विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन

675
shares

 

विषय प्रवेश

नेपालका विभिन्न भू–भागमा शनिबार दिउँसोदेखि सुरु भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने अनुमान गरिएको छ। मौसमविद्हरूले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै जोखिमयुक्त क्षेत्रमा यात्रा नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्। सामान्य झरीकै समयमा पनि संवेदनशील भू–भागमा समस्या देखिने भएकाले यस पटकको भारी वर्षामा स्थिति अझ जटिल बन्दैछ।भारतको उडिसा नजिकै विकसित भएको मौसमी प्रणालीले मधेश प्रदेशको ठूलो भू–भागलाई प्रभावित गरेको छ । विशेष गरी वीरगञ्जदेखि जनकपुरसम्म व्यापक वर्षा भएको छ भने बुटवल, भैरहवा, चितवन, मकवानपुर, हेटौंडा, काठमाडौं, गोरखा र तनहुँसम्म यसको प्रभाव परेको छ।

 

विपद् व्यवस्थापन विज्ञहरूले अति आवश्यक नभएसम्म जोखिमयुक्त सडक मार्ग प्रयोग नगर्न, नदी–खोला नजिक बसोबास गर्ने नागरिकलाई सतर्क रहन, र स्थानीय प्रशासनले जारी गरेका निर्देशनहरूलाई पालना गर्न विशेष अनुरोध गरेका छन्। बीपी राजमार्ग, कान्तिपथ, हेटौंडा–काठमाडौं मार्गमा रातिको यात्रा रोक लगाइएको छ। यस कारण, नागरिकहरूलाई आफ्नो सुरक्षालाई प्राथमिकता दिँदै सतर्क रहन आग्रह गरिएको छ।

 

विपद व्यवस्थापनको अवधारणा

विपद् भन्नाले प्राकृतिक वा मानव–सिर्जित कारणहरूले आकस्मिक रूपमा देखा पर्ने त्यस्तो अवस्था हो, जसले जनधनको ठूलो क्षति पुर्‍याउनुका साथै सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रमा प्रतिकूल असर पार्छ। यसलाई बहुआयामिक अवधारणा मानिन्छ, किनकि यसले जीवनका हरेक पाटोलाई प्रभावित पार्ने गर्दछ। नेपाल भौगोलिक र प्राकृतिक दृष्टिले विपद् जोखिममा अति संवेदनशील मुलुक हो।

 

नेपालमा बाढी, पहिरो, भूकम्प, चट्याङ, हावा हुरी, आगलागी, महामारी, सडक दुर्घटना लगायतका प्रकोपहरू नियमित रूपमा देखिन्छन्। विशेष गरी वर्षा ऋतु (असारदेखि भदौसम्म) बाढी, पहिरो र डुबानको जोखिम उच्च हुन्छ भने वसन्त ऋतुमा हावा हुरी, चट्याङ र आगलागीका घटनाहरू बढ्छन्। अध्ययनहरूका अनुसार नेपालमा प्राकृतिक विपद्बाट वार्षिक औसत ५०० जनाले ज्यान गुमाउने गर्छन् भने मानव–सिर्जित विपद्बाट करिब २,००० जनाले जीवन गुमाउँछन्। त्यस्तै, करिब ८ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको तथ्याङ्कले देखाउँछ। यसले नेपालमा विपद् जोखिम न्यूनीकरणका प्रयासहरू पर्याप्त प्रभावकारी बन्न सकेका छैनन् भन्ने प्रष्ट हुन्छ।

विपद् व्यवस्थापनका तीन चरण हुन्छन्– पूर्वतयारी, प्रतिकार्य र पुनर्स्थापना। तर हाम्रो ध्यान प्रायः प्रतिकार्यमा केन्द्रित हुने गरेको छ। पूर्वतयारीमा आवश्यक लगानी र सचेतना नहुँदा विपद्का कारण हुने क्षति अझै बढिरहेको छ। गरिब देश र विपन्न समुदायहरू नै सबैभन्दा बढी प्रभावित हुन्छन्, किनकि उनीहरूसँग जोखिम सामना गर्ने क्षमता कम हुन्छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका अनुसार, विश्वका ४९ अति गरिब मुलुकमध्ये २४ देशहरू उच्च प्रकोप जोखिममा छन्, जसमा नेपाल पनि समावेश छ।

विपद व्यवस्थापन विपद जोखिम न्युनीकरणदेखि विपद प्रतिकार्य हुँदै विपद पुनर्लाभसम्मका कृयाकलापहरुको समष्टि हो । विपदको जोखिम न्युनीकरणमा विपद सम्भाव्य क्षेत्रमा गरिने जोखिमको विश्लेषण, मूल्याङ्कन, विपद रोकथामका लागि गर्न सकिने उपायहरू र जोखिम कम गर्न गरिने कार्यहरू पर्दछन् । विपद आइपरे लगत्तै घटनास्थलमा गरिने खोज उद्धार, सुरक्षित ठाउँमा सार्ने र राहत वितरण सम्बन्धी कार्यहरू विपद प्रतिकार्य अन्तर्गत पर्दछन् भने विपदपश्चातको पुनःस्थापना र पुनःनिर्माणसम्बन्धी कार्यहरू विपद पुनर्लाभको परिभाषामा पर्दछन् । स्वभावतः विपद पुनर्लाभका कार्यहरू लामो समयावधि लिने खालका हुन्छन् ।

विधमान अवस्था

नेपालमा बर्सेनि प्राकृतिक विपदबाट धेरैले अकालमा ज्यान गुमाउनुको साथै ठूलो धनजनको क्षति हुनेगरेको छ। महत्वपूर्ण भौतिक संरचना र पूर्वाधार भत्किन्छन् र देशले ठूलो नोक्सानी बेहोर्नुपर्छ। बाँच्नका लागि संघर्ष गरिरहेका लाखौं गरिब परिवारको बिचल्ली भइरहेको छ ।

२०७२ को विनाशकारी भूकम्प व्यवस्थापनमा पुनर्निर्माणको पाटो छोड्ने हो भने हामी सफल भएका छौँ । हामीले गरेका उद्धार तथा राहतका कार्य, क्लस्टर सक्रियकरण, सुरक्षाकर्मी परिचालन, बाढी पूर्वचेतावनी प्रणाली, अन्तर्राष्ट्रिय सहयोग व्यवस्थापन जस्ता कार्यहरू उदाहरणीय रहेका छन् । भूकम्पलाई छोडेर हेर्ने हो भने नेपालमा घट्ने प्राकृतिक विपद्जन्य घटनाहरू क्यालेन्डरमा आधारित छन् भन्न सकिन्छ । फागुनदेखि ज्येष्ठ सम्म आगलागी, चट्याङ तथा हावाहुरी, असार देखि असोज सम्म बाढी, पहिरो, डुबान र बाँकी महिनामा शीत लहर जस्ता मुख्य विपद्जन्य घटना घट्ने गर्दछन् । त्यस्तै मानव सृजित घट्नामा सडक तथा हवाई दुर्घटना प्रमुख हुन् ।

नेपालमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा विभिन्न कमजोरीहरू विद्यमान छन् । विकास निर्माणलाई विपद् जोखिम न्यूनीकरण मैत्री बनाउन नसक्नु, समुदायस्तरमा सचेतनाका कार्यक्रम पुर्याउन नसक्नु, विपद्का नाममा आएका अन्तर्राष्ट्रिय साधन र स्रोत दुरुपयोग हुनु, विपद्का क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी सङ्घ संस्थाहरूबिच उचित समन्वय नहुनु, प्राकृतिक साधन स्रोतको अन्धाधुन्ध दोहन, तालिम प्राप्त जनशक्तिको अभाव, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना नहुनु, विपद् पूर्वतयारीको क्षेत्रमा अपेक्षित कार्य हुन नसक्नु, कूटनीतिक कमजोरीका कारण विवादास्पद तटबन्ध जस्ता समस्या तथा कमजोरीहरू रहेका छन् । विभिन्न सरकारी, गैरसरकारी र दाताबाट यस क्षेत्रमा ठूलो लगानी भइरहेको देखिए पनि हामी समस्याको तत्कालीन समाधानमा मात्रै सीमित छौँ। के हामीले प्रभावकारी तयारीमा पनि लगानी गरेका छौँ त? विपद रोकथाममा ध्यन र लगानी निकै कम देखिन्छ। नेपालमा भूउपयोग योजना नै छैन। कहाँ घर बनाउने, कहाँ उद्योग खोल्ने, कहाँ खेती गर्ने, कहाँ जंगल राख्ने भन्ने विषयमा हाम्रो स्पष्ट नीति तथा कानुन छैन। साथै, आवास तथा भौतिक संरचना बनाउँदा समन्वयको कमी छ र भवन तथा संरचना निर्माण आचारसंहिता कडाइका साथ कार्यन्वयन हुन सकेको छैनन। यस्ता संरचना निर्माण गर्दा वा लगानी गर्दा समभावित जोखिम बिर्सेर वा तत्कालका लागि लगानी कम गर्न विपद व्यवस्थापनमा भएको ज्ञानलाई बेवास्ता गर्ने गरिएको छ।

जलवायुमा देखिएको परिवर्तन, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतको अत्यधिक दोहन आदिका कारण पनि यो समस्या बढेको छ।सुरक्षित संरचना निर्माण र बसोबासमा ध्यान नदिने हाम्रो हेलचेक्य्राइले प्रत्येक वर्ष हामी वर्षातका बेला बाढी पहिरो, हिउँदमा शीतलहर र गर्मीमा ’लु’ बाट हामी ठुलो संकटमा परेका छौ ।अझैपनि सम्बन्धित सरकारी निकायहरुको जोड विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन भन्दा प्रतिकार्य र पूनप्राप्ती कार्यहरुमा नै बढी केन्द्रित देखिन्छ ।विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा क्षेत्रीय सहयोग, समन्वय र सिकाई अति आवश्यक मानिन्छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतको विपद् व्यवस्थापन ईकाइ हाल त्यति प्रभावकारी देखिदैन ।

विपद्को समयमा के गर्ने ?

विपद्को पूर्व अवस्था, आपतकालीन समय र पुनर्स्थापना एवं प्रबलीकरणको समय गरी तीन चरणमा हेर्नुपर्ने हुन्छ। विपद् नै नआउने अवस्था सिर्जना गर्ने र विपद्मा सुरक्षित हुन जागरण ल्याउने काम विपद् व्यवस्थापनको पहिलो काम हो। विपद् जोखिम अवस्थाको पूर्वआंकलन गरी संभावित क्षेत्रमा सतर्कता अपनाउन शिक्षा र सचेतनाको क्रियाकलापमा जोड दिन आवश्यक छ। त्यसैगरी दोस्रो विपद्को होसियारी र सतर्क हुँदाहुँदै आउने आपत्कालीन अवस्थाको व्यवस्थापन गर्न समग्र शासन प्रणाली र नागरिक सवै मिलेर उद्धारको प्रयत्नमा जुट्नुपर्छ। मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा सामूहिक प्रयत्न गरी मानवीय पीडाको न्यूनीकरण गर्न सकिन्छ। तेस्रो आपत्मा परेका मानिसको पुनस्र्थापन गर्न योजनागत रणनीतिसहितको प्रबलीकरण र पुर्नस्थापनाका कार्यमा लाग्नुपर्छ। घरवारबिहीनका लागि आवास व्यवस्था, आयआर्जन र रोजगारीको अवसर, बालबालिकाको संरक्षण र शिक्षाको पहुँच र अशक्त नागरिकको संरक्षण एवं आर्थिक र समाजिक प्रक्रियाको क्रमशः सबलीकरणमा जोड दिनुपर्ने हुन्छ।विपद् जोखिमको आपत्कालीन समयलाई श्रेणीकरण गर्दा सामान्य, संवेदनशील र संकटपूर्णको अवस्थामा हेर्नुपर्ने हुन्छ। जोखिम न्यूनीकरणको उपयुक्त योजना र रणनीति नभए सामान्यबाट संवेदनशील हुँदै संकटपूर्ण अवस्थासम्मको स्थिति सामना गर्नुपर्ने हुन्छ।

विपदमा धनजनको क्षति र मानवीय संवेदनशीलता बढ्दै गएमा विपद् जोखिम न्यूनीकरणका आपत्कालीन योजना र रणनीतिलाई कार्यान्वयन गर्ने, जोखिमको स्थानलाई रेखांकन गर्ने, सो स्थानमा रहेको धनजनको सुरक्षित स्थानमा स्थानान्तरण गरी मानिसलाई अति आवश्यक सुविधा उपलब्ध गराउने र संवेदनशील अवस्थाको सतर्कताका लागि प्रभावित आमनागरिकलाई सूचना प्रवाह गर्ने एवं संवेदनशील स्थितिको गाम्भीर्यतालाई तहगत सरकारबीच निरन्तर सूचना प्रवाह गर्ने जस्ता काममा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ।

विपद् जोखिमका क्षेत्रहरूको अवस्था र स्थितिबारे निरन्तर सूचना संकलन गरी ती क्षेत्रको निरन्तर निगरानी बढाउनुपर्दछ। विपद्बाट हुने तनाव न्यूनीकरण गर्न मनोपरामर्शको उपयोग गर्ने, विपद्पछि हुने संवेदनशील अवस्था न्यूनीकरण गर्न आमसंयन्त्र परिचालन गर्ने र आवश्यकता आकलन गरी थप सहयोगको आवश्यकताका लागि तहगत सरकारहरूले आफ्नो जिम्मेवारी वोध गर्नुपर्ने र नागरिक मञ्च, अभियन्ता, गैरसरकारी संस्था र स्वयंसेवकहरूलाई सक्रिय रूपमा परिचालन गर्नुपर्दछ। नेपालमा विपद् पूर्वतयारीको सन्दर्भमा गर्नुपर्ने मुख्यकार्यहरुमा समुदायस्तरमा नियमित कृत्रिम अभ्यास, पर्याप्त र व्यवस्थित भण्डारण गृह, विपद् प्रतिरोधात्मक भौतिक संरचना, स्थायी र भरपर्दो सूचना प्रवाह, पूर्व चेतावनी प्रणाली, वैकल्पिक लाइफलाइन निर्माण तथा मर्मत सम्भार, नियमित तालिम, सेन्सेटाईजेशन लगायतका पर्दछन् । विपद् पूर्वतयारीका क्रियाकलापलाई विकास निर्माण र वातावरणीय अनुकूलन बनाइ अगाडी बढ्न सकिन्छ ।

विपद्को संवेदनशील अवस्थामा सुरक्षा निकायहरूको भूमिका महत्वपूर्ण हुने हुँदा समन्वयात्मक तरिकाले उद्धार र जोखिम न्यूनीकरणमा काम गर्नु र गराउनुपर्ने हुन्छ। भूकम्प, बाढी र पहिरो, हावा हुरी, चट्याङ, दुर्घटना र आगलागीबाट प्रभावितहरूको स्थिति हेरी घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने अशक्त भएकालाई चाँडो सुविधा सम्पन्न अस्पतालमा लाने व्यवस्था मिलाउनुपर्दछ। संकटपूर्ण अवस्था आउन नदिन विश्व साझेदारीको उपयोग गर्न सकिन्छ।

विपद् जोखिम न्यूनीकरण तथा उद्धारका साधनहरूको उचित व्यवस्थापन गरी जोखिम र विपद्लाई काबुमा राख्न प्रतिकार्य कामको जिम्मेवारी तोकी प्रत्येक कामका लागि सम्पर्क व्यक्ति तोक्ने र सम्पर्क गर्ने, सञ्चारका साधनको पहुँचलाई सरल बनाउनु आवश्यक छ।

संवेदनशील अवस्थामा तहगत सरकार र अन्य क्षत्रको सहयोग लिइ अति संकटको अवस्थामा जान दिनु हुँदैन।प्राकृतिक विपद्प्रति होसियारी र जनसचेतना, विपद् जोखिम चक्रको ज्ञान, संरचनागत रणनीतिसहित तयारी गरी सबैको सक्रियताबाट जोखिम न्यूनीकरणमा जोड दिन आवश्यक छ। मानवीय विपद्मा जोखिम कम गर्न मुख्यतः पूर्वाधारका संरचना मानवमैत्री बनाउने, वातावरण संरक्षणमा जोड दिने, प्राकृतिक चक्रमा अवरोध नगर्ने, आनीबानीमा सुधार, प्राविधिक ज्ञानको मापदण्डको पालना र प्रकृति प्रेममा जोड दिने, जलवायु परिर्वतनबाट हुने विपद् जोखिम कम गर्न आनीबानीमा सुधार गर्नुपर्छ।

विपद् व्यवस्थापन सिप र कौशलको पुनर्मूल्यांकन गरी आउने दिनमा कसरी सुरक्षित हुने भन्ने विषयमा जागरुक हुनुपर्छ। अन्यथा हामी फेरि पछुताउनुपर्ने र धनजनको क्षतिका धेरै समाचार सुन्नुपर्ने हुन सक्छ। समयमै विपद्बाट सतर्क हुन विपद्विरुद्धका सूचना प्रवाह गरी नागरिकलाई सचेत पार्नु आजको आवश्यकता हो।

मानवीय संशाधनको क्षमता अभिवृद्धि तथा तिनको स्तरीकरण गर्नु पर्दछ विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सबै चरण र क्षेत्रहरु जस्तै पूर्वतयारी, प्रतिकार्य, पूर्ननिर्माण, पूर्व सूचना प्रणाली, विपद् निवारण तथा यससँग सम्बन्धित नवीन प्रविधि अनुकुलका विशेषज्ञको विकास, स्तरीकरण तथा तिनको परिचालन गरिनु आवश्यक छ । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई संकटासन्न समुह जस्तै महिला, बालबालिका, शारीरिक रुपले असक्त, वृद्ध वृद्धा मैत्री बनाउनु अति आवश्यक छ ।सरकार वा गैर सरकारी संस्थाले सँधै, सबै गरिदिन्छन् भन्ने सोचमा परिवर्तन आउनु आवश्यक छ । समुदाय, व्यक्ति, राजनीतिक व्यक्ति तथा निर्णयकर्ता सबैमा विपद् जोखिम सम्बन्धि सचेतना हुनु आवश्यक छ ।

नेपालमा विपद्जन्य घट्नाहरुबाट भइरहेको क्षति न्यूनीकरण गर्दै जानु आजको टड्कारो आवश्यकता रहेको छ । अवका हाम्रा विकास निर्माणका क्रियाकलापमा विपद् जोखिम न्यूनीकरणका पक्षहरूलाई गम्भीरतापूर्वक समेटिनु पर्छ । ऐनले व्यवस्था गरेको प्राधिकरण स्थापना गरी कार्यान्वयनमा आउनुपर्छ । प्रत्येक स्थानीय तह अन्तर्गत रहेका समूदायस्तरमा विपद् सम्बन्धी सचेतना कार्यक्रम नियमित गरिनुपर्छ । खोज तथा उद्दारका लागि छुट्टै जनशक्तिको दस्ता स्थापना गरिनु पर्छ । रणनीतिक स्थानहरूमा सुरक्षित आश्रयस्थलको निर्माण गरिनु पर्छ । कूटनीतिक स्तरबाट विपद्जन्य अन्तर्राष्ट्रिय समस्या समाधान गरिनुपर्छ । राष्ट्रिय स्तरको विपद् व्यवस्थापन केन्द्र स्थापना गरिनु पर्छ ।

स्थानीय तहले आफ्नो गाउ÷नगर क्षेत्रभित्र सम्भाव्य विपदको जोखिममा रहेका क्षेत्रहरू जस्तै नदी कटान, बाढी, डुबान, पहिरो, भूक्षय भएको क्षेत्रहरू पहिचान गर्न सक्नु र त्यसका लागि आवश्यक पहल गरिनुपर्दछ । साथै उक्त क्षेत्रमा बसोबास गर्ने समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपयुक्त स्थानको खोजी र उनीहरूको सुरक्षाको लागि सचेतना कार्यक्रम सञ्चालन गरी सम्भाव्य जोखिम कम गर्न मद्दत पुग्दछ । विपदको समयमा आवश्यक पर्ने एम्बुलेन्स, वारुणयन्त्र, लाइफ ज्याकेट,लगायत अन्य महत्त्वपूर्ण औजारहरू तयारी हालतमा राख्न सक्नुपर्दछ ।

विपद पश्चात् गरिने राहत र उद्धारका साथै विपदबाट पीडितहरूको पहिचान, स्तर निर्धारण,परिचयपत्र वितरण गर्ने कार्य समयमै गर्न सके स्थानीय सरकारको अनुभूति जनताले गर्न सक्नेछन् । अर्कातर्फ विपदमा परी नष्ट भएका कागजातहरूको तथ्याङ्क अद्यावधिक राख्ने कार्य पनि महत्त्वपूर्ण छ जसले भविष्यमा गरिने कार्यलाई निश्चित दिशामा डो¥याउन सहयोग पुग्दछ । विपदमा परेका कमजोर समूहमाथि हुने यौन हिंसा, शोषण, बेचबिखन जस्ता कार्यहरू हुन नदिन सतर्कता अपनाउँदै विपद प्रभावित क्षेत्रमा रोजगारी सृजना र आयआर्जनका कार्यहरू सञ्चालन गरी विपदको पीडा भुलाउन स्थानीय तहले अहम भूमिका खेल्न सक्छ । यसरी विपद व्यवस्थापनको जिम्मा स्थानीय तहमा पुगेको अवस्थामा विपदको समयमा उद्धार र राहतका लागि केन्द्रको मुख ताक्नुपर्ने विगतको अवस्थाबाट थोरै मात्रामा भए पनि मुक्ति पाउन सकिन्छ जसका लागि स्थानीय तहले विपद व्यवस्थापनको विषयलाई गम्भीर रूपमा लिनुपर्दछ । विपद व्यवस्थापनको लागि छुट्ट्याइएको कोषको सही सदुपयोग गरी स्थानीय तहहरूले आफ्नो गाउ,नगर क्षेत्रभित्र विपद व्यवस्थापनसम्बन्धी कार्यहरूलाई चुस्त दुरुस्त बनाउँदै विपदसँग जुध्न सक्ने क्षमता विकास गर्न जरुरी भइसकेको छ ।

निष्कर्ष

विपद एक वहुआयामिक प्रकृया हो ।विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सबै चरणहरु जस्तै पूर्वतयारी, पूर्व सूचना प्रणाली, प्रतिकार्य, पूर्ननिर्माण, विपद् निवारण तथा यससँग सम्बन्धित नवीन प्रविधि अनुकुलका विशेषज्ञको विकास, स्तरीकरण तथा तिनको परिचालन गरिनु आवश्यक छ।

 

Hams Hospitals