डाक्टर, नर्स बिरामीकै पैसाबाट तलब खाने, उनीहरुसँगै रुखो व्यवहार गर्ने !
वि.सं.२०८२ कात्तिक २५ मंगलवार
shares
कोही पनि व्यक्ति बिरामी भएपछि अस्पताल पुग्छन् । उपचार गर्दा धेरै पैसा लाग्ने भएपछि उनीहरु आफ्नो खेतबारी, घरजग्गा बेच्छन् । र, राम्रो भनिएका सरकारी तथा निजी अस्पतालमा उपचार गराउँछन् ।
सरकारी होस् निजी अस्पतालका डाक्टर, नर्स, अस्पताल प्रशासन, सुरक्षाकर्मीलगायतले बिरामीले तिर्ने पैसाबाट तलब खान्छन् । यसरी बिरामीकै पैसाबाट तलब खाएर, उनीहरुलाई नै राम्रो बोली वचन गरिँदैन । न त बिरामीका कुरुवासँग मिठो बोलिन्छ ।
यसको लागि एउटै उदाहरण काफी छ । शनिबार दिउँसो काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल पुग्दा दुई सय ६२ बेड नम्बरमा उपचाररत काभ्रेपलाञ्चोकको भूम्लु गाउँपालिका–२, सिम्थलीका यमबहादुर थापाका आफन्त र कुरुवासँग सुरक्षागार्डहरु हप्कीदप्की गरिरहेका थिए ।थापा केही दिनअघि केएमसी अस्पताल भर्ना भएका थिए । त्यसअघि उनले १५ लाख बढी खर्च गरेर केएमसीनजिकै होप हस्पिटलमा आफ्नो घुँडाको उपचारमा गराए । सो रकम उनले गाउँको खेतबारी धितो राखेर ल्याएका थिए । तर, रोग निको भएन ।
थापाले आफ्नो बीमा गराएका थिए । बीमामार्फत उपचारका निम्ति उनी टिचिङ अस्पताल पुगे । तर, त्यहाँ उपचार नगरिएपछि उनी केएमसी अस्पताल भर्ना भएका हुन् । उपचारमा अझै लाखौं रकम लाग्ने बिरामी थापा बताउँथे । उपचारपछि समेत घुँडाको रोग ठिक हुने–नहुनेमा उनी यकिन छैनन् । अनि अस्पतालका नर्स, सुरक्षागार्ड चाँहि उनीसँग रुखो व्यवहार गरिरहेका छन् ।उनलाई भेट्न आएका आफन्तलाई कुट्नै लाग्याजस्तो सुरक्षागार्डको व्यवहार थियो भने नर्सहरु बिरामीको हेरचाह नगरी मोबाइल चलाएर बसिरहेको देखिन्थ्यो । कुनै पनि व्यक्ति रहरले अस्पताल जाँदैन । अस्पतालमा लाखौंदेखि करोडौंसम्म खर्च हुन्छ ।
त्यसका निम्ति बिरामी आफ्नो खेतबारी, घरजग्गा, जायजेथा बेचेर उपचार गर्न आएको हुन्छ । बिरामीको कुरुवालाई पनि धेरै चिन्ता हुन्छ । एकातिर जायजेथा सबै बेचिएको हुन्छ, अर्कोतिर रोग निको हुन्छ कि हुँदैन भनेर चिन्ता ।
यस्तो अवसथामा डाक्टर, नर्सहरुले बिरामी र उसका कुरुवालाई सान्त्वना दिने हो । राम्रो बोलीवचन गरेर रोग निको हुन्छ भनेर विश्वास दिलाउने हो । तर, हाम्रो त ठ्याक्कै उल्टो छ । यहाँ त बिरामीलाई सान्त्वना दिनु परको कुरा हो, राम्रो बोलीवचनसमेत गरिँदैन । डाक्टर, नर्सकै व्यवहारका कारण बिरामीलाई कुर्न बसेकाहरु समेत बिरामी हुन पुग्छन् ।डाक्टर, नर्स शिक्षित हुन्छन् । पढेलेखेरै उनीहरु त्यो ठाउँमा पुगेका हुन् । तर, उनीहरुको व्यवहार भने निकै तल्लो स्तरको देखिन्छ । डाक्टर, नर्स मै हुँ भन्ठान्छन् । आफूहरुजस्तो कोही छैन भन्ठान्छन् । आफूहरुले जे गरेपनि हुन्छ भन्ने डाक्टर, नर्सको मनोविज्ञान देखिन्छ ।
बिरामीहरु यत्तिकै अस्पताल आएका हुँदैन । उनीहरु सित्तैमा अस्पताल बसेका हुँदैनन् । कसलाई आफ्नो घर छोडेर अस्पतालको बेडमा कुचिएर बस्न मन लाग्छ र । तर, यो कुरा डाक्टर, नर्स, सुरक्षागार्डले बुझेको देखिदैँन । आफन्त बिरामी परेपछि भेटघाटका निम्ति मानिसहरु अस्पताल पुग्छन् । टाढाटाढाबाट मानिसहरु अस्पताल गएका हुन्छन् ।तर, सुरक्षागार्ड, नर्सहरु हल्ला हुन्छ भन्दै आफन्तलाई बिरामीसँग भेट्न दिँदैनन् । अनि लामो यात्रा गरेर बिरामी भेट्न आएकाहरु बिरामी नै नभेटि फर्किन्छन् । अर्कोतर्फ, बिरामीले पैसा तिरेपछि तत्कालै उपचार पाउनुपर्ने हो । तर, डाक्टर, नर्सहरु जब आफू फुसर्द हुन्छन्, तब उपचार गर्छन् ।
त्यतिबेलासम्म बिरामीको मृत्यु भएमा को जिम्मेवार हुने ? डाक्टर, नर्सको लापरबाहीको बिरामीको ज्यान पनि जाने, सम्पत्ति पनि सिद्धिने । सरकार भन्छ–बीमा गर्नू । बीमा कम्पनीहरु बीमा गराउन घरघरमा एजेण्ट खटाउँछन् । जनताहरु बिरामी हुँदा काम लाग्छ भनेर ३५ सय रुपैयाँ तिरेर बीमा गराउँछन् ।बीमा कम्पनीहरुसँग बीमक बिरामी हुँदा डेढ लाखसम्मको उपचार पाइने दाबी गर्छन् । तर, बिरामी हुँदा चाँहि बीमा काम लाग्दैन । अनि पैसा मात्र सिध्याउन किन बीमा गराउने ? बीमा गराएपछि बिरामी हुँदा तोकिएको अस्पताल जानुपर्छ । बिरामीहरु अनेकौं दुःख, कष्ट गरेर सम्बन्धित अस्पताल पुग्छन् ।
अनि बीमाबाट उपचारका लागि आएको भन्नेबित्तिकै उनीहरुलाई अस्पतालले बेवास्ता गर्छ । हामी कहाँ यो रोगको उपचार हुँदैन भन्दै अन्यत्र रिफर गरिन्छ वा फर्काइन्छ । बिरामीको ज्यानसम्म योसम्मको खेलबाड कहिलेसम्म ? आखिर पैसाका निम्ति जनताको ज्यानसम्म बीमा कम्पनी, अस्पतालहरु कहिलेसम्म खेलिरहने ?यहाँ सिटामोल किन्ने पैसा नभएर ज्यान गुमाउनेदेखि उपचार गर्दागर्दै आफ्नो भएभरको सम्पत्ति सिद्धिएपछि अस्पतालकै छतबाटै हामफालेर आत्महत्या गरेकोजस्ता थुप्रै घटना छन् । सबै सम्पत्ति बेचेर उपचार गर्दागर्दै पनि बिरामी भएपछि शव झिक्ने पैसा नभएर अस्पतालमै छोडेर हिँडेको घटना पनि छन् । अस्पताल पुग्नु रहर होइन, बाध्यता हो । जुन केबल बिरामी वा उसका परिवारलाई थाहा हुन्छ ।
यस्तो अवस्थामा बिरामी, उसका परिवारलाई अस्पतालका डाक्टर, नर्स, कर्मचारीले थोरै मिठो बोलेमा पनि धेरै सहयोग पुग्छ । बिरामीमा आत्मबल आउँछ । कुरुवाहरु पनि खुशी हुन्छन् । विडम्बना, हामी कहाँ त बिरामी, कुरुवा मान्छे नै होइनन्जस्तो व्यवहार गरिँदैन ।शहरका अस्पतालमा उपचार गर्न बिशेषगरी गाउँ वा दुर्गम जिल्लाबाट मानिसहरु आएका हुन्छन् । गाउँमा अस्पताल नभएपछि शहर आउनैपर्यो । पहिलो पटक शहर आउँदा र अस्पताल भर्ना हुँदा धेरैजसो व्यक्तिलाई धेरै कुरा थाहा हुँदैन । यहाँको वातावरणसँग झिज्न उनीहरुलाई समय लाग्छ ।
गाउँका मान्छेहरु अंग्रेजी बुझ्दैनन् । यस्तो अवस्थामा अस्पतालका डाक्टर, नर्स, कर्मचारीहरुले उनीहरुलाई सहयोग गर्नुपर्ने हो । दुर्भाग्य, उल्टै पाखे भन्दै हेपिन्छ । यति पनि आउँदैन भन्दै बिरामी र उसका कुरुवालाई हप्कीदप्की गरिन्छ । आखिर यस्तो व्यवहार कहिलेसम्म ?नेपालको संविधान, २०७२ मा सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क भनेको छ । केएमसी अस्पतालका उपचाररत यमबहादुर आफन्तसँग गुनासो गरिरहेका थिए, अहिलेसम्म १८ लाख खर्च भइसक्यो । अब धितो राख्न पनि केही छैन । रोग पनि ठिक भएन । के गर्ने होला ।
यसले नै देखाउँछ कि हाम्रो संविधान केबल कागजमै सीमित भएको छ । यहाँ त बिरामीले लाखौं खर्चिएर समेत गुणस्तरीय उपचार नपाएको अवस्था छ, निःशुल्क त परको कुरा हो । केएमसी अस्पताल काँग्रेस नेता एवं पूर्वसांसद डा. सुनिल केसीको हो ।उनी गरिब जनताको निःशुल्क उपचार गर्छु भनि दाबी गर्छन् । तर, उनको अस्पतालमा पैसा तिरेरसमेत उपचार नपाएको अवस्था छ । अनि कहिलेसम्म जनतालाई भ्रमित बनाइराख्ने । अब प्रधानमन्त्री सुशीला कार्की र स्वास्थ्यमन्त्री डा.सुधा गौतमले पैसा नभएकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थामा अन्त्य गर्नुपर्छ ।
साथै, सरकारी तथा निजी अस्पतालमा बिरामी र उसका कुरुवासँग गरिने रुखो व्यवहारको पनि अन्त्य हुनुपर्छ । र, बीमालाई प्रभावकारी बनाउनुपर्छ ।
































