विश्व सद्भाव र सामुहिकताका लागि अध्यात्मिक चिन्तन
वि.सं.२०८१ भदौ ३१ सोमवार
shares
‘ अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो । अधि र ‘आत्मा को समासबाट आध्यात्म शब्द बनेको छ । संस्कृतमा ‘अधि को अर्थ अगाडि हो । ‘वाद भनेको बिचार हो । त्यसैले आध्यात्मवाद भनेको ‘आत्मा अगाडि हो भन्ने बिचार हो । अध्यात्म पारलौकिक विश्लेषण वा दर्शन होइन । अध्यात्मको शाब्दिक अर्थ स्वयम्को अध्ययन हो ।
अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग रहेको हुन्छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै अध्यात्मिक मार्ग हो ।म को हु? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ ।स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।
अध्यात्मिक ज्ञानले मानिस भित्र श्रेष्ठ र उच्च कोटीका चिन्तनहरूको धारा प्रवाह गरिदिन्छ । मनमा निरन्तर शुद्ध, शुभ र सकारात्मक चिन्तनहरू उत्पन्न भइरहन्छन् । शुभ, शुद्ध र सकारात्मक चिन्तनले बुिद्धका लागि पौष्टिक आहारको काम गर्दछ । जसबाट बुद्धि शालीन, दिव्य र तीक्ष्ण बन्न पुग्दछ । बुद्धिको निर्णय शक्ति सशक्त र सही हुन जान्छ र यसबाट सत्कर्म गर्ने मार्ग प्रशस्त हुन्छ । अध्यात्मिक चिन्तनले मानिसलाई सबै प्रति निरन्तर शुभ सोच, परोपकारी भावना, सर्व हित र सुखद जीवनको कामना गर्ने एक महान् व्यक्तित्व निर्माण गर्नमा मद्दत गर्दछ ।
अध्यात्मिक ज्ञानले निरन्तर मानव स्वभाव, संस्कार, बानी, व्यहोरा र उसको प्रवृत्ति तथा मन–बुद्धिलाई सुुसंस्कृत कुशल र विवेक सङ्त बनाउने पक्षमा जोड दिन्छ । अध्यात्मिक ज्ञान जसले मानिसलाई स्व–अनुशासित, स्व–संयमित, शान्त, सहनशील, गुणवान्, चरित्रवान् र नैतिकवान् व्यक्तित्व प्रदान गर्न सक्दछ। मानिसलार्ई एक असल मानिस बनाउन सकोस् जसले सबैलाई मनसा, वाचा, कर्मणा र व्यवहारले सुख र खुशी बाँड्न सक्छ । अध्यात्मले मानव चेतनाको जागृतिसँग सरोकार राख्दछ । यसले व्यक्तिमा शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजी तथा त्यसले पार्ने असरसँग सम्बन्धित रहन्छ । त्यसो हुँदा हिंसा, कृत्रिम वाद एवं प्रतिवादभन्दा माथि उठेर विश्व कल्याणको मान्यतामा समाहित हुन्छ ।
अध्यात्मिक चेतना र जागृतिबाट परिचालित व्यक्तिले कुनै पनि अवस्था र परिस्थितिमा नकारात्मक सोच र कुभलोका भावना पैदा गर्दैन । यदि अध्यात्मिक चिन्तनका नाममा त्यस्ता निम्न कोटीका विचारहरू पैदा हुन्छन् भने त्यसलाई अध्यात्म्कि चिन्तनको नाम दिन सकिँदैन । जसले आफूप्रति मित्रवत्भाव राख्दछ, सहयोग दिन्छ, प्रशंसा गर्दछ, सम्मानको दृष्टिले हेर्ने र व्यवहार गर्ने गर्दछ त्यसलाई मित्र ठान्नु, उसको भलो चिताउनु तथा आफ्नो तर्फबाट पनि सहयोग र स्नेह दिनु कुनै ठूलो कुरा होइन । यस्तो व्यवहार र क्रियाकलाप आम सबैले गरि नै रहेका हुन्छन् । सवाल त के हो भने जसले तपाईं प्रति वैरभाव, विरोधभाव, द्वेष, घृणा र ईष्र्याभाव राख्दछ एवं तपाईंको मार्गमा नाना थरीका बाधा,व्यवधान र अवरोध खडा गर्दछ तथा आलोचना अपमान र मजाक जस्ता शब्दको प्रहार गर्दछ, आक्षेप र लाञ्छना लगाउँने कार्य गर्दछ त्यस प्रति पनि आफ्नो तर्फबाट भलाइ, शुभभाव, दयाभाव तथा क्षमाभाव राखी उसको हर प्रकारको सुख, समृद्धि र कल्याणको कामना गर्नु महानता हो । अध्यात्मिक जागृति र चिन्तनको व्यवहारीक पक्ष पनि यही हो । अध्यात्मिक उचाई साच्चै अनुमप छ, अलौकिक छ र सामान्य सोच भन्दा धेरै माथिल्लो विशिष्ट स्थान राख्दछ । वर्तमान व्यावहारिक मनस्थितिका मानिसलाई यो महान् पक्षलाई पचाउन र स्वीकार गर्न गाह्रो हुनसक्दछ तर महानताको शिखर चुम्न र प्रेरणाको स्रोत व्यक्तित्व विकास गर्न यस्तै उच्च अध्यात्मिक चेतना र चिन्तनलाई अवलम्बन गर्नु बाहेक अन्य विकल्प छैन ।
समाजमा हिंसा तथा संघर्ष पैदा गर्ने अन्धविश्वास एवं विवेकहीनता,असंगत वा कट्टरपन्थी सिद्धान्त अव समाप्त हुनुपर्ने आवाज समेत उठेको पाईन्छ । पछिल्ला केही दशकतर्फ हेर्दा आद्यात्मलाई वैज्ञानिक दृष्टिकोण र विज्ञानलाई आद्यात्मिक दृष्टिकोणबाट जोड्ने प्रयासहरु गरिए । वैज्ञानिक तथा आद्यात्मवादीहरुले यो प्रतिवादन समेत गरे कि दुवै मिलेर जगत एवं चेतनालाई जानेर कसरी एक अर्काेमा पूरक भूमिका निर्वाह गर्न सकिन्छ । भौतिक विज्ञान,आत्मविज्ञान ,नीतिशास्त्र ,पर्यावरण–परिस्थिति ,चिकित्सा एवं ध्यान योग तथा दूर सञ्चार र मनो–सञ्चारमा समान रुची राख्ने एक समुदाय विकसित भैसकेको अवस्था छ । विकास तथा पर्यावरणको सम्वन्धमा नैतिक सिद्धान्तको महत्व र त्यसको व्यवहारिक प्रयोगमाथी समेत जोड दिन थालियो ।
धर्म,अद्यात्म र विज्ञान परस्पर विरोधी होईनन् सहयोगी हुन भन्ने कुरा अलवर्ट आइन्टाइनको ‘ धर्म विनाको विज्ञान लङगडो हुन्छ भने विज्ञान विनाको धर्म अन्धो हुन्छ भन्ने भनाईबाट समेत प्रष्ट हुन्छ ‘।आद्यात्मरहित विज्ञान र वैज्ञानिक दृष्टिकोणविहीन आद्यात्म दुवै अपुरो हुन्छ । यि दुवैलाई अलग अलग प्रयत्नले कार्य गरिनुको वदलामा विज्ञान र आद्यात्म संगठित रुपले एकजुट भई कार्य गर्ने हो भने विश्वमा खुशी,सम्पन्नता र सुख–शान्तिको स्थापना तिव्र गतिले वढ्नेमा शंका रहदैन । भौतिक उन्नतीको साथै आद्यात्मिक उचाँईलाई एकैसाथ सम्पन्न गर्न सकेमा निसन्देह सदाकालको लागि विश्वमा सम्पन्नता प्राप्त हुनसक्छ । अध्यात्मिक ज्ञानले प्रतिपादन गरेका सिद्धान्तहरूलाई दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा केवल रीति, रिवाज,आडम्बर र मान्यताका रूपमा मात्रै सीमित हुन पुगेको अवस्था विधमान छ ।
अध्यात्मबिनाको राजनीति, समाज नीति, अर्थनीति या हरेक वाद एवं चिन्तन सबै अपूरो छ भन्ने विषयले विश्वका हरेक बौद्धिकलाई घचघच्याएको छ । हाम्रो समाजमा आज अध्यात्मलाई धार्मिक क्रियाकलाप, गेरुवस्त्र धारण, चन्दने निधार एवं कर्मकाण्डसँग जोड्ने गरिन्छ जुन अत्यन्तै असुहाउँदो र संकीर्णताको परिणति एवं अध्यात्म बुझाइको कमी हो भन्ने लाग्छ । अध्यात्म सांसारिकताभन्दा समस्त मानवहितको शक्ति तथा जीवनमुक्तिको आधारशिला हो । यसले व्यक्तिलाई समुद्रजस्तो गम्भीर बनाउने मात्र होइन, मानसिक सन्तुलन पैदा गर्छ । त्यसैले आजको हरेक क्षेत्रबाट विक्षिप्त समाजमा अध्यात्मिकताको विषयले प्रश्रय पाउनु जरुरी छ ।
हामी सबैको साझा चाहना छ कि संसार चिरकालसम्म सुख, शान्ति, समृद्धि र सुमधुर सम्बन्धको थलो बनोस् । धरती निवासी सम्पूर्ण मानवजाति कुनै पनि प्रकारको रोग, शोक, भोक, चिन्ता र भय–त्रासले पीडित नहोउन् । सबैले स्वास्थ्य, सम्पत्ति र खुशी सदाका लागि प्राप्त गर्न सकून् । समाजमा कुनै पनि प्रकारको भेदभाव, थिचोमिचो ,अन्याय,अत्याचार तथा पापाचारको स्थिति नरहोस् । हत्या, हिंसा, लडाईं, झगडा, युद्ध, संघर्षको वातावरण सदाका लागि समाप्त होस् सबै प्राणीको जीवनचक्र सही ढंगले चलोस् । विविध प्रजाति लुप्त हुने स्थिति, वातावरणीय प्रदूषण तथा असन्तुलनको संकट न रहोस् । प्रकृतिका तत्वहरू समेत आफ्नोे मर्यादामा रहेर सधै सुख दिने काम गरुन् । कुनै पनि प्रकारको प्राकृतिक प्रकोपको चपेटामा पर्न न परोस् । प्रकृति सदा वसन्तवहार होस् । मानौ संसार स्वर्ग, पाराडाइज तथा रामराज्य बनोस् । मानिस मानिसकाबीच अत्यन्तै घनिष्ठ र सुमधुर सम्बन्ध कायम होस् । वसुधा भौतिक प्रचुरता, विपुलताका साथै अध्यात्मिक दिव्यता र अखण्डताले भरपूर होस् । यस्तो संसारको परिकल्पनालाई मूर्त रूप दिन साच्चै अध्यात्मिक चिन्तन–ज्ञान र राजयोग साधनाले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तसर्थ प्रत्येक नर–नारीको प्रयत्न र पुरुषार्थ अध्यात्मिक सुदृढीकरण गर्नुपर्ने रहेको छ । अतः जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै अध्यात्मिकता हो भन्न अत्युक्ति हुनेछैन ।
संसारमा कुनै पनि मानिस कर्म नगरी शान्त भई बस्न सक्दैन । मन शान्त भए आत्माको अनुभव हुन्छ । योगीहरुले समाधिद्वारा शान्त मनमा आत्माको अनुभव गर्दछन । भौतिकवादीहरुले योग पनि गर्न सक्दैनन् ज्ञान पनि गर्न सक्दैनन । उनीहरुले सकाम कर्म गर्छन । सकाम कर्मद्वारा आत्माको खोजी गर्छन । निस्काम कर्म गर्न सक्दैनन । फलको आशा राखेर कर्म गर्छन। त्यसैले परमानन्द प्राप्त गर्न सक्दैनन । मानिसको स्वरुप आत्मा भएझंै परमानन्द ईश्वरको स्वरुप हो । आनन्द कहिले नाश हुदैन । मनमा कुनै संकल्प नउठाएपछि परमानन्द प्राप्त हुन्छ । संकल्प उठाए मन चञ्चल हुन्छ र आफ्नोे स्वरुपलाइ भुलिन्छ । फलको आशा राखेर कर्म गर्नेहरु यस दुःखरुपी संसारमा जन्म लिइरहन्छन् र मर्छन पनि । सांसारिक बन्धनमा बाधिरहन्छन्, मुक्त हुन सक्दैनन । धन र पदको मोहमा परेर आफ्नोे स्वरुपलाई भुल्छन् । भौतिक उन्नतिलाई सत्य ठानेर भौतिक उन्नति गर्दागर्दै रोइर मर्छन । अध्यात्मिक मार्गमा लागेका मानिस आत्मालाई साक्षी राखेर राष्ट्रको र समाजको सेवा गर्दा गर्दै हाँसेर मर्छन्। । आजकलका मानिसमा सत्बिचार र सत्विवेक देखिदैन । अनुशासन देखिदैन । नैतिकता आचरण सभ्यता देखिदैन । चित्त शुद्ध छैन । सत्यता, ज्ञान र धर्म छैन, भौतिकवादको प्रभाव बढेको छ । बेदले भन्छ– आचरण मानिसको गहना हो ।
कुनै पनि जीव एकक्षण पनि कर्म नगरी बस्न सक्दैन । कर्म गर्नु जीवको स्वभाव हो । परमआनन्द प्राप्त नहुँदासम्म मानिसले कर्म गरिरहन्छ । जीवको जन्म हुदैन । जीव अनादि हो, सनातन हो, जीबको जन्म मृत्यु हुदैन, शरीरको जन्म मृत्यु हुन्छ । भौतिक वादीहरु भन्छन– ईश्वर भन्ने कुनै तत्व छैन, प्रकृतिबाट जीबको जन्म भएको हो । अध्यात्मिकवादीहरु भन्छन– जीव ईश्वरको अंश हो । जीव अनादि हो । भौतिकवादीहरु भन्छन– इच्छा पूरा भए आनन्द प्राप्त हुन्छ तर भौतिकवादीहरुको इच्छा कहिलै पूरा हुदैन । उनीहरुले विषयको आनन्दलाई आनन्द मान्छन् त्यो त क्षणभंगुर आनन्द हो । अध्यात्मिकवादीले खोजेको आनन्द सांसारिक पदार्थबाट प्राप्त हुने आनन्द होइन । विषयको प्राप्तिबाट लोभ उत्पन्न हुन्छ । लोभबाट क्रोध उत्पन्न हुन्छ । भौतिकवादीहरु भन्छन– हामीले संसारलाई कति आनन्द पु¥याएका छौं, कति उन्नति गरेका छांै, जल, थल, नभमा बाटो खोलेका छांै । ठूला–ठूला एटम बम बनाएका छौं । रोगीलाइ निरोगी बनाएका छौं । यो वैज्ञानिक चमत्कार सत्य हो तर भित्री सुख र आनन्द दिन सकेका छैनन । सत्य, अहिंसा, मानवता, नैतिकता र संस्कारको उन्नति गर्न सकेका छैनन ।
कुनैपनि मानिस जन्मिएपछि अमृत र मृत्यु दुबै उसले शरीरमा नै लिएर आएको हुन्छ । मनुष्य मोहबाट मृत्युलाई र सत्यबाट अमृतलाई प्राप्त गर्दछ । अतः अब म हिंसाबाट दूर रहेर सत्यको खोजी गर्नुपर्दछ । काम र क्रोधलाई हृदयबाट निकालेर दुख र सुखको समान भाव राख्नुपर्दछ । तथा सबैको लागि कल्याणकारी बनाएर मृत्युको भयबाट मुक्त हुनुपर्नेछ । यज्ञमा तत्पर रहेर मन र इन्द्रियहरुलाई वशमा राखेर ब्रह्मयज्ञ (वेद–शास्त्रहरुको स्वाध्याय) मा लागेर मुनिवृत्तिले रहनेले मृत्युसँग डराउनुपर्ने अवस्था नै रहँदैन ।
एकातर्फ नास्तिक मान्छेहरू भौतिक शरीर रहुन्जेलको सुखलाई नै वास्तविक सुख मान्छन् भने अध्यात्मिक मान्छेको सोचाइ फरक हुने गर्छ । अध्यात्मले जहिले पनि कर्म के हो ? असल र खराब कार्यको फल यही लोकमा मात्रै सीमित नभएर अर्काे जन्मसँग समेत जोडिएको भन्दै कुनै पनि लालसाले अर्काे जन्मको बन्धनमा हामीलाई फसाउने बताउने गर्छ । जबसम्म हामी कर्मको बन्धनमा बेरिएर बसेका हुन्छौं, त्यतिबेलासम्म हामी पुनर्जन्मको जालोमा बेरिइरहेका हुन्छौं भन्ने मान्यता छ । आफ्नोे भाग र भोग अनुसारको कर्म निवृत्ति नगरेसम्म मान्छेले निरन्तर त्यही कर्मको जिम्मेवारी पूरा गर्न पनि पुनर्जन्म लिइरहनुपर्छ भन्ने अध्यात्मिक मत छ ।त्यसैले अध्यात्म एउटा यस्तो ज्ञान हो । जसले सबै कुरा कुनै कर्ताको हातमा रहेकोले कुनै पनि कुरामा मरिहत्ते गर्नु आवश्यक नरहेको बताउँछ ।केवल ज्ञानी पुरुषले जो जीवित मूर्तिहरू हुन्, हामीलाई प्रेमको सही परिभाषा दिन सक्छन् । साँचो प्रेम त्यो हो जुन कहिल्यै बढ्दैन र घट्दैन पनि । सम्मान गर्ने व्यक्तितर्फ कुनै उत्कटता हुँदैन, न त अपमान गर्ने व्यक्तिप्रति कुनै घृणा नै हुन्छ । संसारमा हुने यस्तो प्रेमलाई निर्दोष मान्ने गरिन्छ ।
अध्यात्मले मृत्युको बारेमा जानकारी दिएर मृत्युप्रति मान्छेको डरलाई भगाउने काम गर्छ । आत्मा कहिलै मर्दैन भन्ने केही हिन्दु दर्शनको मत छ । त्यसैले एक पटक आत्मालाई राम्रोसँग बुझ्न सक्यो भने मात्रै त्यो मान्छे मृत्युबाट डराउँदैन भन्ने अध्यात्मको मत छ । आर्थिक विकास गरेर र धन सम्पत्ति जम्मा गरेर मात्रै जन्म, मृत्यु, वृद्धावस्था र रोगजस्ता जीवनका समस्याहरूलाई रोक्न सकिँदैन । विश्वका धेरै भागहरूमा यस्ता कैयौँ राज्यहरू, व्यक्तिहरू छन्, जो जीवनका सुख सुविधाबाट परिपूर्ण छन् । धनधान्यले पूर्ण छन् । आर्थिक रूपले विकसित छन् तर त्यहाँ पनि सांसारिक जीवनका समस्याहरू जस्ताको जस्तै छन् । तिनीहरू विभिन्न तरिकाबाट शान्तिको खोजी गर्दैनन् । तर त्यो शान्ति तिनीहरूले त्यस समयमा मात्र पाउन सक्नेछन् ।सांसारिक भौतिक सुख सुविधाका लागि गलत कार्यमा तल्लीन हुनु नदिन आत्म साक्षात्कारको बाटोमा अग्रसर गराउनु पर्दछ ।
जब भौतिकवादको चमत्कार बढ्दै गयो । भौतिक सभ्यताको विकास हुँदैगयो । तब अध्यात्मिक भावना हराउँदै गयो । भौतिक चिन्तनको बिजारोपण र आफ्नोे अस्तित्वलाई मेट्दै गए । मानिस समाजवादी नभएर ब्यक्तिवादि हुन पुगे । राष्ट्रको अस्तित्वलाई भुल्न थाले । जब मानिस भौतिक सुख सुविधामा भुल्छ उसले आफ्नोे कर्तब्य र इमानदारीतालाई भुल्छ । उसको दृष्टिमा अर्को संसार छैन भन्ने सम्झन्छ । भौतिकवादमा रमाएको मानिसले उन्नतिको साथै अवनति पनि गरिरहेको छ । यो अध्यात्मिकबादको अभाव हो । मानिसले आनन्दपूर्वक बाँच्नको लागि पूर्वीय र पाश्चात्य दर्शनको समन्वय गरी अगाडि बढेमा समस्त राष्ट्रको कल्याण हुनेछ । अध्यात्मिक मार्ग सर्वश्रेष्ठ मार्ग हो भन्ने सम्झेर कर्तब्यनिष्ठ रही विश्वमा रहेको कलमसरुपि अन्धकारलाई अध्यात्मिक ज्योतिले प्रकाशित गरी मानवीय गुणको यर्थात स्वरुप देखाइदिनु मुख्य कर्तब्य हो ।
अध्यात्म ज्ञानले अनुशासित, मर्यादित र सन्तुलित बनाउन सिकाउँछ र यो विश्वजनीन सत्य हो। यसले सुख भन्दा आनन्दतर्फ लैजान्छ, प्रतिस्पर्धाभन्दा सामूहिक हितमा लैजान्छ। विकास पनि पुग्यो अब, विनासतर्फ लक्षित विकासको अर्थ छैन। सन्तुलन गुम्दै जाँदा मानवजातिको भविष्य झन् झन् खतरामा पर्दै जाने अवस्थाा अझ भयावह रुपमा आउने छ। त्यसैले अध्यात्मको ज्ञान र व्यवहारिक उपयोगले मात्र यस जननीरुपी धर्ति मातालाई जोगाउन सक्छ। पूर्वीय अध्यात्म दर्शनका मूलभूत पक्षहरु मनन्योग्य छन्। मानव जातिको अस्तित्व जोगाउन मानव जातिको अस्तित्व जोगाउन गीता, उपनिषद, ब्रम्हसूत्र र बुद्धवाणीहरुलाई विश्वले राम्ररी अध्ययन र मनन गर्नु जरुरी छ । मानव सभ्यतामा अनुशासित, मर्यादित र सन्तुलित जीवनका लागि अध्यात्म ज्ञानको सिञ्चन आवश्यक छ ।विश्वमा प्रतिस्पर्धाभन्दा सामूहिक हितमा काम गर्दै विश्व सद्भाव र सामुहिकताका लागि अध्यात्मिक ज्ञानको उपयोग गर्न आवश्यक छ ।
( उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)


























