पोखराको लिची बगैँचा घोटाला प्रकरण: पौडेल मालपोत अधिकृत बन्न सत्तरी लाख घुस लेनदेनको खुलासा
वि.सं.२०८२ असोज २२ बुधवार
shares
काठमाडौँ । पोखरा मालपोतको प्रमुख बन्न सत्तरी लाख रुपैयाँ घुस लेनदेन हुने रहस्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दाको मिसिलमा उक्त विषय उल्लेख गरिएको छ । तत्कालीन मालपोत अधिकृत चिरञ्जीवी पौडेलका लागि सत्तरी लाख रुपैयाँ लेनदेन भएको विषयमा थप अनुसन्धान गर्नुपर्ने विषयमा पत्रमा उल्लेख गरिएको छ ।
त्यसोत मालपोत अधिकृत पौडेलले बिचौलियासँग लिएको हवाई टिकट पनि शङ्काको घेरामा अख्तियारले राखेको छ । पोखराको चर्चित लिची वारी प्रकरणमा जोडिएका दुई पूर्व मन्त्रीसहित अन्य केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मुद्दा दायर गरेको छ । तर, प्रत्यक्ष जोडिएका भनिएका कर्मचारीहरु भने छोडिएका छन् । जसले लाखौँ रुपैयाँ घुस बुझेको भनिएको छ उनीहरूलाई मुद्दा दायर गरिएको छैन ।
मालपोत कार्यालय कास्कीका नासु दीपक सुवेदीले एक संवादमा ‘चिरञ्जीवीलाई ७० लाख रुपैयाँ खर्च गरेर ल्याएको मान्छे मै हुँ…’ भन्दै अश्लील शब्द बोलेको सुनिन्छ । अडियोमा अर्को व्यक्तिले ‘७० लाख ?’ भनेर प्रश्न गर्दा उनले अश्लील शब्द बोल्दै ‘हो मा हो’ मिलाएका थिए ।
उनीहरूले नाम उल्लेख गरेका चिरञ्जीवी भन्ने व्यक्ति मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेल हुन् । पौडेललाई तत्कालीन दुई बहालवाला र एक पूर्वमन्त्री जोडिएको अडियो रेकर्ड गर्ने व्यक्तिले मालपोत कार्यालय, कास्कीमा रोक्न अनेक प्रयास गरेका थिए ।
मालपोत कार्यालय कास्कीले आयोजना गरेको पिकनिकमा गएका बेला नासु सुवेदीले बोलेको अडियो रेकर्ड भएको थियो । अडियो रेकर्ड गरेको आरोपमा दुई दिनअघि मात्रै मालपोत कार्यालय, कास्कीका प्रमुख मालपोत अधिकृत पौडेलले आफ्नै कार्यालयका एक सहायक स्तरका कर्मचारीको करार नवीकरण गरेनन् ।

अडियोमा नासु सुवेदीले ‘चिरञ्जीवीलाई ७० लाख रुपैयाँ खर्च गरेर ल्याएको मान्छे मै हुँ…’ भनेका हुन् । कास्कीका केही महत्त्वपूर्ण जग्गामाथि केही वर्षदेखि भइरहेको चलखेल र त्यसमा पनि लिचीवारिको जग्गाको विवादले मालपोत कार्यालय, कास्कीका प्रमुख मालपोत अधिकृतको पद झनै संवेदनशील र महँगो बन्दै गइरहेको देखिन्थ्यो ।
माओवादी समर्थित राष्ट्रिय कर्मचारी सङ्गठनमा राम्रो पकड बनाएका रामचन्द्र अधिकारी मालपोत कार्यालय, कास्कीमा प्रमुख मालपोत अधिकृत भएका बेला लिचीवारिको जग्गाको स्वामित्व विवाद सुरु भएको देखिन्छ ।
लिचीवारिको १३५ रोपनी जग्गामध्ये करिब ६० रोपनी जग्गाको स्वामित्वमा विवाद छ । शाह परिवारको दाबीमा, राणाकालीन समयमा दुर्गादेवी शाहको नाममा रहेको जग्गा नापी कार्यालयका प्रमुख राजेन्द्र राणाको परिवारको नाममा गएको हो ।
उनले पछि मुस्ताङका थकाली परिवारलाई जग्गाको स्वामित्व हस्तान्तरण गरेको मालपोत कार्यालयको अभिलेखहरूबाट देखिन्छ । तर आफ्नो नामको जग्गा गैर कानुनी रूपमा राजेन्द्र राणाको नाममा गएको भनी दुर्गादेवीले मुद्दा मामिला गरिन् ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:






























