असली नेतृत्वको अभावमा कुर्सीको लालसा
वि.सं.२०८२ मंसिर ४ बिहीवार
shares
नेपालको राजनीतिक परिदृश्य कहिल्यै स्थिर रहँदैन। सत्ता धेरैजसो नेताहरूको सपना बनिसकेको छ। तर विडम्बना के छ भने, यस कुर्सीमा चढ्नेहरू प्रायः नेताको हैसियत होइन, कुर्सीको मोह मात्र लिएर दौडिएका हुन्छन्। वास्तविक नेतृत्व भनेको चरा जस्तो स्वतन्त्र उडान र मार्गदर्शन दिन सक्ने कला हो; तर आजका धेरै “नेता” त केवल पंख काटिएको कबुतर जस्ता कुर्सीको छेउमा भुलभुलैयामा फस्छन्।
सत्ता प्राप्त गर्ने धेरै नेताहरू आफ्नो भिजन र जनसेवाको सपना लिएर होइन, कुर्सीको आराम र चम्किलो पदवीको लालसा लिएर राजनीति प्रवेश गर्छन्। उनीहरूको दिमागमा केवल “कति पैसा, कति सुविधा, र कति फोटो अपलोड?” भन्ने प्रश्न मात्र चलिरहेको हुन्छ। वास्तविकता भनेको कुर्सीमा बस्दा जनता मुस्कुराउँछन् कि होइन भन्ने कुरामा ध्यान नदिई, उनीहरू कार्यालयको सुविधा र चकलेटको गन्धमा रमाउँछन्।
नेताहरू आफैँलाई ठूलो र सशक्त देखाउन भरपर्दो भाषण दिने प्रयास गर्छन्। तर शब्दहरू प्रायः कागजको जस्तै हलुका हुन्छन् – उड्छन्, टाँसिन्छन्, तर जनता माथि कुनै वास्तविक प्रभाव पार्दैनन्। उनीहरू भाषणमा ठूलो कुरा गर्छन्, तर कार्यमा चिसो जस्तै खाली पारी दिन्छन्। सायद यही कुरा विडम्बना हो – कुर्सीमा चढ्नेहरूले सत्ता प्राप्त गर्ने तर वास्तविक जिम्मेवारी बिर्सने।
नेपालका केही नेताहरू कुर्सीमा बस्दा, पानीमा तलखेल खेल्ने माछा जस्ता छन्। उनीहरूले आफ्नो छेउको माछा देख्छन्, तर पूरै तालको अवस्था बुझ्दैनन्। कुर्सीमा टिक्नका लागि उनीहरू प्रायः साथीलाई धक्का दिन तयार हुन्छन्, विपक्षीलाई खायो जस्तो पक्रिन्छन्, र जनतालाई नजरअन्दाज गर्छन्। जनता भने, तिनीहरूको कुर्सीको मोह र स्वार्थ देखेर कहिले हाँस्छ, कहिले रुन मन लाग्छ।कुर्सी प्राप्त गर्ने कला विकास भएको छ, तर कुर्सीमा बस्दा समाज सुधार्ने क्षमता कतै भेटिंदैन। नेताहरू सधैं फोटो खिचाउने र फेसबुक स्ट्याटस अपडेट गर्नेमा व्यस्त रहन्छन्, तर सडकमा परेको धुलो, बाढीले डुबाएको घर, र भोकले कराइरहेका नागरिकमा ध्यान पुग्दैन।
यस्तै अवस्थाले हामीलाई गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ। कुर्सीको लालसा मात्रै भए, नेतृत्व खोई? कुर्सी चुम्नेहरू कुर्सीको मात्र राजा बन्न सक्छन्, तर राष्ट्रको भविष्यका राजा हुन सक्दैनन्। यसैले, असली नेतृत्व भनेको केवल कुर्सीमा बस्ने मात्र होइन; जनतालाई मार्गदर्शन दिने, स्वार्थभन्दा माथि उठ्ने र देशको कल्याणको लागि तल्लीन हुने कला हो।
नेपालको राजनीतिमा आजभोलि लिलिपुटहरूको राज चलिरहेको छ। शारीरिक आकारको कुरा होइन, सोचको कुरो हो। यस्ता लघु सोच भएका नेताहरू कुर्सीमा चढेका छन् र जनताको ढाडमा टेकेर अझ उचाइमा पुग्न खोजिरहेका छन्।यी नेताहरूको प्रमुख लक्ष्य हुन्छ—कसरी कुर्सी बचाउने र कसरी अर्को कुर्सीमा चढ्ने। राष्ट्र, जनताको पीडा, शिक्षा, स्वास्थ्य, विकास—यी सब त चुनावी भाषणको सामग्रीमात्र हुन्छन्। चुनाव सकिएपछि जनता उनीहरूको नजरबाट गायब हुन्छन् र सुरु हुन्छ “पदको पसल।”लिलिपुट देशमा जस्तै, यहाँ पनि झगडा सानोतिनो कुरामा हुन्छ—कसले कहिले मन्त्रीमण्डल हेरफेर गर्यो, कसको फोटो अगाडि राख्ने, कसले कति भाषण ग-यो आदि। देशको नीति होइन, नेताको नाक ठूलो कसको भन्नेमा बढी बहस हुन्छ।
जनताको करले चल्ने सरकारी सवारी साधन नेताहरूका लागि विलासी जीवनको प्रतीक बनेको छ। सेवक बन्ने कसम खाएका हातहरूले अब त सवारीमा झ्यालबाट हात हल्लाएर ‘राजा’ झैं अभिनय गर्न थालेका छन्।र अझ रोचक त के भने—यी लिलिपुटहरूले देशको विकासको रोडम्याप पनि बनाउँछन्, जसले कहिल्यै बाटो भेट्दैन। खोला नपारि पुल उद्घाटन, अस्पताल नबनी उद्घाटन, अनि योजनाको नाम तीनपल्ट फेरेर चारपल्ट शिलान्यास—यही हो आजको विकासको नाममा हुने तमाशा।
तर आशा मरेको छैन। जनता बिउँतिरहेका छन्, प्रश्न गर्न थालेका छन्। एक दिन यिनै लिलिपुटहरूलाई कुर्सीबाट तल झार्ने ठूलो जनलहर आउँछ—र त्यो दिन साँच्चैका ठूला सोच भएका मानिसहरू अगाडि आउलान्।
जोनाथन स्विफ्टले गुलिभर’स ट्राभल्स मा एउटा अद्भुत देशको वर्णन गरेका छन्—लिलिपुट, जहाँ मानिसहरू लघु आकारका हुन्छन्, तर घमण्डमा भने कहिल्यै कमी हुँदैन। लाजको कुरा त के भने, हाम्रो देश नेपालमा यस्ता लघुमानवहरू बिना कुनै उपन्यासकै वास्तविक राजनीतिमा देखिन्छन्! यी लघुमानवहरू नेता भएर सिंहदरबार पस्छन्, अनि गधा भएर जनता माथि सवारी गर्छन्।
नेपाली नेताहरूको विशेषता के हो भनेर विदेशीले सोधे भने उत्तर सजिलो छ—”उनीहरू पाँच वर्षमा पाँचपटक सरकार फेर्न सक्ने अद्भुत शक्ति भएका प्राणी हुन्!” लिलिपुटका मानिसहरू जस्तै, हाम्रो नेताहरू पनि ठूलाठूला भाषण गर्छन्, “जनताको सेवक” भन्ने नाममा जनतालाई सेवामा लगाउँछन्।कुनै नेता चुनावमा पराजित भयो भने पनि उसले हार मान्दैन, बरु अर्को पार्टीतिर ‘फड्को’ मार्छ। नेपाली राजनीति यस्तो लघु नाटक बनेको छ, जहाँ नायक र खलनायक छुट्याउन गाह्रो छ—सबै जनाले एउटै अभिनय सिकेका छन्: “सत्ता पाउँ, देश जाओँ!”
सरकार गठन यति अस्थिर छ कि हावाले भुइँ चलाएजस्तै प्रधानमन्त्री बदलिन्छन्। हिजो गाली गर्ने दुई नेता आज भाइभाइ भएका हुन्छन्—सस्तो टेलीशृङ्खलाजस्तै! कुर्सी देख्नेबित्तिकै सबैतिर “प्यारा कमरेड”, “आदरणीय नेता”, “महान योद्धा” भन्ने मिठा शब्दहरू फिस्सफिस्स निस्कन्छन्, तर गफ बाहेक केही निस्कँदैन।युवा पुस्ता विकास खोज्दै इन्टरनेटमा रिसर्च गरिरहेकै हुन्छ, उता नेताहरू गफकै अनुसन्धानमा व्यस्त—”कसरी पुरानो योजनाको नाम फेरेर नयाँ घोषणा गर्ने?” अनि त्यसपछि प्रेसमिटिङमा भन्नु छ, “हाम्रो सरकार जनताको मुहारमा खुसी ल्याउनेछ!” मुहार त आउने हो, तर त्यो मुहार दुखी, निराश र थाकेको हुन्छ।
नेपालको राजनीति साँचिकै लिलिपुट बन्न खोजिरहेको छ—सानाठूला सोच, झन् साना कर्म, अनि ठूलै गफ। जनता चाहन्छन् विकास, नेताहरू चाहन्छन् विभाग। जनता रुन्छन् भोकले, नेताहरू रुन्छन् भागबन्डा नमिल्दा।तर आशा मरेको छैन। देश अझै बाँचेको छ—यस्तै लघुमानवहरूको भीडमा केही साँच्चिकै “मानव”हरू पनि छन्, जो चुपचाप काम गरिरहेका छन्। बाँकी लघुमानवहरू भने कुर्सीको बाँकी फिटिङ मिलाउँदैछन्!
































