मनको संस्कार र मानव अस्तित्व
वि.सं.२०८२ चैत ९ सोमवार
shares
पूर्वीय दर्शन, विशेषतः श्रीमद्भगवत गीताले स्पष्ट रूपमा संकेत गर्छ कि “मनुष्य आफू जस्तो सोच्दछ, ऊ उस्तै बन्छ।” यो जीवनको व्यावहारिक सत्य हो। जब मानिस सकारात्मक, शुद्ध र सन्तुलित सोचको अभ्यास गर्छ, तब उसका संस्कारहरू पनि त्यस्तै निर्मित हुन्छन्। फलस्वरूप, उसको व्यवहार, निर्णय र जीवनदृष्टि उच्च र समन्वित बन्छ। विपरीत रूपमा, नकारात्मक सोचले भय, द्वेष र असन्तुलनको संस्कार जन्माउँछ, जसले व्यक्तिको अस्तित्वलाई कमजोर बनाउँछ।
मनको संस्कार स्थिर हुँदैन यो निरन्तर परिवर्तनशील प्रक्रिया हो। प्रत्येक विचारले नयाँ छाप छोड्छ, प्रत्येक अनुभवले चेतनालाई पुनःआकार दिन्छ। यही कारणले, आत्मचिन्तन, साधना र अनुशासनको महत्त्व अत्यन्तै ठूलो हुन्छ। यदि मानिसले आफ्नो मनलाई सचेत रूपमा निर्देशित गर्न सक्यो भने, ऊ आफ्नै संस्कारको सर्जक बन्न सक्छ। यही नै आत्मविकासको मूल आधार हो।
आजको युगमा, जहाँ बाह्य आकर्षण र विचलन अत्यधिक छन्, मनको संस्कारलाई शुद्ध राख्नु चुनौतीपूर्ण बन्दै गएको छ। तर यही चुनौतीले यसको महत्त्व झन् बढाएको छ। मानव अस्तित्वलाई सुदृढ, सन्तुलित र अर्थपूर्ण बनाउन, मनको संस्कारलाई उज्यालो, सकारात्मक र आध्यात्मिक बनाउनु अपरिहार्य छ।
व्यक्ति जस्तो सोच्दछ, ऊ उस्तै बन्छ। शुभ विचारले मन, बुद्धि र आत्मालाई शुद्ध बनाउँछ र व्यवहारमा शान्ति, सद्भाव र सहनशीलता प्रकट हुन्छ। नकारात्मक सोचले मोह, राग, द्वेष र अहंकार जन्माउँछ, जसले व्यक्ति पथभ्रष्ट बनाउँछ। श्रीकृष्णले गीतामा भनेजस्तै, जो व्यक्ति शुद्ध चिन्तन, निष्काम कर्म र समर्पण भावले जीवन जिउँछ, उसले मोक्ष प्राप्त गर्न सक्छ। शुभ चिन्तन आत्मिक उन्नतिको आधार हो, जसले आत्मज्ञानको प्रकाश फैलाउँछ र जीवनलाई दिव्य र पवित्र बनाउँछ। त्यसैले शुभ सोच नै मुक्ति प्राप्तिको मार्ग हो।
श्रीमद्भगवद्गीता हिन्दू दर्शनको मेरुदण्ड मानिन्छ, जसले मानव जीवनका सबै पक्षमा प्रभाव पार्दछ। गीता एक जीवनशैली हो जहाँ सदाचार, नैतिकता र सामाजिक जिम्मेवारीको समन्वय पाइन्छ। गीता जीवनका द्वन्द्व, दुःख–सुख, मोह, माया र कर्मका रहस्यहरू उजागर गरेर व्यक्तिलाई आत्मबोधको दिशामा अघि बढ्न प्रेरित गर्छ।
गीताले संसारको अनित्यतालाई स्पष्ट गर्दै साँचो आनन्दको स्रोत केवल परमात्मामा लीन भएर प्राप्त हुने बताउँछ। इन्द्रियजन्य सुख क्षणिक छन्, त्यसैले तिनमा आसक्ति नराखी परम आनन्दको खोज आत्मा र परमात्माको एकताको माध्यमबाट गरिनुपर्छ। यो अवस्था प्राप्त गर्न योग, आत्मसंयम र ज्ञान आवश्यक छन्।
श्रीमद्भगवत गीताको विशेषता भनेको यसले सबै वर्ग, जात, उमेर, र सामाजिक अवस्थाका मानिसहरूलाई समान रूपमा मार्गदर्शन गर्ने हो। यो सम्पूर्ण मानवजातिको नै आध्यात्मिक शिक्षाशास्त्र हो। यसको ज्ञानले मानिसलाई जीवनको सत्य अर्थ बुझ्न मद्दत गर्छ। अर्जुन जस्तो वीर योद्धा पनि मोह, माया, संकोच र असमञ्जसमा परेका थिए, तर श्रीकृष्णको दिव्य उपदेशले उनलाई कर्तव्यमा दृढ बनायो।
गीताको ज्ञान अनुसार आत्मा अविनाशी छ, त्यसैले जन्म, मरण, वृद्धावस्था आदि आत्माका लागि केवल परिवर्तनहरू मात्र हुन्। जस्तो मानिसले पुरानो लुगा त्यागेर नयाँ लुगा लगाउँछ, आत्मा पनि एक शरीर त्यागेर अर्को ग्रहण गर्छ। यसकारण मृत्युबाट डराउनु आवश्यक छैन। सत्य ज्ञान प्राप्त गर्न कर्म, भक्ति र ध्यानको समन्वय गर्नुपर्छ। राम्रो सोच, असल कर्म, सत्य बोल्ने बानी र श्रद्धापूर्वक भक्ति गर्नुपर्छ। जीवनको प्रत्येक कर्म भगवानलाई अर्पण गरेर कर्म गर्नाले मानिस मुक्तिको बाटोमा अग्रसर हुन्छ। जब मनुष्य भगवानको शरणमा जान्छ, तब उनी समस्त पापहरूबाट मुक्त हुन्छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् । )





























