वेस्ट बैंक, हमास, गाजाको शासन र युद्ध विराम

1.2K
shares

 

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा हमाससँगको १५ महिनाको युद्धलाई रोक्न र त्यहाँका लडाकुले नियन्त्रणमा राखेका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सहमति भएको पुष्टि गरेपछि इजरायलको सुरक्षा क्याबिनेटले जनवरी १७, २०२५ युद्धविराम सम्झौतामा सहमति जनाउन सिफारिस गरेको छ । इजरायल र हमासबीचको पछिल्लो युद्धविराम २०२५ जनवरी १९ मा सुरु भएको छ। यो सम्झौता संयुक्त राज्य अमेरिका, इजिप्ट, र कतारको मध्यस्थतामा भएको छ । यो सम्झौताको समाचारपछि गाजाका प्यालेस्टिनीहरू इजरायली सेनाबाट १५ महिनाभन्दा बढी समयसम्म जारी मृत्यु र विनाश झेलेपछि सडकमा उत्सव मनाउन निस्किए।

इजरायल र प्यालेस्टाइन बीचको संघर्ष इतिहासको एक जटिल र पीडादायक कथा हो जसको जरा अति पुरानो छन्। यो संघर्ष मुख्यतया भूमि, धार्मिक आस्थाहरू र राजनीतिक अधिकारहरूको विवादमा आधारित रहेको छ । यसको आरम्भ २०औं शताब्दीको प्रारम्भमा भएको थियो जब यहूदीहरूले प्यालेस्टाइन भूमिमा आफ्नो राज्य स्थापना गर्नका लागि संघर्ष गर्न थाले।

पहिलो विश्वयुद्धपछि, ब्रिटेनले प्यालेस्टाइन क्षेत्रको नियन्त्रण प्राप्त ग¥यो र यसलाई आफ्नो उपनिवेशी भूमि बनायो। समयक्रमसँगै यहूदी समुदायको संख्या वृद्धि हुँदै गयो, जसका कारण प्यालेस्टाइन सँगसँगै संघर्ष सुरु भएको थियो। सन् १९४८ मा, जब ब्रिटिश शासन समाप्त भयो र संयुक्त राष्ट्र संघले इजरायलको स्थापना प्रस्ताव गरे, यो प्रस्ताव प्यालेस्टाइनहरू र अरब राष्ट्रहरूको कडा विरोधमा परेको थियो। १४ मे १९४८ मा, इजरायलले आफ्नो स्वतन्त्रता घोषणा ग¥यो र त्यसपछि इजरायल र आसपासका अरब राष्ट्रहरूको बीचमा युद्ध शुरू भयो। यस युद्धमा इजरायलले जित हासिल ग¥यो, तर प्यालेस्टाइनहरूको लागि यो युद्ध गहिरो पीडा बन्यो। हजारौं प्यालेस्टाइनहरू विस्थापित भए र शरणार्थी बने।विस्थापित भएका प्यालेस्टाइनहरूको ठूलो संख्या आज पनि शरणार्थी शिविरमा बस्छन्। इजरायलले आफ्नो नियन्त्रणमा लिएका भूभागमा यहूदीहरूको बसोबास सुरू ग¥यो जसले संघर्षलाई अझै जटिल बनायो। समयसँगै यो संघर्ष थप गहिरो हुँदै गयो। प्यालेस्टाइनहरूका लागि इजरायलको कब्जा, यस द्वारा लागू गरिएका नीति र नियमहरूले जीवन कठिन बनायो। सन् १९६७ मा जब इजरायलले पश्चिमी तट, गाजा पट्टी र पूर्वी जेरुशेलमलाई पनि कब्जा ग¥यो। यी क्षेत्रहरू अहिले पनि विवादित छन् र इजरायल र प्यालेस्टाइनहरूको बीचको संघर्षको प्रमुख कारण बनेका छन्।

इजरायलको कब्जामा रहेका यी क्षेत्रहरूमा प्यालेस्टाइनहरूले विभिन्न प्रकारका प्रतिरोधका उपायहरू अपनाए। सन् १९८७ मा गाजापट्टीमा पहिलो आन्दोलन शुरु भयो जसमा प्यालेस्टाइनहरूले इजरायलका सैनिक र बस्तीहरू विरुद्ध प्रतिरोध गरे। त्यस समयको प्रतिरोधले संसारभरि हल्ला मच्चायो । प्यालेस्टाइन हरूको स्थितिलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइयो। इजरायलले यसको जवाफमा कडा सैन्य कारवाही ग¥यो । धेरै मानिसहरूको मृत्यु र पीडा निम्त्यायो।

इजरायल र प्यालेस्टाइन हरूको संघर्ष समयसँगै परिवर्तन हुँदै गयो । सन् १९९० को दशकमा यस संघर्षको समाधानको लागि शान्ति प्रक्रिया प्रारम्भ भयो। सन् १९९३ मा ओस्लो सम्झौतामा इजरायल र प्यालेस्टाइन नेताहरूबीच सिधा वार्ता शुरु गरियो र प्यालेस्टाइन प्राधिकरणको स्थापना भएको थियो। गाजापट्टीमा सन् २००० को दशकमा हमासको बढ्दो प्रभाव र २००६ मा यसको निर्वाचनमा विजयले इजरायलसँगको सम्बन्धलाई अझ जटिल बनायो।

यस युद्धले त्यहाँका नागरिकहरूको जीवनमा आतंक र भयको वातावरण सिर्जना गरेको छ । इजरायलका हवाई हमला र हमासका रकेट आक्रमणहरू बीचको भिडन्तले वर्षौंदेखि त्यहाँको मानवता र जीवनशैलीलाई भत्काइरहेको छ । यद्यपि, शान्ति र समाधानका प्रयासहरू चलिरहेका छन्, यी प्रयासहरू प्रायः असफल भएका छन् । यो संघर्ष भौतिक युद्धसम्म सिमित छैन । यसले मानवता र मनोवैज्ञानिक चोट पु¥याउने ठूलो प्रभाव पारेको छ । प्रत्येक युद्धको पछाडि रहेको कथा गहिरो छ । ति पीडा, आतंक र दुःखका शब्दहरूद्वारा व्यक्त गर्न गाह्रो हुन्छ । गाजा पट्टीका बालबालिका र महिलाहरू जो युद्धको शिकार भएका छन् तिनिहरुको रोदन कसले सुन्ने ?

हमास एक इस्लामिक अतिवादी आन्दोलन हो जसले लगभग दुई दशकदेखि गाजा पट्टीलाई नियन्त्रणमा राखेको छ । यसले इजरायलको अस्तित्वलाई अस्वीकार गर्दै त्यसलाई प्यालेस्टिन भूमिमा कब्जा जमाएको ठान्छ । अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको थियो, जसमा करिब १,२०० मानिसको मृत्यु भयो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो। यसको प्रतिक्रिया स्वरूप इजरायलले हमासलाई समाप्त पार्ने उद्देश्यले युद्ध घोषणा ग¥यो। इजरायल र फलस्तीनी बीचको संघर्ष ७ अक्टोबर २०२३ मा सुरु भएको थियो । इजरायली अधिकारीहरूका अनुसार, हमासका आतङ्ककारीहरूले इजरायलमाथि आक्रमण गरेका थिए। यस हमलामा १,२०० मानिस मरेका थिए र करिब २५० जनालाई बन्धक बनाइएका थिए।

हमासले इजरायलमाथि २०२३ अक्टोबर ७ मा आक्रमण गरेपछि इजरायली रक्षा बलले गाजामा हवाई हमला र स्थल कारबाही थालेको थियो। २०२५ जनवरी १५ मा संयुक्त राज्य अमेरिका, इजिप्ट, र कतारले हमास र इजरायलबीच युद्धविरामको सम्झौता गराएको घोषणा गरे, जसले गाजामा १५ महिनासम्म चलेको द्वन्द्व अन्त्य ग¥यो। इजरायली सरकारले औपचारिक रूपमा प्रस्ताव स्वीकृत गरेपछि, पहिलो चरणको बन्धक आदानप्रदान २०२५ जनवरी १९ मा सुरु भयो। अर्को छ हप्ताभित्र हमासले बाँकी रहेका ३३ बन्धकहरू रिहा गर्ने, भने इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छख। इजरायलले आफ्ना सेना फिर्ता बोलाउने, विस्थापित नागरिकहरूलाई गाजाको उत्तरी भागमा फर्किन अनुमति दिने, र प्रत्येक दिन ६०० मानवीय सहायता सामग्रीका ट्रकहरू गाजा प्रवेश गर्ने व्यवस्था हुनेछ । सम्झौताको दोस्रो र तेस्रो चरणको वार्ता हुन बाँकी छ, जसले युद्धको औपचारिक अन्त्य सुनिश्चित गर्नेछ। तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनभित्रको विवादका कारण दोस्रो र तेस्रो चरण लागू गर्दा उनको सरकार अस्थिर हुनसक्ने सम्भावना देखिएको छ ।

 

यस द्वन्द्वले मध्यपूर्वमा क्षेत्रीय तनावलाई अझै बढाएको छ । हमासको अक्टोबर ७ को आक्रमणपछि हिजबुल्लाहले इजरायलको उत्तरमा आक्रमण सुरु गरेपछि इजरायली सेनाले लेबनानमा स्थल आक्रमण गरेको छ । यमनका हुथी विद्रोहीहरूले इजरायलमाथि र रेड सीमा व्यापारिक जहाजमाथि मिसाइल प्रहार गरेका छन्। अन्य इरान समर्थित समूहहरूले इराक र सिरियामा रहेको अमेरिकी सैन्य स्थानमाथि धेरै पटक आक्रमण गरेका छन्। सन् २०२४ को अप्रिल र अक्टोबर महिनामा इरानले पहिलो पटक इजरायलमाथि प्रत्यक्ष आक्रमण ग¥यो, जसको जवाफमा इजरायलले इरानी हवाई रक्षा र क्षेप्यास्त्र निर्माण केन्द्रहरूमा प्रहार ग¥यो।

इजरायली–प्यालेस्टिनी द्वन्द्वको सुरुवात १९ औँ शताब्दीको अन्त्यतिर भएको हो।१९४८ मे १४ मा इजरायलको स्थापना भयो, जसपछि पहिलो अरब–इजरायल युद्ध सुरु भयो। १९४९ मा युद्ध इजरायलको विजयमा समाप्त भयो । युद्धबाट ७,५०,००० प्यालेस्टिनी विस्थापित भए र भूमि तीन भागमा विभाजित भयो इजरायल, वेस्ट बैंक, र गाजा।

जनवरी २०२४ मा, आफ्नो मुख्य सहयोगी संयुक्त राज्य अमेरिकाको दबाबमा, गाजामा मानवीय संकट र हमासलाई पूर्ण रूपमा समाप्त पार्न सम्भव हुने÷नहुने विषयमा उठेका प्रश्नहरूका बीच, इजरायलले गाजामा आफ्नो सैन्य कारबाहीलाई कम तीव्रताका साथ जारी राख्ने संकेत ग¥यो। इजरायली रक्षा बलले आफ्नो ध्यान उत्तरी गाजाबाट दक्षिणी गाजाको क्षेत्रमा, विशेष गरी राफाह सहरतिर, स्थानान्तरण गर्ने तयारी ग¥यो।

इजरायलले राफाहमा सञ्चालनको तयारी गरेपछि बाइडेन प्रशासनबाट तीव्र आलोचना भयो। मे २०२४ मा, अमेरिकी बमहरूको एक खेप इजरायललाई पठाउन रोकिएको खबर सार्वजनिक भयो। अमेरिकी अधिकारीहरूले राफाहको घना शहरी क्षेत्रमा बमहरूको प्रयोगले अस्वीकार्य नागरिक क्षति पु¥याउन सक्ने चिन्ता व्यक्त गरे। केही समयपछि, राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएको खुलासा गरे, जसअनुसार इजरायलले राफाहमा आक्रमण गरेमा अमेरिकाले केही आक्रमणात्मक हतियार आपूर्ति रोक्नेछ। पछि बाइडेन प्रशासनले यो चेतावनी लागू गरेन, किनभने इजरायलको राफाह अभियान अघिल्ला कारबाहीहरूभन्दा लक्ष्य केन्द्रित देखिएको थियो।

२०२४ को शरद ऋतुमा, दक्षिण र मध्य गाजामा कारबाही जारी राख्दै, इजरायलले उत्तरी गाजामा नयाँ आक्रमण सुरु ग¥यो, विशेष गरी जबालिया शरणार्थी शिविर वरपर । यस अभियानको उद्देश्य, इजरायलले भने अनुसार, यस क्षेत्रमा फेरि संगठित हुन थालेका हमास लडाकुहरूलाई समाप्त पार्नु थियो। जबालियामा इजरायली कारबाहीले विज्ञहरूलाई चिन्तित बनायो, किनकि यो “जनरल्स प्लान“ लागू गर्ने तयारी हुनसक्ने अनुमान गरिएको थियो। यस योजनामा मानवीय सहायता रोकेर र घेराबन्दी गर्दै हमासका बाँकी लडाकुहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्ने रणनीति सामेल छ। अक्टोबर ६ देखि डिसेम्बर ३१, २०२४ सम्म, संयुक्त राष्ट्रसंघले यस क्षेत्रमा पुग्न १६५ पटक प्रयास गरेको थियो, जसमा इजरायली अधिकारीहरूले १४९ प्रयासलाई अस्वीकृत गरेका थिए, र बाँकी १६ प्रयास पनि अवरोधको सामना गरिरहेका थिए ।

यो द्वन्द्वले उत्तरी गाजा बाहिर पनि मानवीय समस्या निम्त्याएको छ । २०२३ मा इजरायली कारबाही सुरु भएदेखि नै पत्रकारहरू, विद्यालयहरू, र मानवीय सहायता क्षेत्रहरूमा आक्रमणको रिपोर्टहरू सार्वजनिक भएका छन्। अस्पतालहरू र अन्य महत्वपूर्ण पूर्वाधारमा इजरायली आक्रमणका कारण पोलियोजस्ता रोगहरू फैलिएका छन्। मानवीय सहायता कार्यकर्ताहरूविरुद्ध हिंसाले यस संकटलाई झन् गम्भीर बनाएको छ । अप्रिल २०२४ मा इजरायली हवाई आक्रमणले वल्र्ड सेन्ट्रल किचनका सात कर्मचारीको ज्यान लियो । अगस्ट महिनामा वल्र्ड फूड प्रोग्रामका कर्मचारीहरूलाई गोली हानियो। यी घटनाले मानवीय सहायता संस्थाहरूले गाजामा आफ्नो काम सीमित गर्न बाध्य बनाएको छ ।

जनवरी २०२५ सम्म, गाजाका १.९ मिलियन नागरिक—गाजाको कुल जनसंख्याको करिब ९० प्रतिशत—विस्थापित भइसकेका छन् । विपद्सम्बन्धी खाद्य असुरक्षाको सामना गरिरहेका छन्। गाजामा हाल कुनै पनि अस्पताल सञ्चालनमा छैन। युद्धले ४६,००० भन्दा बढी गाजावासीको ज्यान लिएको छ, जसमध्ये इजरायली सेनाको अनुमानमा १७,००० हमासका लडाकुहरू थिए। यद्यपि, संयुक्त राज्य अमेरिकाले युद्धको कारण गाजावासीहरूमा देखिएको उग्र विचारले हमासलाई नयाँ लडाकु भर्ती गर्न सघाइरहेको चेतावनी दिएको छ ।

हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमणपछि नेपालका विपिन जोशी सहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । तिनमा ८१ पुरुष १३ महिला छन् । इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् ।

इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार हमासले बन्धक बनाएकामध्ये १ सय ९ जनालाई अशक्त अवस्थाका र मानवीय सहायताका लागि अस्थायी युद्धविराम भएका बेला गरी मुक्त गरेको थियो । ८ जनालाई इजरायली सेनाले मुक्त गराएको थियो भने ३७ जनालाई मृत्युपछि जिम्मा लगाइएको थियो । हमासको नियन्त्रणबाट भागेका ३ जनाको भने इजरायली सेनाको आक्रमणमा मृत्यु भएको थियो ।हमासले सन् २०२३ अक्टुबर ७ गरेको आक्रमणमा इजरायलमा १२ सयको ज्यान गएको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो ।

युद्धविरामका शर्तहरू अन्तर्गत हमासले महिलाहरू र बालबालिकासहित केही बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको थियो, भने यसको बदलामा इजरायलले आफ्ना जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा ग¥यो। युद्धविरामको पहिलो दिन हमासले तीनजना महिलालाई रेडक्रसको जिम्मा लगायो, जसलाई पछि इजरायली अधिकारीहरूलाई हस्तान्तरण गरियो। इजरायलले यसको बदलामा ९० जना प्यालेस्टिनी बन्दीहरूलाई पश्चिम तटमा रिहा ग¥यो। युद्धविरामले गाजा पट्टिमा जीवनयापनका लागि अत्यावश्यक सामग्री जस्तै खाना र इन्धन बोकेका सयौं राहत ट्रकहरूको प्रवेशलाई सहज बनायो। यी सामग्री इजरायल र इजिप्टका सीमा नाकाबाट गाजा पु¥याइयो। यद्यपि यी घटनाक्रमहरू सकारात्मक भए पनि स्थिति अझै अस्थिर रहेको छ । तनाव कायमै रहेको छ र युद्धविरामको दीर्घकालीन स्थायित्व गाजाको शासन र सैन्य उपस्थितिबारे हुने थप वार्ताहरूमा निर्भर गर्नेछ ।

( उप्रेती नेपाल सरकारका उपसचिव हुन् )

civil hospital
Hams Hospitals