निराहार जस्तै डिजिटल व्रत: मस्तिष्कको विश्राम

1.1K
shares

जसरी निराहार वा उपवासले शरीरलाई विश्राम र पाचन प्रणालीको सुधार दिन्छ, त्यसैगरी डिजिटल व्रतले मस्तिष्कलाई अत्यधिक जानकारी र डिजिटल प्रविधिको थकानबाट विश्राम दिन्छ। आजको युगमा मानिसहरू प्रायः स्मार्टफोन, कम्प्युटर, ट्याब्लेट वा सामाजिक नेटवर्कमा अत्यधिक समय बिताउँछन्। लगातार सूचना, सूचना प्रवाह, नोटिफिकेशन र सामाजिक अपेक्षाले मस्तिष्कमा तनाव, चिन्ता र थकान सिर्जना गर्छ। डिजिटल व्रत बस्दा मस्तिष्कले क्रियाशीलता कम गर्ने, एकाग्रता पुनः प्राप्त गर्ने र मानसिक ऊर्जा पुनः सञ्चय गर्ने अवसर पाउँछ।

डिजिटल उपकरणको अत्यधिक प्रयोगले निद्रामा बाधा, ध्यान केन्द्रित गर्न कठिनाइ, मानसिक दबाब, र भावनात्मक असन्तुलन निम्त्याउँछ। डिजिटल व्रतले यी सबै असरलाई घटाउँछ र मानिसलाई आफ्नो भौतिक तथा सामाजिक परिवेशसँग सम्पर्कमा ल्याउँछ। यसले सिर्जनात्मकता, गहिरो सोच र आत्मपरीक्षणको अवसर बढाउँछ। त्यसैले डिजिटल व्रत मस्तिष्कको पुनःसंचार, मानसिक विश्राम र जीवनसन्तुलनको लागि आवश्यक उपाय हो।

जसरी मानिसले निश्चित समय खाना नखाने अभ्यासलाई उपवास वा व्रत भन्छन्, त्यसरी नै डिजिटल व्रत भन्नाले निश्चित समयका लागि स्मार्टफोन, कम्प्युटर, ल्यापटप वा ट्याब्लेटको प्रयोग नगर्ने वा सीमित गर्ने अभ्यास हो। सामाजिक संजाल, डिजिटल सामग्री र प्रविधिबाट आफूलाई टाढा राख्नु डिजिटल व्रतको मुख्य उद्देश्य हो। यो आधुनिक जीवनशैलीमा मस्तिष्कको विश्राम, मानसिक शान्ति र सामाजिक सम्बन्ध सुदृढ पार्न अत्यन्त आवश्यक उपायको रूपमा देखा परेको छ।

मानसिक स्वास्थ्यको दृष्टिले डिजिटल व्रतको महत्व ठूलो छ। बेन्जामिन फ्र्याङ्कलिनले भनेझैं, ‘आराम र व्रत सबैभन्दा उत्तम औषधि हो।’ पूर्वीय दर्शनले निराहार व्रत गर्दा पाचन प्रणालीको सुधार, लोभ-वासना नियन्त्रण, ध्यान, एकाग्रता र आध्यात्मिक उन्नति हुने बताउँछ। त्यस्तै, डिजिटल व्रतले मस्तिष्कमा अत्यधिक सूचना आक्रमण र प्रविधिप्रतिको आदीपन कम गर्न सहयोग पुर्‍याउँछ। यसले मोबाइलको पहुँच नहुँदा उत्पन्न हुने ‘नोमोफोबिया’ स्मार्टफोन नहुँदा डर र असहजता—बाट टाढा राख्छ।

इकिगाई पुस्तकका लेखक हेक्टर गार्सिया र फान्सेस्क मिरालेसका अनुसार डिजिटल व्रत बस्दा मानिस आफ्नो काममा एकाग्र हुन सक्दछ र मस्तिष्कको उत्पादन क्षमता बढ्छ। मेगन अस्टविकले पनि लेखेकी छन् कि आँखाको थकान कम गर्न, गहिरो निद्रा पर्न, चिन्ता घटाउन र जीवनसँग सन्तुष्ट हुन डिजिटल व्रत उपयोगी छ। अत्यधिक स्क्रिन समयले पाचन शक्ति कम गर्ने र मानसिक असन्तुलन ल्याउने तथ्य विभिन्न अनुसन्धानले देखाएका छन्। साथै, फोमो—अरूले केही गर्दैछन् र म केही गुमाइरहेको छु भन्ने डर—ले मानिसलाई पटक–पटक स्क्रोल गर्न बाध्य बनाउँछ। डिजिटल व्रतले यस डरलाई कम गर्न मद्दत गर्छ।

डिजिटल व्रत बस्ने तरिका सरल छ। हेक्टर र मिरालेसका अनुसार, साताको एक दिन, सामान्यत: शनिबार वा आइतबार, प्रविधिबाट टाढा बस्न सकिन्छ। यसबेला गीत सुन्ने, पुस्तक पढ्ने, पैदल यात्रा, पौडी खेल वा प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने काम गर्न सकिन्छ। सिर्जनात्मक गतिविधि—लेखन, चित्रकला, नाचगानमा समय बिताउँदा मस्तिष्क र मन दुवैलाई विश्राम मिल्छ। डिजिटल व्रतलाई जीवनशैलीमा संस्कारसँग जोड्न सकिन्छ, जसले मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्य सुधार्छ।

डिजिटल व्रत प्रविधिबाट टाढा बस्ने अभ्यास मात्र होइन यो मानसिक शान्ति, सामाजिक सम्बन्ध र व्यक्तिगत सन्तुष्टिको उपाय पनि हो। आजको डिजिटल युगमा प्रविधिबाट पूर्ण रूपमा अलग रहन सम्भव नहुन सक्छ, तर नियमित डिजिटल व्रत बस्नाले हाम्रो मस्तिष्क, आँखाको स्वास्थ्य र पारिवारिक सम्बन्धलाई संरक्षण गर्न सकिन्छ। यसले हामीलाई हाम्रो सामाजिक, प्राकृतिक र सांस्कृतिक वातावरणसँग जोड्न पनि मद्दत पुर्‍याउँछ।

हेक्टर गार्सिया र फ्रान्सेस्क मिरालेस् दुई जना स्पेनिश लेखक र विचारक हुन्, जो जापानी संस्कृति र दर्शनप्रति आकर्षित थिए। उनीहरूले विशेष गरी जापानी जीवनशैली, वर्क–लाइफ सन्तुलन र “इक्किगाइ” (जीवनको उद्देश्य) विषयमा लेखेका छन्। गार्सियाको शैली स्पष्ट, व्यावहारिक र व्यक्तिगत अनुभवमा आधारित छ भने मिरालेस्ले सांस्कृतिक र ऐतिहासिक दृष्टिले गहिरो विश्लेषण गर्छन्। सँगैको लेखनले पाठकलाई जीवनलाई सरल तर सन्तोषजनक बनाउन, उद्देश्य खोज्न र दैनिक जीवनमा खुशी पाउन मार्गदर्शन गर्छ। उनीहरूको विचार आधुनिक पश्चिमी जीवनशैलीलाई जापानी सादगी र मानसिक शान्तिसँग जोड्ने पुलका रूपमा काम गर्छ। आजको तीब्र गतिमा दौडँदै गरेका मानिसहरू अक्सर जीवनको साँचो उद्देश्य, शान्ति, र आनन्द बिर्सेर बस्छन्। यस्तो परिस्थितिमा, जापानी दर्शन “इकिगाइ” को दर्शनले संसारलाई अर्को दिशा दर्शन दिएको छ। यो पुस्तक जीवनको दर्शन हो, जसले हामीलाई आफ्नो अस्तित्वसँग सामञ्जस्य गराउन प्रेरित गर्छ।

पुस्तकले चार अध्याय मार्फत जीवनका आधारभूत तत्व  के म साँच्चै प्रेम गर्छु? म के–मा सक्षम छु? के मलाई यसको लागि भुक्तानी मिल्छ? विश्वलाई यसबाट के फाइदा हुन्छ? लाई उजागर गर्छ। यी चार कोणहरू लेखकले डायग्राममार्फत स्पष्ट पार्दै पाठकलाई “इकिगाइ” अर्थात् जीवनको अर्थको केन्द्रसम्म पुर्याउँछन्।

लेखकहरूले पठन अनुभवलाई सहज र आकर्षक बनाउन अवलोकनात्मक कथाहरूको प्रयोग गरेका छन्। विशेष गरी ओकिनावाका शताब्दी बुढा–बुढीहरूसँग गरिएको अन्तर्वार्ताले पाठकलाई वास्तविक जीवनका उदाहरण मार्फत जीवनको सन्तोष र उद्देश्य बुझ्न प्रेरित गर्छ। यी कथाहरू केवल तथ्य प्रस्तुत गर्दैनन्, तर पाठकलाई आफ्नै जीवनसँग तुलना गर्न, आत्म–अन्वेषण गर्न र सानो खुशी र सन्तोष पत्ता लगाउन प्रेरित गर्छन्।

लेखन शैली सरल र अर्थपूर्ण छ। कथाहरू र सिद्धान्तहरू सँगसँगै मिलेर पाठकलाई जापानी जीवनशैलीको सादगी, मानसिक शान्ति, र दैनिक जीवनमा सन्तोष खोज्ने मार्गमा लैजान्छ। पुस्तकले पाठकलाई जीवनभरिको यात्रामा एउटा दिमाग र हृदयको साथी बन्ने अवसर दिन्छ।

लेखक भन्छन् कि जबसम्म हामी दैनिक उठ्ने कारण पाउँदैनौँ, तबसम्म हामी पूर्णरूपमा जीवित छैनौँ। यसले पाठकलाई आफ्नै जीवनलाई पुनः मूल्याङ्कन गर्न र सानो–सानो कुरामा पनि अर्थ खोज्न प्रेरित गर्दछ।
जापानी संस्कृतिमा, विशेष गरी ओकिनावामा, रिटायर शब्दको व्यावहारिक अर्थ नै छैन। वहाँका मानिसहरू आफ्नो कामलाई जीवन लक्ष्यको अभिव्यक्ति मान्छन्। यस दृष्टिले काम र जीवनको उद्देश्य आपसमा गहिरो रूपमा जोडिएका हुन्छन्, र इकिगाइले यही सन्तुलन खोज्ने मार्ग देखाउँछ।

लेखकहरूले जीवनका सरल पाठहरू प्रस्तुत गरेर पाठकलाई आफ्नै दिनचर्यामा खुशी, उद्देश्य र सन्तोष खोज्न प्रेरित गर्छन्। एक दार्शनिक यात्रा हो, जसले हरेक पाठकलाई आफ्नै जीवनभित्र गहिरो सोच र आत्म–अन्वेषणमा लैजान्छ।

“इक्किगाइ”ले जापानी वृद्धहरूसँगको संवादमार्फत जीवनभर सधैं सक्रिय रहनु चाल–चलन, जीविका, कला, बगैचा,बुढ्यौली टाढा राख्ने महत्वपूर्ण उपाय हो। यो सन्तुलित, अर्थपूर्ण र दैनिक अभ्यासमा आधारित जीवनशैली हो। सक्रिय रहनुले शरीर र मन दुवै तन्दुरुस्त रहन्छ र सानो–सानो क्रियाकलापले पनि ऊर्जा र उद्देश्यको अनुभूति दिन्छ।

ओकिनावाका मानिसहरूले आफ्नो खान–पानमा कम क्यालोरी, बढी तरकारी, प्राकृतिक स्वाद र कम प्रशोधित खाना अपनाएका छन्। पुस्तकले भन्छ: “आहार स्वास्थ्यभन्दा धेरै जीवनशैली दर्शन हो।” खाना मानसिक शान्ति, दीर्घायु र जीवनको सन्तुलनमा योगदान पुर्याउने माध्यम हो।

“इकिगाइ” समुदायसँग जोडिएको जीवनको अर्थ पनि हो। मिलनसार सम्बन्ध, पारिवारिक समर्पण, साझा उत्सव, संगीत र संस्कृतिक रीतिरिवाजहरूले जीवन मात्र मूल्यवान् बनाउँदैनन्, जीवनलाई भरिपूर्ण र अर्थपूर्ण बनाउँछन्। पुस्तकले पाठकलाई जीवनलाई सन्तुलित, सक्रिय, र समुदायसँग सम्बन्धित ढंगले जिउन प्रेरित गर्छ, जहाँ शरीर, मन र आत्मा सबै सन्तुलित हुन्छन्।

उनीहरूले वैज्ञानिक तथ्य, दार्शनिक दृष्टिकोण, कथाहरू र आफ्नै अनुभवलाई सँगै मिसाएर पठन अनुभवलाई जीवन्त बनाएका छन्। पढ्दा पाठकलाई यस्तो लाग्छ, जस्तो कोही साथीले तपाईंलाई अर्थपूर्ण कुरा सुनाइरहेको छ। यस शैलीले पाठकलाई सहज तर गहिरो ढंगले सोच्न र आत्म–अन्वेषण गर्न प्रेरित गर्दछ। पुस्तकले विद्यार्थी, पेशेवर, गृहिणी, र रिटायर सबैका लागि जीवनका उत्तर खोज्ने पाठ प्रस्तुत गर्दछ। स्वास्थ्य, दीर्घायु र जीवनशैलीका वैज्ञानिक तथ्यलाई दार्शनिक दृष्टिकोणसँग जोडेर मन, शरीर, भावना र उद्देश्य एकसाथ सम्बोधन गर्ने कला यसमा अद्भुत ढंगले प्रस्तुत गरिएको छ।

पुस्तकको भाषा सरल तर प्रभावशाली छ। जटिल दार्शनिक विचारहरूलाई पाठकलाई सहजै बुझ्न र आत्मसात् गर्न सक्षम बनाउँछ। यद्यपि केही अंश दोहोर्याइएको छ, जसले पठनक्रम कहिलेकाहीं ढिलो हुन सक्छ। ओकिनावाको जीवनशैली सबै देशमा प्रत्यक्ष रूपमा लागू नहुने भए पनि, दार्शनिक र सिद्धान्तगत आधार सार्वत्रिक रहेकोले सबै पाठकका लागि उपयोगी रहन्छ। यो जीवनशैली वा स्वास्थ्य पुस्तक मात्र नभएर, जीवनलाई अर्थपूर्ण, सन्तुलित र उद्देश्यपूर्ण बनाउन मार्गदर्शन गर्ने साहित्यिक र दार्शनिक यात्रा हो।

पुस्तकको धारणात्मक स्पष्टता  छ, जसले पाठकलाई जीवनका गहिरा प्रश्नहरू बुझ्न सजिलो बनाउँछ। पुस्तकले कथा, अनुभव र दार्शनिक विचारहरूलाई सहज र आकर्षक तरिकाले प्रस्तुत गरिएको छ। जापानी जीवनशैली र इकिगाइका सिद्धान्तहरू ओकिनावामा मात्र नभई सबै पाठकका लागि उपयोगी हुन सक्छन्। जीवन प्रयोगयोग्यताले यसलाई दैनिक जीवनमा प्रत्यक्ष लागू गर्न सकिने गाइड बनाउँ, र नीतिगत प्रभावले जीवनशैली, स्वास्थ्य र मानसिक सन्तुलनका क्षेत्रमा मूल्यवान् सन्देश दिन्छ।

 

civil hospital
Hams Hospitals