सांसद मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादर मुद्दा
वि.सं.२०८२ असार ५ बिहीवार
shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता प्रक्रिया अघि बढेको छ ।
चौधरी प्रतिनिधिसभामा दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । उनीविरुद्ध ५ करोड ४० लाख रुपैयाँ बराबरको चेक अनादर सम्बन्धी जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिमिल्सिनाले हुलाकमार्फत जाहेरी आएको पुष्टि गरे। “हामीले जाहेरी प्राप्त गरेका छौं, हाल अनुसन्धान भइरहेको छ,” उनले भने, “कुन शीर्षकमा मुद्दा अगाडि बढाउने भन्नेबारे कानुनी सल्लाह लिइँदैछ।”
प्रहरी स्रोतका अनुसार, चौधरीविरुद्ध बैंकिङ कसुर वा ठगी सम्बन्धी कसूरमा मुद्दा चलाउने विषयमा परामर्श भइरहेको छ । उजुरी दिने व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।































