मृत स्वार्थ र जन्मिएको शान्ति 

831
shares

आजको युगमा स्वार्थ, लोभ र ईर्ष्याले मानिसको अन्तरात्मा नै क्षीण बनाउँदै लगेको छ। व्यक्तिको सोचाइदेखि लिएर राष्ट्रको नीतिसम्म स्वार्थको प्रभाव देखिन्छ। हरेक निर्णय, सम्बन्ध र व्यवहारमा आत्मकेन्द्रित प्रवृत्तिले स्थान लिएको छ। जसका कारण समाजमा सहयोगभन्दा प्रतिस्पर्धा, करुणाभन्दा घृणा र समर्पणभन्दा स्वार्थ बढेको छ। स्वार्थले मानिसलाई कठोर, संवेदनहीन र विवेकहीन बनाउँछ। यस्तो वातावरणमा आत्मिक शान्ति त के, सामाजिक सद्भाव पनि सम्भव हुँदैन। जबसम्म हामीले स्वार्थ त्याग गर्ने संस्कार विकास गर्न सक्दैनौँ, तबसम्म न त साँचो मित्रता सम्भव हुन्छ, न त स्थायी शान्ति। यसैले, शान्तिको बाटो स्वार्थमुक्त हृदयबाट मात्रै सुरु हुन्छ।जब मानिस स्वार्थ त्याग गर्छ, तब उसको दृष्टिकोण व्यापक हुन्छ। उसले आफूभन्दा अरूको पीडा, भावना र अधिकार बुझ्न थाल्छ। त्याग र समर्पणबाट जन्मिने यही चेतना नै शान्तिको पहिलो फूल हो। परिवारमा स्वार्थभन्दा प्रेम, माया र समर्पण हावी भएमा त्यहाँ कलह होइन, मेलमिलाप हुन्छ। राष्ट्रमा नेताहरूले व्यक्तिगत लाभको सट्टा जनताको हितलाई प्राथमिकता दिए भने राजनीतिक स्थायित्व र समृद्धि सम्भव हुन्छ।

मानव सभ्यताको इतिहास हेर्दा अधिकांश द्वन्द्व, हिंसा र असन्तुलनको मूल कारण स्वार्थ नै देखिन्छ। व्यक्तिगत लाभ, सत्ता, अहंकार र लोभले जब मानवीय चेतनालाई नियन्त्रण गर्छ, तब समाज असहिष्णु, विभाजित र अशान्त बन्छ। स्वार्थले मानिसलाई ‘म’ को घेराभित्र थुन्छ, जहाँ अरूको पीडा देखिँदैन र सामूहिक हितको मूल्य हराउँछ। यही स्वार्थ जीवित रहँदा शान्ति केवल कल्पनामा सीमित हुन्छ।तर जब स्वार्थ मर्छ—अर्थात् व्यक्ति आफ्ना संकीर्ण चाहनाभन्दा माथि उठ्छ—त्यही क्षण शान्तिको जन्म हुन्छ। स्वार्थको मृत्यु कुनै शारीरिक अन्त्य होइन, चेतनाको रूपान्तरण हो। यो त्याग, सहअस्तित्व र करुणाबाट सम्भव हुन्छ। जहाँ ‘म’ भन्दा ‘हामी’ प्रधान हुन्छ, त्यहाँ विश्वास पलाउँछ, सहकार्य बढ्छ र सम्बन्धहरू पुनर्जीवित हुन्छन्।

शान्ति स्वार्थविहीन मनबाट स्वतः प्रस्फुटित हुने अवस्था हो। जब व्यक्ति न्याय, समभाव र मानवीय मूल्यलाई आत्मसात् गर्छ, तब समाजमा शान्ति जीवनशैली बन्छ। त्यसैले “मृत स्वार्थ र जन्मिएको शान्ति” सभ्य र समुन्नत समाज निर्माणको आधारभूत दर्शन हो।

व्यक्तिगत विकासमा पनि त्यागको महत्वपूर्ण भूमिका छ। राम्रो स्वास्थ्यको लागि हामीले अस्वास्थ्यकर आहार र लापरवाह जीवनशैलीलाई त्याग्नु पर्छ। जब हामी शिक्षा र ज्ञान प्राप्त गर्न चाहन्छौं, तब त्यसको लागि हामीले समय र ऊर्जा खर्च गर्नु पर्छ, जसले गर्दा हाम्रा आनन्द र आरामको समय घट्न सक्छ ।

सम्बन्धहरू पनि त्याग बिना मजबुत बन्न सक्दैनन्। चाहे त्यो परिवारसँगको सम्बन्ध होस् या मित्रता वा प्रेम सम्बन्ध, सबैमा समर्पण र बलिदानको आवश्यकता हुन्छ । उदाहरणका लागि, एउटा जोडिले आफ्नो व्यक्तिगत चाहनाहरूलाई थोडा त्यागेर साझेदारीको जीवन बनाउन सक्छ । यसका लागि, कहिलेकाहीं आफ्नोे इच्छाहरूलाई पछि सारेर अर्काको खुशी र राम्रोका लागि काम गर्नु पर्छ। यसरी, एक मजबूत सम्बन्ध बनाउनका लागि परस्पर त्याग र समझदारी आवश्यक हुन्छ ।

सपना र लक्ष्य प्राप्तिमा त्यागः सपना र लक्ष्यहरू प्राप्त गर्नका लागि त्याग एक अपरिहार्य कुरा हो। यदि हामीलाई कुनै ठूलो सफलता प्राप्त गर्न छ भने, हामीलाई छोटो समयमा धेरै काम गर्न र कहिलेकाहीं थोरै आराम वा मनोरञ्जन त्याग्न आवश्यक पर्छ । उदाहरणका लागि, एक व्यवसायी जो नयाँ व्यापार शुरू गर्न चाहन्छ, उसलाई प्रारम्भिक चरणमा आफ्नो आरामदायक जीवनशैलीलाई केही समयको लागि त्याग गर्नु पर्छ। यसका लागि उसले धेरै समय र श्रम लगानी गर्नु पर्छ।

सामाजिक र व्यक्तिगत जीवनमा त्यागः जब हामी सामाजिक र व्यक्तिगत जीवनमा सफलता हासिल गर्न चाहन्छौं, तब हामीले आफ्नो साना इच्छाहरू र सुखहरूको त्याग गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, समाजमा सम्मान र प्रतिष्ठा प्राप्त गर्नका लागि एक व्यक्तिलाई आफ्नोे इगो र अहंकारलाई त्याग्न सक्छ। यदि हामी वास्तवमै ठूलो व्यक्ति बन्न चाहन्छौं भने, हामीले आफ्नोे नकारात्मक गुण र अरूसँगको द्वन्द्वलाई त्याग्नुपर्छ।

जीवनमा कुनै पनि ठुलो सफलता वा महत्त्वपूर्ण कुरा प्राप्त गर्नका लागि हामीले केही त्याग गर्नु पर्छ। त्याग भनेको असुविधा र पीडा हो, तर यसले अन्ततः हामीलाई हाम्रो लक्ष्य नजिक पुर्याउँछ र जीवनमा वास्तविक खुशी र सफलता ल्याउँछ । परमात्माको प्राप्ति पनि बिना त्यागको सम्भव छैन। त्यसैले धार्मिक तथा अध्यात्मिक क्षेत्रमा पनि त्यागको अत्यधिक महत्त्व छ। परमेश्वर प्राप्तिका लागि संसारका ज्ञानी मानिसहरू चार प्रकारले त्याग गर्छनः मलत्याग – संसारलाई विष्ठा जस्तो जानेर त्याग गरेर त्यसलाई पछाडि नहेर्ने।अनिष्ट त्याग – संसारिक पदार्थ, धन, सम्पत्ति, माता–पिता आदि, जसलाई मोक्ष प्राप्तिमा बाधक ठानिन्छ, त्याग गर्ने।स्वतः त्याग – सबै कुरा, जस्तै धन, सम्पत्ति, माता–पिता, पुत्र आदि, नष्ट भए पछि संसार त्याग गर्ने, अर्थात सन्यास लिने।कुष्ठी वा वासना त्याग – जब कुनै व्यक्ति विकृत रोग या भयंकर शारीरिक समस्यामा फस्छ, त्यसका सबै सम्बन्धी र परिवारजन उसलाई छोडेर घृणा गर्छन्, त्यसले मोह छोडेर एक मात्र ईश्वरको शरणमा जान्छ र शान्ति प्राप्त गर्छ। बिना त्याग संसारिक सुख शान्ति र ईश्वरको प्राप्ति सम्भव छैन। त्याग बिना केहि चिजको प्राप्ती सम्भव छैन ।

जीवनमा सफलताका लागि कुनै न कुनै प्रकारको त्याग अनिवार्य छ । हाम्रो जीवनका विभिन्न पक्षहरूमा त्यागको महत्वलाई उजागर गर्दछ ।जुनसुकै ठुलो सफलता प्राप्त गर्नका लागि हामीले केही न केही त्याग गर्नुपर्ने हुन्छ । त्याग केबल कुनै भौतिक चिजको बलिदान मात्र होइन, यो समय, श्रम, भावना, र कहिलेकाहीं हाम्रो सुख र सुविधा पनि हुन सक्छ । जहाँ त्याग हुन्छ, त्यहाँ शान्ति स्थापित हुन्छ । जब मानिस आफ्नो स्वार्थ, अहंकार, ईष्र्या, र गुस्सालाई त्याग गर्छ, तब त्यसले मनमा शान्ति ल्याउँछ।

व्यक्तिगत जीवनमा त्यागले समर्पण, प्रेम र सहानुभूतिको भावना बढाउँछ । जब हामी अरूसँग निस्वार्थ भावले व्यवहार गर्छौं, तब तनाव र द्वन्द्व घट्छ । त्यसैगरी, परिवार र समाजमा पनि त्यागले समन्वय र समझदारी बढाउँछ । एकजना व्यक्तिले अरुको स्वार्थको कदर गरेर आफ्नो अधिकार वा खुशीलाई साइडमा राखेर शान्तिपूर्ण वातावरण बनाउन कोशिस गरे, तब त्यागको प्रभाव समाजमा फैलन्छ र सबैलाई शान्तिको मार्गमा पुर्याउँछ ।जब त्यागको भावना फैलिन्छ, तब समाजमा अहंकार र संघर्ष कम हुँदै शान्ति र सहिष्णुता बढ्छ र त्याग शान्तिको स्थायी स्तम्भ बन्छ । आजको विषाक्त परिवेशमा स्वार्थ त्याग गर्दै सहिष्णुता, करुणा र समानताको मार्ग अँगाल्ने हो भने मात्र समाजमा शान्ति र सौहार्द कायम गर्न सकिन्छ। जहाँ स्वार्थ मर्छ, त्यहाँ शान्ति अवश्य फुल्छ।

( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

civil hospital
Hams Hospitals