राजनीतिक भूकम्प: रास्वपासँग कुरा नमिलेपछि कुलमान घिसिङको प्रत्यक्ष नेतृत्व प्रवेश
वि.सं.२०८२ पुस २६ शनिवार
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने सहमति भंग भएपछि उज्यालो नेपाल पार्टीको नेतृत्व संरचनामा ठूलो परिवर्तन देखिएको छ। रास्वपासँगको सहकार्य टुटेपछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ स्वयं पार्टी अध्यक्ष बन्ने भएका छन्।
पार्टी स्रोतका अनुसार रास्वपासँग भएका वार्तामा सहमति जुट्न नसकेपछि कुलमानले अब प्रत्यक्ष रूपमा पार्टीको नेतृत्व सम्हाल्ने निर्णय लिएका हुन्। यसै सन्दर्भमा उज्यालो नेपाल पार्टीले आज साँझ ६ बजे काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। पत्रकार सम्मेलनमार्फत पार्टीको भावी रणनीति, संगठनात्मक संरचना र नेतृत्वबारे स्पष्ट जानकारी गराइने बताइएको छ।
यसअघि उज्यालो नेपाल पार्टीले रास्वपासँग एकताको क्रममा अघि सारेका केही राजनीतिक तथा संगठनात्मक मागहरू पूरा गर्न नसकिने भन्दै रास्वपाले एकता प्रक्रिया टुटेको घोषणा गरेको थियो। ती मागहरूमा पार्टीको निर्णय प्रक्रियामा विशेष भूमिका, संगठन विस्तारमा स्वतन्त्रता र भावी राजनीतिक कार्यदिशासम्बन्धी विषयहरू रहेको जनाइएको छ।
एकता भंग भएको घटनापछि रास्वपाले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ, जुन अहिले पनि जारी रहेको पार्टी स्रोतले जनाएको छ। बैठकमा एकता टुट्नुका कारण, त्यसको राजनीतिक प्रभाव तथा आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ।
राजनीतिक वृत्तमा कुलमान घिसिङको सक्रिय नेतृत्व प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। ऊर्जा क्षेत्रबाट स्थापित छवि बनाएका घिसिङ अब प्रत्यक्ष पार्टी नेतृत्वमा आएपछि उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक दिशा लिने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनपछि यस विषयमा थप स्पष्टता आउने विश्वास गरिएको छ।































