Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नाइमा मोबिलिटी एक्स्पो २०२५’ : घटिया गाडी, झुठा अफर र दर्शकविहीन महँगो मेला

2.4K
shares

काठमाडौँ राजधानीको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ दोस्रो दिन पनि पूर्णरूपीमा निराशाजनक देखिएको छ। आयोजकको करोडौँ लगानी, चम्किला गाडी र मोडलहरूका बाबजुद, मेला ‘फ्लप’ हुन पुगेको स्पष्ट देखिएको छ। पहिलो दिन नै खास उत्साह नजगाएको सो, दोस्रो दिन झन् झुर अवस्थामा पुगेको छ।

एक्स्पो स्थलमा दर्शकको उपस्थिति नगण्य रहँदा, सहभागी कम्पनीका प्रतिनिधिहरू स्टलमै हाई काढेर समय बिताइरहेका छन्। थोरै आएका दर्शकको ध्यान तान्न स्टलहरूमा डान्स कार्यक्रमको सहारा लिनु परेको छ, जसले अटो शोको स्तर र उद्देश्यमाथि प्रश्न उठाएको छ।

नाइमा अटो शो मा प्रदर्शित धेरै गाडीहरू कम गुणस्तरका रहेको, पुराना गाडीहरूलाई रंगरोगन गरेर नयाँको रूपमा चिप्लाइएको, अनि ‘बिग सेल’, ‘एक्सचेन्ज अफर’ र ‘वेस्ट स्पोट एक्सचेन्ज’ जस्ता प्रलोभन दिने मात्र काम गरिएको देखिन्छ।

थुप्रै ग्राहकहरूले नयाँको नाममा पाएको गाडी पुरानो भएको गुनासो गरेका छन्। “नयाँ जस्तो देखिने तर भित्र सडेका गाडी” भनेर केही उपभोक्ताले आलोचना गरेका छन्। अफरका नाममा सर्वसाधारणलाई ठग्ने रणनीति लिइएको उनीहरूको आरोप छ।

स्रोतका अनुसार अधिकांश गाडी भन्सार छुट वा भन्सार छलेर ल्याइएका हुन्छन्। गुणस्तरहीन गाडीहरू भन्सारसमेत नतिरी नेपाली बजारमा ‘लक्जरी’ को नाममा करोडौँमा बेच्ने गरिएको छ। वास्तवमा लागत मूल्य १० लाख नपुग्ने सवारीसाधन १ करोडभन्दा माथिको मूल्यमा बेच्ने काम भइरहेको उपभोक्तावादी अभियन्ताहरूको भनाइ छ।

मेला भित्र चिल्ला मोडलहरू, चम्किला बत्ती र ठुलो स्टेजको तामझाम त छ, तर भित्रको सामग्री भने खाली र गन्ध्याउने खालको छ। मोडलहरू राख्ने नाममा देखावटी सौन्दर्य प्रदर्शन गरिए पनि, दर्शकको नजर तान्नेभन्दा पनि आलोचना झेल्ने अवस्था देखिन्छ।

त्यसै गरी, मिडियामार्फत आलोचना दबाउने रणनीति पनि प्रयोग भइरहेको छ। ठुला मिडियामा करोडौँको विज्ञापन दिएर आलोचनालाई चुप लगाउने प्रयास हुँदै आएको छ। यस्तो प्रवृत्तिले स्वतन्त्र पत्रकारिता र पारदर्शिता दुवै माथि चोट पुर्‍याइरहेको छ।

‘नाइमा अटो शो’ किन यति भड्किलो बनाइन्छ? अर्बौँ रुपियाँ बराबरको लागत कहाँबाट आउँछ? त्यसको स्रोत के हो? पारदर्शी आर्थिक विवरण सार्वजनिक नगरेका यस्ता कार्यक्रमहरू उपभोक्ता हितभन्दा पनि केही ठुला व्यवसायीहरूको स्वार्थपूर्तिमा केन्द्रित छन् भन्ने आशङ्का बढ्दो छ।

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ ले नेपाली उपभोक्ताको विश्वासलाई झन् कमजोर बनाएको छ। महँगा टिकट, झुटा अफर, कमजोर गाडी, र झुटा प्रचारले भरिएको यो कार्यक्रमले उपभोक्तालाई मूर्ख बनाउने प्रयास गरेको छ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

 

नाइमा अटो शोको हरिविजोग,युवती शो कि नाइमा अटो शो

 

civil hospital
Hams Hospitals