Banner ad for NADA AUTO SHOW -2026

उप प्रमुख र प्रशासकीय प्रमुख सहित ९ जना विरुद्ध भ्रष्टाचार आरोप

5.5K
shares

जनकपुर । धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना÷हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो । हँसपुर नगरपालिका–५ सुगा निकासदेखि कट्टीसम्मको पीसीसी ढलान योजनामा टुक्रा टुक्रा गरी रकम भुक्तानी गर्ने, गलत नापी गरी बढी भुक्तानी दिने, समय थप गर्दा कानुनी प्रक्रिया नअपनाउने, जमानत सुरक्षणमा लापरबाही गर्ने लगायतका गतिविधि भएको अनुसन्धानबाट खुलासा भएको हो ।

 

 

नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नगरसभाबाट अनुमोदित रु. १ करोड विनियोजन गरेको योजनाका लागि निर्माण व्यवसायी देव कन्स्ट्रक्सनसँग सम्झौता गरी काम गराइएको थियो । तर, स्थलगत निरीक्षणबाट प्रस्ट भएको विवरणभन्दा बढी मिटर काम देखाएर झण्डै ८ लाख बढी रकम भुक्तानी दिइएको, समयावधि सकिए पनि कार्यसम्पादन जमानत सुरक्षण नगरेको, १६ लाख ५० हजारको पेश्की असुल नगरी सम्झौता अन्त्य गरिएको देखिएको आयोगको दाबी छ ।

 

 

अनुसन्धानपछि आयोगले जम्मा रु. ५२ लाख ७२ हजार १६८.०३ बराबरको हिनामिना र आर्थिक हानि पु¥याएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीमाथि रु. ४४ लाख ९० हजारको बिगो दाबी गरेको छ भने, तत्कालीन निमित्त प्रशासकीय अधिकृत रामलोचन मण्डलमाति रु. ७ लाख ८१ हजारको बिगो दाबी गरेको छ ।

 

त्यस्तै, इन्जिनियर दिनेश कुमार मण्डलमाथि रु. ३६ लाख २२ हजारको बिगो दाबी गरेको छ भने, खरिदार शत्रुधन साहमाथि रु. २८ लाख ४० हजारको बिगो दाबी गरिएको छ । त्यसै गरी तत्कालीन लेखापाल नेत्र लुँगेली माथि रु. ५२ लाख ७२ हजारको बिगो दाबी गरिएको छ भने सव–इन्जिनियर विनोद कुमार मण्डलमाथि रु. ७ लाख ८१ हजारको बिगो दाबी गरिएको छ ।

 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विभिन्न दफाबमोजिम कैद, जरिवाना र बिगो असुलीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

civil hospital
Hams Hospitals