बिक्री नभएपछि नाईमा अटो शो को म्याद थपियो

5.5K
shares

काठमाडाैं। साउनको मध्यतिर काठमाडौंको भृकुटीमण्डपमा चहलपहलको अपेक्षा गरिएको थियो। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘मोबिलिटी एक्स्पो २०२५’ को नाममा आयोजना गरेको महत्त्वाकांक्षी मेला साउन २१ गतेबाट सुरु भयो।

 

उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले एक समाराेहकाबीच भव्य उद्घाटन गरेको यो एक्स्पाे रङ्गीन ब्यानर, चम्किला पोस्टर, अनि विज्ञापनमा देखाइएका भीडका दृश्यहरूले यसलाई वर्षकै आकर्षक मोटर शो को रूपमा प्रस्तुत गर्ने सपना बोकेको जस्तो देखिन्थ्यो। तर वास्तविकता भने ठिक विपरीत रह्यो- सुरुवाती घण्टाबाटै खाली स्टल, छिटपुट अवलोकनकर्ता र व्यवसायीहरूको निराश अनुहार मात्र देखिन्थ्यो।

 

 

पहिलो दिन नै व्यापार सुस्त, भीड न्यून र वास्तविक अवलोकनकर्ताको संख्या नगण्य रहँदा महँगो स्टल भाडा तिरेर बसेका व्यापारीहरू निराश भए। धेरैजसो स्टलहरूमा विक्रेताभन्दा बढी बेरोजगार घुम्ने, फोटो खिच्ने वा समय कटाउने मानिसहरूको जमघट बढी देखिन्थ्यो।

 

भृकुटीमण्डपमा उपस्थित एक मोटरसाइकल डिलरले गुनासो सुनाए- ‘अपेक्षा गरेका जति ग्राहकले पनि बुकिङ गरेनन्, स्टलको भाडा मात्र होइन, यहाँ बस्दा भएको खर्चसमेत उठ्ने अवस्था छैन। नाइमासँग सहकार्य गरेर ठुलो धोका खाइयो।’ यस्तै गुनासो गर्नेहरू धेरै थिए, जसले नाइमामाथि कार्यक्रमको व्यवस्थापन र प्रचारप्रति गम्भीर प्रश्न उठाए।

 

मेला साउन २५ गते सकिनुपर्नेमा आयोजकले अचानक २६ गते सोमबारसम्म लम्ब्याउने घोषणा गर्‍यो। आयोजकको तर्क थियो कि यसले ग्राहकलाई अझ समय दिनेछ, तर व्यापारीहरूलाई यो निर्णय अलिकति पनि मन परेन।

 

यति मात्र नभई, केही व्यापारीहरूले नाइमामाथि क्रेताको संख्या कृत्रिम रूपमा बढाएर प्रचार गरेको आरोप पनि लगाए। यो आरोप असन्तुष्ट व्यापारीको भावनात्मक प्रतिक्रिया मात्र नभई कार्यक्रम स्थलको वास्तविक दृश्यसँग मेल खाने कुरा हो, किनभने विज्ञापनमा देखाइएको जस्तो भीड वास्तविकतामा कहिल्यै देखिएन। यसरी भ्रामक प्रचार र तथ्याङ्कले आयोजकको विश्वसनीयतामै चोट पुर्‍यायो। अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय व्यापारीहरूले समेत खुलेआम घोषणा गरे कि अबदेखि नाइमासँग कुनै सहकार्य गर्ने सोच छैन।

 

मेलाको वातावरण हेर्दा विडम्बना झन् प्रस्ट देखिन्थ्यो। एकातिर चम्किला गाडी र मोटरसाइकल प्रदर्शनमा राखिएका थिए, तर वरिपरि ग्राहकको चहलपहलको साटो विक्रेताहरूको उकुसमुकुस मात्र थियो। कतिपय स्टलमा प्रतिनिधिहरू मोबाइलमा व्यस्त, कतै स्टलमै गफ गर्दै समय काटिरहेका देखिन्थे। सामान्य दर्शकहरूले समेत टिप्पणी गरे कि यो व्यापारिक मेला भन्दा पनि घुमफिर गर्न आएका भेटघाट स्थल जस्तो मात्र देखिन्छ।

 

यस असफलताका कारणहरू धेरै छन्। लक्षित ग्राहकसम्म पुग्ने रणनीति कमजोर रह्यो, विज्ञापन र प्रचारमा रकम खर्च भए पनि त्यो सही स्थान र सही समूहमा केन्द्रित भएन। भृकुटीमण्डपको समय र मौसमले पनि भीडमा असर पारेको छ, साउनको वर्षा र अव्यवस्थित पार्किङले सम्भावित आगन्तुकलाई हतोत्साहित गर्‍यो। मूल्य संरचना र विशेष अफरको कमीले पनि ग्राहकलाई आकर्षित गर्न सकेन।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

नाइमा मोबिलिटी एक्स्पो २०२५’ : घटिया गाडी, झुठा अफर र दर्शकविहीन महँगो मेला

 

civil hospital
Hams Hospitals