एक व्यवसायीले कर छलेको विषयमा तीन करोडभन्दा बढीको राजश्व चुहावट,चार जनाविरुद्ध विदेशी विनिमय अपचलनविरुद्धको मुद्दा

696
shares
Shine resunga department bank

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलले बुटवलका एक व्यवसायीले कर छलेको विषयमा तीन करोडभन्दा बढीको राजश्व चुहावट र कपिलवस्तुका चार जनाविरुद्ध विदेशी विनिमय अपचलनविरुद्धको मुद्दा चलाएको छ ।

आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख राजश्व अधिकृत विवेक घिमिरेका अनुसार भाञ्जा स्टोर्स एण्ड हाउसका प्रोप्राइटर बरकत अलि मियाँविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट गरेको प्रमाणका आधारमा मुद्दा दायर गरिएको हो ।

बुटवल उपमहानगरपालिका ६ राधाकृष्णपथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका संचालक मियाँविरुद्ध एक करोड पचपन्न लाख छैसठ्ठी हजार दुईसय एकासी रुपैयाँ बिगो र यसको शत प्रतिशत जरिवाना रकम एक करोड पचपन्न लाख छैसठ्ठी हजार दुईसय एकासी रुपैयाँ गरी तीन करोड एघार लाख बत्तिस हजार पाँचसय बयसठ्ठी रुपैयाँ असुल उपर गर्न तथा कानुन बमोजिम कैद सजायको मागदाबी लिई उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिहीबार नै मुद्दा दर्ता भएको उनले जनाएका छन् ।

यसैगरी विभागले विदेशी विनिमय अपचलन सम्बन्धी ‍कसूरमा कपिलवस्तुका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रमुख घिमिरेका अनुसार अनुसन्धानबाट देखिएको तथ्य र प्रमाणबाट प्रतिवादीहरु कपिलवस्तु शुद्धोधन ६, बिमिहाका वर्ष ३५ का राजेशकुमार बर्मा, शुद्धोधन ६, बिमिहाकै वर्ष २६ का राकेशकुमार बर्मा, कपिलवस्तु, मायादेवी १, इमिलियाका वर्ष २८ का हमीद मुसलमान, शुद्धोधन ६, बिमिहाका वर्ष ५६ का जंगबहादुर बर्मा (सोनार) विरुद्ध यस्तो मुद्दा दर्ता भएको हो ।

उनीहरुबाट बरामद भएको भारतीय मुद्रा ५०० दरका भारतीय नोट ४२३६ थानको २१ लाख १८ हजार र २०० दरका १०० थानको २०००० गरी एक्काइस लाख अठ्त्तिस हजार भारतीय मुद्रा अबैध रुपमा भारतबाट नेपालसम्म ओसारपसार गर्ने गरेकोले नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दरले चौत्तीस लाख चौबिस हजार सात बिगो कायम गरी प्रतिवादीहरुविरुद्ध मुद्दा दर्ता गरिएको घिमिरेले जनाएका छन् ।

त्यसैगरी विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको युपि५५एम०४५९ नम्बरको भारतीय गाडी विदेशी विनिमय अपचलनको कसूरमा प्रयोग भएको हुँदा उक्त सवारी साधनलाई कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम समेत जफतको मागदाबी लिई प्रतिवादीहरुसहित बिहीबार कपिलवस्तु जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको हो ।

everest Bank
Sharestha treating