कर्मचारी संगठनमाथि धारेहात लाउने मन्त्री नै ‘राम्रा होइन, हाम्रा’ खोज्दै
वि.सं.२०८२ चैत २२ आइतवार
shares
काठमाडौं ।सामान्य प्रशासन मन्त्रालयमा पछिल्लो समय देखिएका गतिविधिहरूले सुशासनप्रति गम्भीर प्रश्न उठाएको छ। मन्त्रालयमा मन्त्री प्रतिभा रावलको मातहतमा तीन जना कर्मचारीलाई विशेष रूपमा ल्याएर राखिएको छ, जसले मन्त्रालयभित्रको निर्णय प्रक्रियामै प्रभाव पारिरहेको आरोप छ।
यी कर्मचारीहरू यसअघि रवि लामिछाने गृहमन्त्री रहँदा गृह मन्त्रालयमा कार्यरत थिए। वर्तमान सरकार गठनसँगै उनीहरू सामान्य प्रशासन मन्त्रालयमा सरुवा भई मन्त्री निकट बसेर काम गरिरहेको बताइन्छ।
स्रोतका अनुसार ती कर्मचारीहरूले मन्त्रीको सचिवालयबाटै अन्य कर्मचारीहरूलाई दबाब दिने, थर्काउने र सरुवामा हस्तक्षेप गर्ने कामसमेत गरेका छन्। हालै गरिएको ७८ जना शाखा अधिकृतहरूको सरुवामा उनीहरूको प्रभाव निर्णायक रहेको आरोप समेत उठेको छ।
मन्त्रीले सार्वजनिक रूपमा सुशासनको प्रतिबद्धता जनाइरहे पनि व्यवहारमा भने शासन र आफ्ना मान्छेको प्राथमिकता देखिएको कर्मचारीहरू बताउँछन्। आफ्ना नजिकका कर्मचारीलाई आकर्षक र सुविधायुक्त ठाउँमा पठाउने, अन्यलाई नियोजित रूपमा दुःख दिने शैलीमा सरुवा गरिएको गुनासो व्यापक छ।
अझ चासोको विषय के छ भने श्रम मन्त्रालयमा छोटो समय काम गरेका कर्मचारीहरूलाई हटाइँदा पाँच–छ वर्षदेखि एउटै ठाउँमा रहेका कर्मचारीहरूलाई भने यथावत राखिएको पाइएको छ। यसले सरुवा प्रक्रियाको निष्पक्षतामाथि थप प्रश्न खडा गरेको छ।
यस विषयमा एक उच्च कर्मचारीले भने- ‘सरुवाको सूची “माथिबाटै”, अर्थात् मन्त्रीस्तरबाट तयार पारेर पठाइएको थियो र त्यसैलाई सदर गरिएको हो।’





























