मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
वि.सं.२०८२ वैशाख १३ शनिवार
shares
काठमाडौं।मानव बेचबिखनमा संलग्न भई फरार रहेका सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ का ६७ वर्षीय चमारे उर्फ चमार तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको टोलीले उनलाई उनकै स्थायी ठेगाना खोङ्गेबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका अनुसार, चमार तामाङले काठमाडौं चाबहिलस्थित गलैचा कारखानामा काम गर्ने एक किशोरीलाई “यो काम गर्दा क्षयरोग लाग्ने खतरा हुन्छ, बरु हङकङ गएर सुनको व्यापार गरौं” भन्दै प्रलोभन देखाएर विश्वासमा पारी २०४४ पुस १९ गते काठमाडौँबाट दिल्ली हुँदै मुम्बई पुर्याएका थिए। त्यहाँ रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पीडितलाई भारतीय ८० हजार रुपैयाँमा बेचेर जबरजस्ती ७ वर्षसम्म वेश्यावृत्तिमा संलग्न गराइएको अनुसन्धानबाट खुलेको छ।
पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा चमार तामाङविरुद्ध जाहेरी दिएकी थिइन्। प्रारम्भिक अनुसन्धान पश्चात् सो मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो र २०५२ फागुन ८ गते त्यहाँ मुद्दा दर्ता भएको थियो। पछि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सो मुद्दाको सक्कल मिसिल प्राप्त भएको थियो।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






























