कोमल वलीको पीडा : “जीवनभरको पसिना र सपना खरानी”
वि.सं.२०८२ भदौ २६ बिहीवार
shares
रुपन्देही । रुपन्देही । नेकपा एमालेकी केन्द्रीय नेतृ तथा पूर्वसांसद कोमल वलीले आफ्नो जीवनभरको पसिना र सपना जलेर खरानी बनेको पीडामाथि भावुक स्टाटस सार्वजनिक गरेकी छिन्।
जेन-जी आन्दोलनका क्रममा तुलसीपुरमा सञ्चालन हुँदै आएको उनको होटलमा आगो लगाइएपछि सामाजिक सञ्जालमार्फत मनको पीडा पोख्दै आक्रोश व्यक्त गरेकी हुन् ।उनले लेखेकी छन्, ‘हामी बामे सर्दै थियौँ तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो । मैले सधैँ साथ दिएको उमेर समूह जेन-जीको आन्दोलनको आवरणमा मेरो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरूलाई कहिल्यै भलो हुने छैन ।’
जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी उनले निर्दोष बालबालिकाले आन्दोलनमा अनाहकमा ज्यान गुमाउँदा आफू निकै पीडामा रहेको उल्लेख गरेकी छिन् ।वलीले आफूले सञ्चालन गर्दै आएकी होटल कुनै प्रतिस्पर्धाका लागि नभई गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने र सबैलाई सँगसँगै समृद्धिको बाटोमा अघि बढाउने सपना बोकेको परियोजना भएको बताइन् ।
रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा ऋणसहित खडा भएको होटल खरानी पारिएकोमा उनले दुःख पोखेकी हुन् ।
उनले आफ्नो बाल्यकालदेखि गायन, खेलकुद र रेडियो नेपालमार्फत देश चिनाउने अवसर पाएको अनुभव स्मरण गर्दै १८ वर्ष रेडियो नेपालमा सेवा गरेपछि राजनीति रोजेको बताइन् । राष्ट्रिय सभामा सांसद रहँदा सेवामुखी जीवन बिताउने संकल्पसहित काम गरेको बताउँदै उनले आफू इमानदार, निष्ठावान् र भ्रष्टाचारमुक्त जीवन जिउँदै आएको उल्लेख गरिन् ।
‘यदि म भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु,’ भन्दै उनले आर्थिक प्रलोभनमा कहिल्यै नपरेको, कसैलाई टिकट काट्न नलगाएको र उपचार खर्चका नाममा सुविधा नलिएको दाबी गरिन् ।२०७९ सालको निर्वाचन जित्न नसके पनि करिब ३० हजार नागरिकको भावना जितेकोमा आफू गर्भित रहेको उनले स्मरण गरिन् ।
तर उनले जेन-जी आन्दोलनको नाममा भएको तोडफोड र आगजनीप्रति प्रश्न गर्दै भनिन्, ‘के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन-जीको क्रान्ति हो ? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ? पानीको सेवा दिइरहेका ट्रक र गाडी जलाउँदा हात काँपेनन् ?’
वलीले यसलाई योजनाबद्ध अपराध भन्दै माओवादीहरूले २०६१ सालतिर पनि आफ्नो घर जलाएको, लुटपाट गरेको र सात वर्षसम्म जग्गा कब्जा गरेको स्मरण गरिन् । आमा त्यसबेलादेखि नै बिरामी भएको बताउँदै उनले फेरि पनि नयाँ पुस्ताले उही पाप दोहोर्याएको आरोप लगाइन् ।
उनले आन्दोलनको आडमा भएको विनाशलाई ‘एक निष्कलङ्क, गरिखाने चेलीको रगत पसिना चुसेर गरिएको महापाप’ भन्दै चेतावनी दिँदै भनिन्, ‘जब जब मेरो गीत ‘तुलसीपुरमा म जाँदाखेरि’ बज्नेछ, तिम्रा लुट्ने हात काँप्नेछन् । यो देश बाँकी रहने छ, कानुनी शासन चल्ने छ र तिमीहरू कानूनको कठघरामा उभिनुपर्नेछ ।’
आफ्नो सपना खरानी बनाउन सकिए पनि आत्मसम्मान र देशप्रतिको मायालाई खरानी बनाउन नसकिने उल्लेख गर्दै उनले पापको परिणाम भोग्नै पर्ने चेतावनी दिइन् ।


























