भूमि व्यवस्था विभागमा दलाल तन्त्रको दखल, महानिर्देशक रेग्मी र अर्यालको अवैध असुली
वि.सं.२०८२ भदौ २३ सोमवार
shares
काठमाडौँ । भूमि व्यवस्था तथा अभिलेख विभागमा सरुवा–बढुवामा दलाल र बिचौलियाको चङ्गुल झनै कडा बन्दै गएको देखिएको छ । विभागभित्र कर्मचारी प्रशासनभन्दा बढी दलाल तन्त्रको प्रभाव देखिन थालेपछि कर्मचारीहरूको मनोबल नै कमजोर भएको भन्दै आलोचना भइरहेको छ ।
विभागमा हाल महानिर्देशक शिवप्रसाद रेग्मी र कर्मचारी प्रशासनमा उपसचिव टेकराज अर्याल छन् । उनीहरूको नाम सरुवा प्रक्रियामा बिचौलियासँग मिलेमतो गरेको जोडिन थालेको धेरै भयो । स्रोतका अनुसार कुन कर्मचारी कहाँ सरुवा हुन्छ भन्ने सूची नै दलाल र माफियाले तयार पारेर रेग्मी र अर्याललाई बुझाउने गरेको छ । त्यसैको आधारमा कर्मचारी सरुवा हुने गरेको भन्दै असन्तुष्टि बढेको हो ।
सरुवा प्रक्रियामा प्रत्यक्ष संलग्न कर्मचारीहरूको भनाइमा, अब त कर्मचारीहरूलाई आफू कहाँ पठाइँदै छ भन्ने थाहा विभागबाट हैन, दलाल र बिचौलियामार्फत मात्रै पाउने अवस्था आएको छ । यसरी हुने अनियमितताले कर्मचारी प्रशासनको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ ।
यता, केही समयअघि महानिर्देशक अर्याल स्वयं सरुवाको चाहनमा थिए । उपसचिव अर्याललाई सरुवा गर्ने–नगर्ने भन्ने विषयमा दलाल र राजनीतिक पहुँच नै निर्णायक हुने स्थितिसम्म पुगेको देखिन्छ । सरुवा भए पनि बदर गर्न अर्यालले समेत विभिन्न दलका नेताहरूको घर–कोठा धाएको समाचार सार्वजनिक भएपछि विभागकै विश्वसनीयता थप शङ्कास्पद बनेको छ ।
रेग्मी र अर्याल मिलेर ‘पैसा आउने हो भने’ जुनसुकै कर्मचारीलाई मालदार अड्डामा पठाउने र रकम नआउनेलाई दुर्गम वा प्रभावहीन कार्यालयमा थमाउने गरेका छन् । यसरी हुने ‘बार्गेनिङ’मा दलालहरूको ठुलो भूमिका रहेको एक कर्मचारीले बताए ।धेरैजसो कर्मचारीले सरुवाको प्रक्रियामा बिचौलियालाई भारी रकम बुझाउनुपर्ने बाध्यता छ ।
यस्तो प्रवृत्तिले विभागभित्रै मात्र नभई समग्र कर्मचारी प्रशासनमा गम्भीर असर पारिरहेको छ । कर्मचारीलाई पारदर्शी ढङ्गले सरुवा गर्ने राज्यको दायित्व पूरा नगरी दलाल र बिचौलियालाई नै जिम्मा दिने हो भने प्रशासनिक सुधार सम्भव हुँदैन ।
विभागभित्रको वर्तमान अभ्यासलाई ‘कर्मचारी प्रशासन भन्दा दलाल तन्त्रको दखल’ भनेर व्याख्या गर्न थालिएको छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
































