सन्दर्भ निजामती सेवा दिवस २०८२:नैतिकता, इमान्दारिता, व्यावसायिकता र योग्यता प्रणाली सुदृढीकरणका आयामहरु
वि.सं.२०८२ भदौ २२ आइतवार
shares
निजामती सेवा कुनै पनि राष्ट्रको प्रशासनिक संरचनाको मेरुदण्ड हो। यसले शासन प्रणालीलाई गतिशील, पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ। लोकतान्त्रिक शासन व्यवस्थामा जनताको सेवामा समर्पित प्रशासनले मात्र सुशासन र विकासलाई दिगो बनाउन सक्छ। यस सन्दर्भमा पेशागत व्यावसायिकता (Professionalism) र पेशागत नैतिकता (Professional Ethics) निजामती सेवाको आधारभूत स्तम्भ मानिन्छन्। व्यावसायिकता भन्नाले आवश्यक ज्ञान, दक्षता, सीप र परिणाममुखी कार्यसम्पादनलाई जनाउँछ भने नैतिकता भन्नाले निष्पक्षता, इमानदारी, पारदर्शिता, सेवाभाव र नियम–कानूनको सम्मानलाई बुझाउँछ।
नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनसँगै निजामती सेवाको भूमिका अझ बढी जटिल र चुनौतीपूर्ण बनेको छ। संघ, प्रदेश र स्थानीय तहबीचको कार्यविभाजन, बहुआयामिक सार्वजनिक सेवाको माग, नागरिक सचेतना र प्राविधिक विकासले निजामती सेवामा उच्चस्तरीय व्यावसायिकता र नैतिकताको आवश्यकता थप महत्त्वपूर्ण बनाएको छ। पेशागत नैतिकता भन्नाले कुनै पनि पेशामा संलग्न व्यक्तिले पालन गर्नुपर्ने मूल्य, सिद्धान्त र आचरणका मापदण्डलाई जनाउँछ। यसले पेशागत जीवनलाई मर्यादित, अनुशासित र विश्वासयोग्य बनाउने आधार तयार गर्छ।
पेशागत नैतिकता केवल व्यक्तिगत चरित्रसँग मात्र सम्बन्धित हुँदैन, यो संस्थागत छविलाई पनि प्रत्यक्ष असर पुर्याउँछ। निजामती सेवामा कार्यरत कर्मचारीले इमान्दारी, पारदर्शिता, निष्पक्षता र उत्तरदायित्वपूर्ण ढंगले काम गरेमा सेवाग्राहीको विश्वास बढ्छ र सुशासन प्रवर्द्धन हुन्छ। पेशागत नैतिकता कुनै पनि पेशाको आत्मा हो, जसले कार्यशैलीलाई सदैव सेवा–मुखी, न्यायपूर्ण र जिम्मेवार बनाउँछ। नैतिकता विहीन पेशा केवल स्वरूपमा मात्र जीवित देखिए पनि त्यसले समाजमा दीर्घकालीन योगदान दिन सक्दैन। त्यसैले प्रत्येक व्यक्तिले आफ्नो पेशागत आचरणमा नैतिक मूल्यलाई प्रमुख आधार मान्नुपर्छ।
पेशागत नैतिकता विभिन्न अवयवहरूको संयोजनबाट पूर्ण हुन्छ। यसका प्रमुख अवयवहरूमा इमान्दारी पहिलो स्थानमा पर्छ, जसले कुनै पनि पेशामा विश्वास र भरोसा कायम गर्छ। दोस्रो, उत्तरदायित्व हो, जसले व्यक्तिलाई आफ्नो कार्यप्रति जवाफदेही र जिम्मेवार बनाउँछ। तेस्रो, निष्पक्षता र न्यायपूर्ण व्यवहार हो, जसले सबैलाई समान अवसर दिने र पक्षपातरहित ढंगले निर्णय गर्ने आधार तयार गर्छ। चौथो, पारदर्शिता, जसले कामकाजलाई खुला र जनमुखी बनाउँछ। पाँचौं, अनुशासन र समयपालन हुन्, जसले कार्यशैलीलाई व्यवस्थित र प्रभावकारी बनाउँछन्। साथै, सेवा भावना र समर्पण पनि महत्वपूर्ण अवयव हुन्, जसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज वा सेवाग्राहीको हितलाई प्राथमिकता दिन प्रेरित गर्छ। यी सबै अवयवहरूको अभ्यासले मात्र कुनै पनि पेशालाई आदर्श र दिगो बनाउन सक्छ। पेशागत नैतिकताको अवयवहरूको अवलम्बन बिना पेशागत जीवनले दीर्घकालीन विश्वास, सम्मान र सफलताका उचाइहरू हासिल गर्न सक्दैन।
सार्वजनिक प्रशासन र निजामती सेवा समाज र राष्ट्रको प्रशासनिक मेरुदण्ड भएकाले यस क्षेत्रमा पेशागत नैतिकता अत्यन्तै आवश्यक हुन्छ। सार्वजनिक प्रशासनले प्रत्यक्ष रूपमा नागरिकको जीवनसँग सम्बन्धित सेवा र सुविधा प्रदान गर्ने जिम्मेवारी लिन्छ, जहाँ पारदर्शिता, जवाफदेहिता र निष्पक्षता अनिवार्य हुन्छन्। यदि निजामती सेवामा आचरण र नैतिकता कमजोर भयो भने भ्रष्टाचार, पक्षपात, ढिलासुस्ती र अकर्मण्यता बढ्छ, जसले सुशासनलाई कमजोर बनाउँछ।
पेशागत नैतिकताले कर्मचारीलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित र राष्ट्रको विकासलाई प्राथमिकता दिन प्रेरित गर्छ। यसले सेवाग्राहीको विश्वास जित्न मद्दत गर्छ र प्रशासनलाई विश्वासिलो र जवाफदेही बनाउँछ। साथै, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको सुनिश्चिततामा पनि पेशागत नैतिकताको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले, सार्वजनिक प्रशासन र निजामती सेवामा पेशागत नैतिकता केवल व्यक्तिगत गुण मात्र नभई संस्थागत प्रभावकारिता, सुशासन र राष्ट्रिय प्रगतिको अपरिहार्य आधार हो।
पेशागत व्यावसायिकता भन्नाले कुनै पनि पेशामा संलग्न व्यक्तिले आवश्यक ज्ञान, सीप, दक्षता र आचरणका मापदण्डहरूलाई अपनाएर आफ्नो कार्य जिम्मेवारीपूर्वक सम्पन्न गर्ने गुणलाई जनाउँछ। यसले कामप्रति इमानदारी, समयपालन, अनुशासन, दक्षता र उत्तरदायित्वलाई जोड दिन्छ। व्यावसायिकताले व्यक्तिलाई मात्र होइन, सम्पूर्ण संस्थालाई पनि प्रभावकारी र विश्वासिलो बनाउँछ। उदाहरणका लागि, निजामती सेवामा व्यावसायिकता देखिएमा सेवाग्राहीले छिटो, सहज र गुणस्तरीय सेवा पाउँछन् भने, स्वास्थ्य वा शिक्षाजस्ता क्षेत्रमा व्यावसायिकताको कमी भयो भने नागरिकको जीवन नै प्रभावित हुन्छ। पेशागत व्यावसायिकता भनेको केवल सीप प्रदर्शन मात्र होइन, त्यसलाई नैतिक मूल्य, आचारसंहिता र सेवा भावनासँग जोडेर प्रयोग गर्नु पनि हो। यसैले, पेशागत व्यावसायिकता कुनै पनि राष्ट्रको सुशासन, सेवा वितरणको गुणस्तर र दीर्घकालीन विकासको आधारशिला हो।
पेशागत व्यावसायिकता प्रवर्द्धनका उपायहरू
१. नियमित तालिम र क्षमता विकास – निरन्तर सिकाइका अवसरले कर्मचारीलाई अद्यावधिक बनाउँछ।
२. आचरण संहिता कडाइका साथ लागू गर्ने – नैतिकता र व्यावसायिक मान्यतामा सम्झौता नगरी आचरणलाई व्यवहारमा उतार्नुपर्छ।
३. राजनीतिक हस्तक्षेप नियन्त्रण गर्ने – प्रशासनलाई स्वतन्त्र र निष्पक्ष बनाउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्छ।
४. प्रेरणा र प्रोत्साहन – व्यावसायिक सेवकलाई योग्यताको आधारमा पदोन्नति र पुरस्कार प्रदान गर्नुपर्छ।
५. पारदर्शी र उत्तरदायी प्रणाली – संस्थागत स्तरमै जवाफदेहिताको व्यवस्था गर्दा व्यावसायिकता बढ्छ।
सार्वजनिक प्रशासन र निजामती सेवा कुनै पनि राष्ट्रको प्रशासनिक मेरुदण्ड हो। यसले प्रत्यक्ष रूपमा नागरिकलाई सेवा प्रवाह गर्ने भएकाले यस क्षेत्रमा पेशागत नैतिकता अझै अपरिहार्य हुन्छ। यसको आवश्यकता निम्न कारणले स्पष्ट हुन्छः
१. सुशासन प्रवर्द्धनका लागि – नैतिक कर्मचारीले पारदर्शी, निष्पक्ष र जवाफदेही ढंगले काम गर्ने भएकाले सुशासन सुनिश्चित हुन्छ।
२. भ्रष्टाचार नियन्त्रणका लागि – पेशागत नैतिकताले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता दिने भएकाले भ्रष्टाचार, ढिलासुस्ती र दुरुपयोग नियन्त्रण हुन्छ।
३. सेवाग्राहीको विश्वास जित्न – नागरिकले प्रशासनलाई विश्वासिलो मान्न, नैतिकता र आचरणको भूमिका प्रमुख हुन्छ।
४. लोकतन्त्र र कानुनी शासन सुदृढ गर्न – कानुनी शासनको आधार निष्पक्षता र जवाफदेहिता हो, जुन केवल नैतिकतामय सेवाबाट सम्भव हुन्छ।
५. संस्थागत कार्यक्षमता बढाउन – व्यावसायिक दक्षता र अनुशासनले संस्थागत उद्देश्यहरू प्रभावकारी रूपमा पूरा गर्न मद्दत पुर्याउँछ।
६. राष्ट्रको विकासमा योगदान गर्न – नीति र योजनाको सफल कार्यान्वयन केवल नैतिक र व्यावसायिक कर्मचारीमार्फत सम्भव हुन्छ।
व्यावसायिकता र नैतिकताको आवश्यकता
१. सुशासन सुनिश्चित गर्न – पारदर्शी, जवाफदेही र उत्तरदायी प्रशासनका लागि व्यावसायिकता र नैतिकता दुवै आवश्यक हुन्छ।
२. भ्रष्टाचार नियन्त्रण गर्न – इमानदारी र व्यावसायिक दक्षता मिलेर मात्र भ्रष्टाचारविरुद्ध प्रभावकारी लड्न सकिन्छ।
३. नागरिकको विश्वास कायम गर्न – जनताले प्रशासनलाई विश्वासिलो मान्दा मात्र लोकतन्त्र सबल हुन्छ।
४. विकासात्मक योजना कार्यान्वयनमा सफलता पाउन – दक्ष र नैतिक कर्मचारीमार्फत मात्र स्रोतको सही उपयोग र विकासको दिगोपन सम्भव हुन्छ।
५. अन्तर्राष्ट्रिय छवि बनाउन – व्यावसायिक र नैतिक प्रशासनले राष्ट्रको छवि विश्वसामु उजागर गर्छ।
पेशागत नैतिकता प्रवर्द्धनका उपायहरू
१. नियमित तालिम र क्षमता विकास कार्यक्रम सञ्चालन गरी कर्मचारीलाई अद्यावधिक र दक्ष बनाउने।
२. आचरण संहिता कडाइका साथ कार्यान्वयन गर्ने र उल्लंघन गर्ने व्यक्तिलाई दण्डको व्यवस्था गर्ने।
३. योग्यता र मेरिटमा आधारित नियुक्ति तथा पदोन्नति प्रणाली लागू गर्ने।
४. पारदर्शी र जवाफदेही प्रशासनिक प्रणाली विकास गर्ने।
५. राजनीतिक हस्तक्षेप न्यून गर्ने गरी कानुनी र नीतिगत व्यवस्था गर्ने।
६. प्रेरणा र प्रोत्साहनको व्यवस्था गरेर नैतिक आचरण गर्ने कर्मचारीलाई सम्मानित गर्ने।
वर्तमान अवस्था
नेपालको निजामती सेवामा व्यावसायिकता र नैतिकताको अवस्था मिश्रित देखिन्छ।
- एकातिर, विगत केही दशकमा प्रशिक्षण प्रणाली, मानव संसाधन व्यवस्थापन, सूचना प्रविधिको प्रयोग र सेवा प्रवाहमा जनमुखी सुधार मार्फत व्यावसायिकताको आधार बलियो बन्दै गएको छ।
- कर्मचारीमा शैक्षिक योग्यताको स्तर उच्च भएको छ, नयाँ पुस्ता प्राविधिक ज्ञानमा सक्षम हुँदै गएको छ।
- सार्वजनिक सेवा आयोगमार्फत प्रतिस्पर्धात्मक प्रवेश प्रणालीले केही हदसम्म पारदर्शिता कायम गरेको छ।
- अर्कोतर्फ राजनीतिक हस्तक्षेप, सरुवा र पदस्थापनामामा अवसरवाद, आचार संहिता कार्यान्वयनको कमजोरी, ढिलासुस्ती र अकर्मण्यता, जनताको सेवाभन्दा व्यक्तिगत स्वार्थमा बढी ध्यान दिने प्रवृत्ति बढ्दै गैरहेको छ ।
अवसरहरू
१. संविधानिक र कानुनी व्यवस्था – नेपालको संविधान, निजामती सेवा ऐन र नियमावलीहरूले व्यावसायिकता र नैतिकताको आधारभूत ढाँचा तयार गरेका छन्।
२. सूचना प्रविधि – ई–गभर्नेन्स, डिजिटल सेवा प्रवाह र अनलाइन प्रणालीले पारदर्शिता बढाउन अवसर दिएको छ।
३. अन्तर्राष्ट्रिय अभ्यास – सुशासन, व्यावसायिकता र नैतिकतासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू लागू गर्ने अवसर नेपालसँग छ।
४. शिक्षित जनशक्ति – नयाँ पुस्ताका कर्मचारीहरू उच्च शिक्षा र प्राविधिक दक्षतासहित सेवामा प्रवेश गर्दैछन्।
५. सुधार कार्यक्रमहरू – सार्वजनिक प्रशासन सुधार कार्यक्रम, कार्यसम्पादन सम्झौता (Performance Contract), र क्षमता विकास तालिमले व्यावसायिकतालाई बढाउने सम्भावना ल्याएका छन्।
चुनौतीहरू
१. राजनीतिक हस्तक्षेप – सरुवा र पदस्थापनामा राजनीतिक दबाबले व्यावसायिकता कमजोर पार्छ।
२. भ्रष्टाचार र अनियमितता – व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिले नैतिकतामा धक्का पुर्याएको छ।
३. प्रेरणाको अभाव – इमानदार र व्यावसायिक कर्मचारीलाई प्रोत्साहन र योग्यताको आधारमा पदोन्नति नपाइने समस्या छ।
४. स्रोत र प्रविधिको कमी – ग्रामीण र स्थानीय तहमा स्रोत, जनशक्ति र प्राविधिक पूर्वाधारको कमीले सेवा प्रवाहमा समस्या उत्पन्न गरेको छ।
५. आचरण संहिताप्रति बेवास्ता – कागजमा मात्र सीमित आचरण संहिता व्यवहारमा लागू हुन सकेको छैन।
६. तालिम र निरन्तर सिकाइको कमी – कर्मचारीलाई अद्यावधिक बनाउन नियमित र व्यवहारिक तालिम प्रणाली अझै कमजोर छ।
सुधारका क्षेत्रहरू
१. योग्यतामा आधारित मानव संसाधन व्यवस्थापन – विशेष गरि सरुवा र पदस्थापनामा योग्यतालाई प्रधानता दिनु।
२. आचरण संहिता कार्यान्वयन – उल्लंघन गर्नेमा कडाभन्दा कडा कारबाही गर्ने व्यवस्था गर्नुपर्छ।
३. पारदर्शी प्रणाली विकास – ई–गभर्नेन्स र अनलाइन प्रणालीलाई अझै सशक्त बनाउनुपर्छ।
४. प्रेरणा र प्रोत्साहनको व्यवस्था – व्यावसायिक र नैतिक कर्मचारीलाई पुरस्कार र सम्मान दिनु।
५. राजनीतिक हस्तक्षेप नियन्त्रण – कानुनी र नीतिगत संरचनालाई बलियो बनाउँदै प्रशासनलाई स्वतन्त्र बनाउनु।
निजामती सेवा दिवसले नेपालमा सार्वजनिक प्रशासनमा पेशागत मूल्य र दक्षता प्रवर्द्धन गर्ने अवसर मात्र नभई प्रशासन सुधारको दिशामा चिन्तन गर्ने मौकाको रूपमा पनि काम गर्छ। यस अवसरले हाम्रा कर्मचारीलाई मात्र सम्मानित गर्दैन, सार्वजनिक सेवा वितरणमा योग्यता प्रणाली, पेशागत नैतिकता, इमान्दारिता र पेशागत व्यावसायिकताबीचको अन्तर्सम्बन्धलाई पुनः मूल्याङ्कन गर्ने अवसर पनि प्रदान गर्दछ। योग्यता प्रणालीले दक्ष र योग्य व्यक्तिलाई चयन, नियुक्ति र पदोन्नतिमा प्राथमिकता दिन्छ, जसले कर्मचारीमा नैतिक जिम्मेवारी र इमान्दार कार्यशैली प्रवर्द्धन गर्छ। पेशागत नैतिकता र इमान्दारिता कर्मचारीलाई आफ्नो कर्तव्यप्रति उत्तरदायी बनाउँछ भने पेशागत व्यावसायिकता कार्यको गुणस्तर, दक्षता र परिणाममुखीता सुनिश्चित गर्छ। यी चारवटै तत्व आपसमा घनिष्ठ रूपमा जोडिएका छन्; कुनै एकमा कमजोरी भए मात्र प्रशासनिक प्रणालीको प्रभावकारिता कमजोर हुन्छ।
नेपालको सार्वजनिक प्रशासन र निजामती सेवामा योग्यता प्रणाली आवश्यक छ। यसले केवल कर्मचारीको चयन र पदोन्नतिमा मात्र होइन, सम्पूर्ण प्रशासनिक प्रणालीलाई पारदर्शी, परिणाममुखी र दीगो बनाउन सहयोग पुर्याउँछ। वर्तमानमा नेपालमा केही सुधारका प्रयास भए पनि राजनीतिक हस्तक्षेप, अवसरवाद, तालिम प्रणालीको कमी र आचरण संहिताको कमजोर कार्यान्वयन चुनौती बनेका छन्। यी चुनौतीहरूको समाधान गर्दै योग्यता प्रणालीलाई बलियो बनाउनु मात्र नागरिकमैत्री, निष्पक्ष र प्रभावकारी प्रशासन सुनिश्चित गर्ने आधार हो।योग्यता प्रणाली अपनाउँदा सुशासन, सेवा गुणस्तर, नागरिकको विश्वास र दीगो विकास सम्भव हुन्छ।
यसैले, नेपालको प्रशासन सुधारको मुख्य आधारमा योग्यता प्रणालीलाई केन्द्रविन्दु बनाउनु अपरिहार्य छ।सुशासन, पारदर्शी सेवा प्रवाह र दीगो विकास केवल योग्य, नैतिक, इमान्दार र पेशागत व्यावसायिक कर्मचारीको माध्यमबाट मात्र सुनिश्चित गर्न सकिन्छ। यसैले, हरेक निजामती सेवकको दक्षता र आचरण मूल्याङ्कन गर्दै योग्यता प्रणालीको निरन्तर सुधार र पालन नै प्रभावकारी प्रशासन र राष्ट्रको समग्र प्रगतिका लागि आधारशिला हो।निजामती सेवा दिवसमा यी पक्षहरुमा व्यापक विमर्श भै वांकी ३६४ दिन यसको कार्यान्वयन तत्परता देखिनु आवश्यक छ ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्



























