लघुकथा : भोलिवाद
वि.सं.२०८२ कात्तिक १३ बिहीवार
shares
कानमा तेल हाली बसेको देखेर सुरेश आत्तियो ।
“अस्तिको बैठकमा निर्णय भएका कुरा कार्यान्वयनमा आएका छैनन् । फेरी बैठक बस्ने बेला भयो । खोई कस्ले गर्ने हो ?” उसले गुनासो पोख्यो
मदन, “एकले अर्काको मुख ताक्दै ठिक्क छ । अघि सर्ने कोही छैन ? अख्तियारी दिँदा पनि भएन । खाली बैठकमा कोरम पुर्याउँने काम मात्र हुन्छ ।” उसले यथार्थता जनायो
समितिमा भएकाले सुरेशले सङ्केत गर्दै, ” साथीहरूको विचार मिल्दैन, एउटाको प्रस्तावलाई अर्कोले खण्डन गर्छन् ।” उसले निराशा व्यक्त गर्यो
“समस्या नै भएको छ, निर्णय राम्रो हो थाहा छर पनि, उसको नेतृत्व मात्र पनि खड्किने कस्तो बेमेल, हगी ? ” मदनले यथास्थिति बतायो
सुरेश, “नातावाद र कृपावादले आएकाले चाप्लुसी गर्छन् अनि कहाँबाट हुन्छ त ? योग्य,स्वत: स्फूर्त, निश्पक्षताले चयन भए पो काम हुने थियो ?” उसले दिकदारी व्यक्त गर्यो
बैठक बस्ने जानकारी भयो , सबैले निर्धारित समयमै उपस्थिती जनाए । पहिलाका निर्णय पारित भएनन् । सुरेश रोशनतिर फर्कियो र भन्यो, “खोई,काम भएन ?”
रोशन, ” भोलि हुन्छ ।” उसले आश्वासन दियो । ऊ जङ्गियो, ” कहिलेको भोलि ?”
मदनले गम्भीर मुद्रामा मनमनै सोच्यो, “हाम्रो देशमै यो भोलिवादले जरो गाडेको छ, भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली, त्यसै भनिएको रहेनछ ।”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























