अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नगरपालिकाका कर्मचारी काजमा
वि.सं.२०८२ जेठ २ शुक्रवार
shares
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रवीसे नगरपालिकामा कार्यरत महिला विकास निरीक्षक अञ्जु दाहाल ओझा २०७९ फागुनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काजमा कार्यरत रहेको खुलासा भएको छ । नगरपालिकामा महिलाको विकास र उत्थानमा काम गर्नुपर्ने उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काजमा राखेर जनताको काममा वाधा पुगेको जनप्रतिनिधिको भनाई छ ।
नगर प्रमुख बालकृष्ण बस्नेतको हस्ताक्षर रहेको पत्रअनुसार, निज ओझालाई २०७९ साल फागुन ४ गतेको निर्णयअनुसार आयोगमा काजमा काम गर्न अनुमति दिइएको थियो । तर, उनी अहिलेसम्म कार्यक्षेत्र नफर्किएपछि धेरै पटक पत्र लेखेर बोलाइएको थियो । कार्यकारी अधिकृतले पत्र लेखेर दरबन्दीमा फर्कन आग्रह गरेपनि उनले टेरेकी थिइनन् ।
स्थानीय तह सेवा ऐन, २०७९ को दफा १८ अनुसार, कर्मचारीलाई निज कार्यरत कार्यालयबाट अन्य मन्त्रालय, आयोग वा कार्यालयमा अधिकतम १ वर्ष ३ महिनाका लागि मात्र खटाउन सकिने व्यवस्था रहेको छ । सो अवधि समाप्त भएपछि बाह्रबिसे नगरपालिकाले उनलाई कार्य फिर्ता गरेको प्रमुख बस्नेतले जानकारी दिए । प्रमुख बस्नेतको हस्ताक्षरमा लेखिएको पत्रमा भनिएको छ, ‘अबको ७ दिनभित्र ओझा बाह्रबिसे नगरपालिकामा काजफिर्ता हुनहुन अनुरोध गरिएको छ ।’ अन्यथा नगरपालिकाबाट तलब तथा भत्ता भुक्तानी नहुने पत्रमा उल्लेख गरिएको छ ।
उक्त पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा पनि बोधार्थ पठाइएको छ ।

























