अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
वि.सं.२०८२ वैशाख १३ शनिवार
shares
काठमाडौं।देशका विभिन्न स्थानहरूबाट प्रहरीले अवैध लागूऔषध सहित १८ जनालाई पक्राउ गरेको छ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट प्रहरीले बैतडी दशरथचन्द नगरपालिका-१ का २७ वर्षीय वीरेन्द्र सिंह भाटलाई ६६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीको टोलीले उनलाई भारतबाट नेपाल प्रवेश गर्दा नियन्त्रणमा लिएको हो।
त्यस्तै, धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकबाट डोटी जोरायल गाउँपालिका-१ गैरा निवासी २४ वर्षीय किरण बहादुर विश्वकर्मालाई २ ग्राम १२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको छ।
बाँके, नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहाबाट नेपालगञ्ज-१३ की ३५ वर्षीया पुष्पा लोनियालाई १९ ग्राम २ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित पक्राउ गरिएको छ।
मोरङ, विराटनगरमा पनि प्रहरीले दुई स्थानबाट पक्राउ गरेको छ। विराटनगर-१६ दरैयाबाट बेलबारी नगरपालिका-३ का २५ वर्षीय किरण राई र सोही नगरपालिका-११ का २२ वर्षीय रोमन राईलाई ३ ग्राम ९४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित मोटरसाइकलमा यात्रा गर्दै गर्दा पक्राउ गरिएको हो। अर्कोतर्फ, विराटनगर-१५ एक नम्बर ढाँटबाट नुवाकोट शिवपुरी नगरपालिका-४ का २६ वर्षीय रमेश गुरूङ १३ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
त्यस्तै, विराटनगर-१६ स्थितबाट धरान उपमहानगरपालिका-१३ निवासी ३६ वर्षीय तीर्थ राईलाई एभिल, डाईजेपाम, लुपिजेसिक र फेनारगन गरी विभिन्न ४० एम्पुल नियन्त्रित लागूऔषधसहित पक्राउ गरिएको छ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट पनि ७ सय मिलिग्राम खैरो हेरोइनसहित २ जना समुन गुरूङ (२७) र बुद्ध थिङ (२०) लाई प्रहरीले अटो चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ साहाटोलबाट बराहक्षेत्र नगरपालिका-१ का समिर राई र संजिव राई (२८/२८ वर्ष) लाई करिब ३१ किलो गाँजासहित पक्राउ गरिएको छ।
सुनसरीको धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट भने ७ जनालाई पक्राउ गरिएको छ। धरान-१५ बस्ने सुरेश गुरूङलाई ट्रामाडोल ३७ ट्याब्लेट र स्पासपेन ८२ ट्याब्लेटसहित, नरेश राईको कोठाबाट नरेश र अनिकेत राई (२३) तथा एक १६ वर्षीय किशोरलाई ट्रामाडोल २१८ ट्याब्लेटसहित पक्राउ गरिएको छ। धरान-८ सहिद रतन मार्ग बस्ने सनम परियारलाई २०-२० ट्याब्लेट ट्रामाडोल र स्पासपेनसहित, सडन रोड डेरा गरी बस्ने चन्द्र लिम्बुलाई २६६ ट्याब्लेट ट्रामाडोल र १० ट्याब्लेट स्पासपेनसहित तथा कुल बहादुर बान्ताबालाई ५ सय ग्राम गाँजासहित पक्राउ गरिएको छ।































