कैलाश सन्यास आश्रमको सङ्क्षिप्त परिचय

2.7K
shares

धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक महत्त्व बोकेको कैलाश सन्यास आश्रम अहिले ओझलमा परेको छ। गैंडाकोटको पहिचान दिलाउने उक्त आश्रममा स्थानीय, सम्बन्धित निकायको ध्यान पुग्न सके पर्यटकीय गन्तव्य बनाउन सकिने प्रचुर सम्भावना रहेको पाइन्छ।

 

गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको गैंडाकोट नगरपालिका वाड नं. १३ सिख्रौलीमा आश्रम अवस्थित रहेको छ ।  चितवनको नारायणगढबाट करिब १६ किलोमिटर पश्चिम दक्षिणमा रमणीय तपोभूमिमा अवस्थित आश्रमको दक्षिणतर्फ नारायणी नदी देख्न सकिन्छ। यस ठाउँबाट चितवनको राष्ट्रिय निकुञ्जमा देखिने गैंडा,हात्ती, बँदेल, मृग, मयुर लगायतका विभिन्न चराचुरूङ्गी र नदीमा गोही देख्न सकिने उक्त आश्रम अत्यन्तै रमणीय रहेको पाइन्छ । पूर्वतर्फ कैलाश उद्यान एवम् विशाल खेलमैदान रहेको छ।

 

करिब ५०० वर्ष अगाडि १५ औं शताब्दीका पाल्पाका राजा मणिमुकुन्दसेनको दरबारसमेत रहेको यस मन्दिरमा सेनकालीन सभ्यता झल्किने आश्रममा पौराणिक, धार्मिक,कलात्मक एवम् कला संस्कृति झल्कने तत्कालीन वास्तुकलाका महत्त्वपूर्ण शिलाहरु देख्न सकिन्छ ।

 

यस क्षेत्रमा पुरातत्त्व विभागले उत्खनन वि. सं. २०७० सालदेखि २०७२ सालसम्म २ वर्ष लगाएर गरेको थियो। उत्खननका क्रममा ढुङ्‌गाद्वारा निर्मित ज्योर्तिलिङ, गणेश मूर्ति र सार्दुल मूर्ति  भेटिएका थिए। पुरातत्त्व विभागले उत्खनन गरेका पुरातात्त्विक सामग्रीहरूको अध्ययबाट करिब ८०० वर्ष पुरानो भएको अनुमान गरिएको छ । उत्खननका क्रममा विशाल ढुङ्‌‌गाबाट बनेको शिवलिङ्ग, चक्र आकारको ठूलो ढुङ्‌गा, देवी देवताको मूर्ति र विभिन्न आकारप्रकारका कुँदिएका कलात्मक ढुङ‌्गा भेटिएको पाइन्छ। यस स्थानको उत्खनन पश्चात पुरातत्त्व विभागले,  “यहाँ ठूलो शिखर शैलीमा निर्माण भएको शिवको भव्य  कलात्मक मन्दिर रहेको बताएका छन्।” भग्नावशेष भेटिएको कलात्मक ढुङ्‌‌गा सुर्खेतको काँक्रे विहारमा झै उही शैलीका ढुङ्गाले सेनकालीन सभ्यताको परिचय दिएको पाइन्छ।  करिब ३००० भन्दा बढी कलात्मक ढुङ्गा भेटिएको र मौलिक कलात्मकतालाई बचाइ राख्न  सोही ढुङ्गा प्रयोग गरी मन्दिर निर्माण गरिएको छ । मुकुन्दसेनको दरवारसमेत रहेको र उनले मन्दिरमा पूजाआजा गर्ने गरेको जनश्रुति रहेको पाइन्छ । धार्मिक शास्त्रअनुसार पञ्चपाण्डव  गुप्तवासमा रहदा धनुष लुकाएको ठाउँसमेत  रहेको किंवदन्ती  पाइन्छ।

पौराणिक कथनअनुसार भगवान विष्णु त्रिवेणीधाममा हात्तीलाई गोहीबाट मुक्त गराउँन वेगसित आउँदा विष्णु भगवानको शिरको मुकुट यस ठाउँमा खसेकाले यस स्थानको नाम ‘शिरमौली’रहन गएको हो र कालान्तरमा उक्त नाम अपभ्रंश भई सिख्रौली रहेको हो भन्ने जनश्रुति पाइन्छ।

 

शिरमौली ग्रामको विषयमा हिन्दु धार्मिक ग्रन्थ हरिवंश पुराण‌मा समेत व्याख्या गरिएको पाइन्छ । धर्मानुरागीहरुको कथनअनुसार यहाँ कुँदिएका प्रस्तर मूर्ति द्वापर युगका हुन् । पञ्चपाण्डव  बनवासमा रहदा यस स्थानमा बास बसेको र यहाँ पाँच जनाले समेत उचाल्न नसक्ने ढुङगा भिमसेनले कुँदेर बोकेका हुन् भन्ने पौराणिक मान्यता पाइन्छ।

 

आश्रमभित्र हजारौं वर्ष पुरानो साल, सल्लो, रूद्राक्ष, रक्तचन्दन लगायतका वनस्पति रहेका छन् । करिब ५ विघा क्षेत्रफलमा फैलिएको उक्त ठाउँमा मठमन्दिर, साधुसन्त बस्ने घर, विभिन्न देवीदेवताको मन्दिर, धर्मशाला निर्माण गरिएको छ ।

उत्खनन गर्दा भेटिएका शिव मन्दिर र त्यसको गर्भमा भेटिएको शिव लिङ्गको आधारमा शिवको भव्य मन्दिर रहेको र त्यहाँ भेटिएका  भग्नावशेषको अधिकतम प्रयोग गरी पुनः पुराना कलात्मक ढुङ्‌‌गा लाई सोही आकारमा नयाँ मन्दिर निर्माण गरिएको छ।

धार्मिक, पौराणिक एवम् पर्यटकीय स्थल त्रिवेणीबाट गजेन्द्रमोक्षधाम हुँदै नारायणी नदीको किनारस्थित यस आश्रमको प्रवर्द्धन र विकास गर्न सके ठुलो सङ्ख्यामा धार्मिक पर्यटक भित्र्याउँन सकिने सम्भावना देखिन्छ ।

 

सेनकालीन सभ्यता झल्कने मन्दिर निर्माण पश्चात् यस क्षेत्रको मुहार फेरिइ आकर्षक एवम् पर्यटकीय गन्तव्य बनेको छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको ऐतिहासिक धार्मिक एवम् पुरातात्त्विक स्थलको थप प्रचारको आवश्यकता रहेको छ।

 

सिख्रौली ग्राममा  रहेको यो मन्दिरमा गणेशको मूर्ति, बुद्ध‌को प्रतिमा पनि भेटिएको पाइन्छ। पर्यटकीय प्रवर्द्धनको हिसाबले राष्ट्रिय सम्पदा सूचीमा समेत सूचीकृत हुन सक्ने सम्पदा ओभेलमा परेको छ । उचित संरक्षण र प्रवर्धन गरी राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा प्रचुर पर्यटकीय सम्भावना बोकेको उक्त स्थल  राष्ट्रकै गौरव रहेको छ। राष्ट्रको पहिचान झल्कने पौराणिक ,ऐतिहासिक महत्त्व बोकेको पर्यटकीय स्थलमा आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याइ देशको ख्याति फैलाउँन सकिन्छ । स्थानीय बासीको प्रत्यक्ष निगरानी, साथ,सहयोग र सम्बन्धित निकायको ध्यान गई संरक्षण हुनु आवश्यक हुन्छ ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals