अख्तियारले ‘कोभर्ट अपरेशन’ चलाएर कारबाहीमा पारेका तीर्थ भट्टराई सम्पर्कविहिन ? 

4.4K
shares
Nabil bank

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समयमा विरलै मात्रामा ‘कोभर्ट अपरेशन’ सञ्चालन गर्ने गरेको छ। सर्वोच्च अदालतले २०७८ वैशाखमा अख्तियारले गर्दै आएको ‘स्टिङ अपरेसन’को वैधानिकतामा प्रश्न उठाएपछि यस्तो अपरेशन निकै सीमित रूपमा मात्र प्रयोग हुँदै आएको हो। जोखिमपूर्ण र संवेदनशील प्रकृतिका अनुसन्धानमा मात्र कोभर्ट अपरेशन चलाइने आयोगका अधिकारीहरू बताउँछन्।

 

गम्भीर र संगठित अपराधमा प्रहरीको विशेष युनिटले समेत कोभर्ट अपरेशन सञ्चालन गर्दै आएको छ। यस्तो अपरेशनमा अनुसन्धानकर्ता नै ग्राहक वा कारोबारीको रूपमा प्रस्तुत भएर अभियुक्तलाई रंगेहात नियन्त्रणमा लिने रणनीति अपनाइन्छ।

 

यही प्रक्रियाअन्तर्गत विमानस्थलका तत्कालीन अध्यागमन प्रमुख तीर्थ भट्टराईमाथि अख्तियारले कोभर्ट अपरेशन चलाएको थियो। लेखपढ गर्नसमेत नसक्ने महिलाहरूलाई ठूलो रकम लिएर खाडी तथा जोखिमयुक्त मुलुकहरूमा पठाउने संगठित तन्त्र सक्रिय भएको सूचनाका आधारमा भट्टराई अख्तियारको निगरानीमा परेका थिए।

 

अख्तियारले भट्टराईसहित ‘द होलिडे ट्राभल’का सञ्चालक बालकृष्ण पौडेल र अर्का ट्राभल सञ्चालक खगेन्द्र सुवेदीको मोबाइलसमेत प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गराएको थियो। मोबाइल विश्लेषणबाट नै ‘भिजिट भिसा’का नाममा विदेश जानेहरूबाट रकम असुल्ने संगठित श्रृंखलाका महत्वपूर्ण प्रमाण फेला परेको स्रोत बताउँछ।

 

एक अधिकारीका अनुसार, ट्राभल सञ्चालकहरूले विदेश जान चाहने व्यक्तिहरूको नामसूची सिधै भट्टराईलाई पठाउने गरेको, र भट्टराईमार्फत ड्युटीमा खटिने अधिकारीहरूले रकम पाउने गरेको प्रमाणित भएको छ। ‘‘भट्टराईको प्रत्यक्ष संलग्नता देखिने केही विद्युतीय प्रमाणहरू हात लागेको छ,’’ ती अधिकारीले बताए।

 

अख्तियारले भट्टराईविरुद्ध मुद्दा दायर गर्न पर्याप्त प्रमाण जुटाइसकेको र कोभर्ट अपरेशनमार्फत घुस रकमसहित नियन्त्रणमा लिने तयारीसमेत गरेको थियो। तर, अपरेशनको सूचना अख्तियारकै निकायबाट बाहिरिएको आशंकाले भट्टराई पक्राउ जालमा नफस्न सफल भएका छन्।

 

भट्टराईसँगै गृह मन्त्रालयका केही कर्मचारी र अध्यागमनका अन्य अधिकारीमाथि पनि अख्तियारले अनुसन्धान जारी राखेको छ। तर, तीर्थ भट्टराई भने हालसम्म सम्पर्कविहीन रहेका छन्।

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनी मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा सूचीकृत छन्, तर हाल विदामा बसेका छन्। लामो समयदेखि विदामा रहेकाले मन्त्रालयले उनको पछिल्लो अवस्थाबारे कुनै जानकारी नभएको जनाइएको छ।

 

भिजिट भिसा प्रकरण : त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा व्यापक सरुवा, ४४ शाखा अधिकृत फिर्ता

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited