुविधा नलिएर जुनसुकै बेला राजनीतिमा फर्किन सक्ने सन्देश भने दिनुभएको छ । भेट्न आउने शुभचिन्तकहरूसँग पनि पार्टीको अवस्थाबारे गम्भीर चिन्ता जनाउने गरेको बताइन्छ । खासगरी दशौँ महाधिवेशनयता पार्टी विधिसम्मत नचलेको, अध्यक्षले काखा–पाखा गरेकोलगायत गुनासाप्रति भण्डारी गम्भीर रहेको जानकारहरू बताउँछन् । दोस्रो तहका एक नेतासँगको पछिल्लो एउटा भेटमा उहाँले ठाडै भन्नुभयो, ‘यो तरिकाले पार्टी चल्दैन, ओलीले जे गरिराख्नु भएको छ ठीक भैरहेको छैन ।’

 

‘खासगरी पार्टीमा विधि–विधान मिचिएकोप्रति उहाँ चिन्तित हुनुहुन्छ’, निकट स्रोतले भन्यो, ‘गोदावरीको विधान अधिवेशनले गरेका निर्णय केही महिनापछि नै सौराहा महाधिवेशनमा काटकुट भएको विषयलाई उहाँले गम्भीर ढंगले हेर्नुभएको छ ।’ जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने र प्रतिस्पर्धाको श्रेष्ठतामा विश्वास गर्ने एमालेले सौराहा महाधिवेशनमा जे गर्‍यो त्यसप्रति आमरूपमा पनि प्रश्न उठेका थिए । अध्यक्षमा आफू सर्वसम्मत हुने र अनुकूल टिम बनाउने उद्देश्यसाथ ओलीले धर्मराउँदै खल्तीबाट निकालेर पढेको नाम पास गर्ने तयारी थियो । तर, भीम रावल, घनश्याम भुसाल र भीम आचार्यका कारण सफल भएन । रावल अहिले लगभग पार्टीबाट निकालिएको स्थितिमा छन् भने घनश्याम एकीकृत समाजवादीमा पुगेका छन् ।

 

कतिसम्म भने झापा आन्दोलनका संस्थापक नेताहरूलाई छानीछानी ‘कत्लेआम’ गरिँदा नवप्रवेशी र विवादित पात्रहरू भने ओलीको रोजाइमा परेर केन्द्रीय जिम्मेवारीमा पुगे । कम्युनिष्ट आन्दोलनमा सिन्को नभाँचेका दुर्गा प्रसाईं ‘मार्सी’ जस्ता पात्रले महत्वपूर्ण जिम्मेवारी पाउँदा केपी ओलीभन्दा बढी १७ वर्ष जेल बसेका झापाकै नरेश खरेललाई ‘दूधको माखो’ झैँ मिल्काइयो । एमालेमा छिरेको अढाई महिना नबित्दै पार्टी सदस्यतासमेत नलिएका प्रसाईंलाई एकैचोटी केन्द्रीय सदस्य किन बनाइयो ? र, अहिले उनी किन एमालेसँग सिंगौरी खेलिरहेका छन् ? यसको जवाफ एमालेजनले अझै पाएको छैन ।

 

 

अर्कोतिर, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल एमालेबाट समानुपातिक सांसद बने । होलिवाइन काण्डले विवादित उनलाई अर्कै पार्टीको अध्यक्ष भैकन ओलीको चाहनाअनुसार सांसद बनाइएको हो । पार्टीमा उपाध्यक्ष युवराज ज्ञवाली, लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेलजस्ता एक–से–एक पुराना र इमान्दार तर अवसर नपाएका नेता हुँदाहुँदै एकनाथजस्ता पात्रलाई टिपेर किन सांसद बनाइयो ? भीम रावलबाहेक अरुले सुन्नेगरी नउठाएको यो विषयमा पूर्वराष्ट्रपति भण्डारी पनि सन्तुष्ट नरहेको बताइन्छ । गण्डकी प्रदेशमा शिव अधिकारीलाई बन्दसूचीको ३ नम्बरमा राखेर माछापुछ्रे बैंकका पूर्वअध्यक्ष सूर्यबहादुर केसीका ज्वाइँलाई एकनाथ ढकाललाईजस्तै समानुपातिकमा ल्याइएको विषय पनि बेलाबेला कोट्टिने गरेकै छ ।

 

यता, प्रदेश अध्यक्षमा पराजित नेतालाई पोलिटब्युरो सदस्य बनाउने व्यवस्था मिचेर केन्द्रीय कमिटीमा किन झारियो ? भन्ने प्रश्नको जवाफ पनि कतिपयले खोज्न थालेका छन् । पूर्वराष्ट्रपति निकटहरूको अनुमान छ– आफ्ना मान्छे परेनन् भनेर अध्यक्ष यसरी पूर्वाग्रही हुनुभएको हो । त्यस्तै, यौन काण्डमा मुछिएका नेतालाई कारवाही गर्ने मामिलामा पनि अध्यक्षले विधानको व्यवस्था लत्याएको गुनासो सुनिन्छ । त्यस्ता आरोप लागेका सबैको हकमा विधानतः यौटै विधिबाट छिनोफानो गरिनुपर्नेमा अध्यक्षको आदेशअनुसार फरक–फरक निर्णय गरिएकाले असन्तुष्टिका स्वर चर्किएको अवस्था छ । जस्तो, महिलासँगको सम्बन्धलाई लिएर विवादमा मुछिएका ऐन महर शुरुमा निलम्बनमा परे, तर एक महिनापछि उन्मुक्ति दिइयो । त्यस्तै आरोप लागेका महेश बस्नेतको हकमा भने छानबिन पनि भएन । केटीकाण्ड लागेका कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहमाथि चाहिँ कारवाहीको तयारी छ, भनिन्छ ।

 

 

पार्टीमा अध्यक्षको यस्तो एकलौटी चलिरहँदा पदाधिकारी तहका नेताहरू फड्के किनाराको साक्षीजस्ता छन् । एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसँगै आधा दर्जन उपाध्यक्ष, त्यही संख्यामा सचिव अनि दुई उपमहासचिवको पदाधिकारी टिम छ । तर, सचिवालय बैठकमा भने अध्यक्ष ओलीको बोली नै अन्तिम निर्णय हुने गर्छ । अध्यक्षको लामो प्रवचन सुन्ने र माइन्युटमा ल्याप्चे लगाएर फर्किने भूमिकामा पदाधिकारीलाई सीमित बनाइएको छ । तर, तलका कार्यकर्ता र जनताले भने अध्यक्षको एकाधिकार रुचाएका छैनन् भन्ने कुरा अधिवेशन र आमनिर्वाचनको परिणामबाट प्रमाणित हुन्छ ।

 

एकातिर नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशनमा अधिकांश प्रदेश र जिल्लामा अध्यक्ष ओलीले रोजेका पात्र पराजित भए, अर्कोतिर २०७९ को आमचुनावमा अधिकांश पदाधिकारीसहित बालकोट निकटहरूले जित्न सकेनन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर, उपमहासचिव प्रदिप ज्ञवाली, सचिव लेखराज भट्ट, पद्मा अर्याललगायत अध्यक्ष ओलीका भित्रिया महेश बस्नेत, विशाल भट्टराई, भानुभक्त ढकाल, राजन भट्टराई, तिलक महत, कर्ण थापा, निरु पालहरूले जितेनन् । अझ स्थानीय चुनावमा जहाँ–जहाँ ओली भोट माग्न पुग्नुभयो त्यहाँ एमाले उम्मेदवार पराजित भए । बुटवल, तौलिहवा, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, भरतपुर, पोखरा, नुवाकोट, जुम्लालगायत ३५ वटा स्थानीय तहमा ओलीले भाषण गरेकोमा ती सबै ठाउँमा हारेको स्थितिले पनि एमालेको तल्लोपंक्ति मौजुदा नेतृत्वप्रति सन्तुष्ट छैन भन्ने बुझिन्छ ।

 

यसले जनता ‘बा’ प्रवृत्ति रुचाउँदैनन् भन्ने कुरा पुष्टि गरेको पूर्वराष्ट्रपतिनिकट नेता बताउँछन् । विगतमा राष्ट्रवादको चर्का नारा उरालेर लोकप्रिय हुनुभएका उहाँ पानीजहाज, घर–घरमा ग्यासको पाइप,मोनोरेल, पोखरा–कुश्मा रेलजस्ता हावादारी कुराले पनि चर्चित हुनुहुन्थ्यो । तर, पछिल्लो समय ओलीमा त्यस्तो कुनै क्रेज नरहेको विश्लेषण गर्ने ती नेता भन्छन्, ‘३५ ठाउँमा अध्यक्ष जानुभयो ३५ सै ठाउँमा हार्ने अचम्मै भयो । उहाँ घरै बसेको भए हुन्थ्यो बरु !’

 

पूर्वराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउन खोज्नेहरूको तर्क छ– ‘तल उकुसमुकुसको अवस्था छ तर माथि नेतृत्व गर्ने मान्छे भएन । उहाँ (भण्डारी) ले जिम्मेवारी लिन ढिला भइसक्यो ।’ पार्टीलाई एकताबद्ध बनाएर पहिलो महिला प्रधानमन्त्री र कम्युनिष्ट पार्टीको अध्यक्षको रेकर्ड राख्ने अवसरका रूपमा लिनुपर्ने सुझाव उहाँ निकटहरूको छ । तर, के ओलीसँग दुश्मनी मोल्न उहाँ तयार हुनुहोला र ? ‘राजनीतिमा के–को दुश्मनी ?’, प्रतिप्रश्न गर्दै पूर्वराष्ट्रपतिनिकट एमाले स्रोत भन्छ– ‘सत्ताका लागि काटमार त हुन्छ भने उहाँ त विगतमा आफूले रगत–पसिना बगाएको पार्टीमा फर्किने कुरा न हो !’

 

विद्यासँग आज जुन हैसियत छ, त्यो ओलीकै कारण सम्भव भएको हुनाले ओलीको इच्छाविपरीत एमालेमा आउने सम्भवना छैन भन्नेहरू पनि छन् । तर, संसद विघटनपछि ‘भ्याइएका’ ओलीलाई त्यसबेला राष्ट्रपतिमार्फत वामदेवले प्राण हाल्दिएर बचाएकाले त्यसो भन्न नमिल्ने तर्क पनि उत्तिकै सुनिन्छ । झलनाथ खनाल पार्टी अध्यक्ष हुँदाहुँदै वामदेवले आफ्ना मान्छे बटुलेर भोट हाल्दिएकै कारण ओली संसदीय दलको नेता चुनिएको सन्दर्भ उप्काउनेहरूको प्रश्न छ– ‘त्यसोभए अहिले वामदेव कहाँ छन् ?’

 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

 

everest Bank
Sharestha treating