अफ्रिकी स्वाइन फिभरले थाक्रेका १६ किसान परिवारको बंगुर पालनमा ठुलो क्षति, क्षतिपूर्ति र राहतको माग
वि.सं.२०८२ असार ९ सोमवार
shares
धादिङ, थाक्रे गाउँपालिका – अफ्रिकी स्वाइन फिभरको प्रकोपले थाक्रे गाउँपालिका–११ र ६ का किसानहरू अत्यन्तै पीडित बनेका छन्। व्यावसायिक बंगुर पालन गर्दै आएका किसानहरूले लामो समयदेखि मिहिनेत गरी पालिरहेका बंगुरहरू महामारीका कारण मरेका छन् भने बाँकी पनि संक्रमित अवस्थामा छन्।
कृषक जीवन ग्याल्बोका अनुसार, उनले बंगुर व्यवसायबाट जीवन धान्ने आशा बनाएका थिए। बंगुरहरू वच्चा उत्पादन गर्ने अवस्थामा पुगेका थिए, तर अहिले सबै नष्ट हुँदा साह्रै दुख लागेको छ। यदि राज्य, प्रदेश वा स्थानीय तहबाट केही क्षतिपूर्ति मिल्यो भने फेरि उठ्ने साहस पलाउँथ्यो, उनले भने।
त्यस्तै, प्रेम आलो, शिव राना, आशा लामा लगायत १६ किसान परिवारहरूले मिलेर पालिरहेका करिब ३२ वटा बच्चा पैदा गर्ने समय भएका माउ र अरु मासुको लागि तयार भएको बजारमा विक्रि गर्न ठिक पारिएको समेत १५० भन्दा बढी बंगुर नष्ट भएको छ । दैनिक बंगुर गाड्नुपर्ने बाध्यता आइपरेको छ भने किसानहरू आँशु पुछ्दै अझै बाँकी संक्रमित बंगुरहरू हेर्न विवश छन्।
स्थानीय प्राविधिक शाखा र जिल्ला पशु सेवा कार्यालय (भेटनरी) बाट हालसम्म कुनै ठोस पहल नआएकोप्रति किसानहरूले गुनासो गरेका छन्। उनीहरूले यस संकट समाधानका लागि राज्य निकायबाट तत्काल राहत, क्षतिपूर्ति र नियन्त्रण उपायको अपेक्षा गरेका छन्।
यसैगरी, वडा नं ७ का किसानहरू रेबिज नियन्त्रण नभएको कारणले पशुपालन व्यवसायमा ठूलो क्षति व्यहोर्नु परेको गुनासो गर्दै आएका छन्। किसानहरू भन्छन्, “समस्या समाधान गर्न सरोकारवाला निकाय मौन बस्दा हामी किसानहरु मारमा पर्नुपरेको छ।”
कृषकहरूको पीडा र सङ्घर्षप्रति स्थानीय तह, सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सबै पक्षलाई यथाशीघ्र सहयोग गर्न किसानहरूले अपील गरेका छन्।


























