गायिका एलिना चौहान र समीक्षा अधिकारीमाथि अश्लील टिप्पणी गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ, ३ दिनको म्याद थप
वि.सं.२०८२ असार १९ बिहीवार
shares
काठमाडौं ।गायिका एलिना चौहान र समीक्षा अधिकारीमाथि सामाजिक सञ्जालमार्फत भद्दा र आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ परेका कवि गुञ्जन राईमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
काठमाडौं जिल्ला अदालतले राईविरुद्ध थप अनुसन्धान गर्न ३ दिनको म्याद दिएको छ । साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि अदालतबाट आवश्यक म्याद लिएर प्रक्रिया अघि बढाइएको काठमाडौं दरबारमार्ग प्रहरी वृत्तले जनाएको छ ।
प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश अवस्थीका अनुसार, राईमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको छ ।
सामाजिक सञ्जालमा कलाकारहरूमाथि अश्लील र चरित्र हत्या हुने गरी अभद्र भाषा प्रयोग गरिएको भन्दै प्रहरीमा उजुरी परेपछि राईलाई पक्राउ गरिएको हो ।
हाल उनी काठमाडौंको दरबारमार्गस्थित प्रहरी बृत्तको हिरासतमा छन् । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ ।
यस घटनाले सामाजिक सञ्जालको दुरुपयोग तथा साइबर क्राइमसम्बन्धी कानुनी कार्यवाहीप्रति आम चासोसमेत बढाएको छ ।































