कम्पनी रजिष्ट्रार कार्यालयमा बिचौलियामाथि कडा प्रहार, असम्बन्धित व्यक्तिको प्रवेश पूर्ण रूपमा बन्द

1.5K
shares

 

 

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय ले कार्यालयभित्र हुने बिचौलियागिरी, अनावश्यक भीडभाड र सेवाग्राहीमाथिको प्रभावलाई रोक्न कडा कदम चालेको छ। कार्यालयले असम्बन्धित व्यक्तिको प्रवेश पूर्ण रूपमा निषेध गर्ने निर्णय गर्दै कम्पनी प्रशासनसम्बन्धी सेवा अब अनलाइन प्रणालीमार्फत मात्र प्रवाह हुने स्पष्ट पारेको छ।

 

कार्यालयले जारी गरेको सूचनाअनुसार अब कम्पनी स्थापना, प्रशासन तथा खारेजीसम्बन्धी सम्पूर्ण काम Company Administration and Management Information System (CAMIS) मार्फत सञ्चालन हुनेछ। प्रत्येक कम्पनीका लागि छुट्टै डिजिटल खाता व्यवस्था गरिएको छ, जसबाट सेवाग्राहीले कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य हुने बताइएको छ।

 

कार्यालयले अबदेखि कम्पनी दर्ता, नाम दर्ता, प्रशासन तथा खारेजीसम्बन्धी अधिकांश सेवा निश्चित कार्यदिनभित्र अनलाइनमार्फत सम्पन्न गरिने जनाएको छ। कम्पनी नाम दर्ता र दर्तासम्बन्धी काम एक कार्यदिनभित्र, दर्तापछिका काम तीन कार्यदिनभित्र तथा खारेजीसम्बन्धी काम पाँच कार्यदिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

 

कार्यालयले स्पष्ट रूपमा भनेको छ कि CAMIS प्रणालीबाट सञ्चालन हुने सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने आवश्यकता रहने छैन। अनलाइन सेवा बाहेकका कामका लागि मात्रै सम्बन्धित व्यक्ति वा कम्पनीले तोकेको प्रतिनिधिलाई प्रवेश अनुमति दिइनेछ।

 

कार्यालयको यो निर्णयले वर्षौंदेखि कार्यालय परिसरमा सक्रिय बिचौलिया समूहलाई ठूलो धक्का पुगेको छ। अब अनधिकृत व्यक्तिको प्रवेश बन्द भएसँगै कम्पनी प्रशासनसम्बन्धी सेवा थप पारदर्शी, छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals