१७ वर्षदेखि मन्त्रालयमै जमेका नासु–खर्दारमाथि प्रश्न, सामान्य प्रशासन किन मौन ?
वि.सं.२०८२ चैत २५ बुधवार
shares
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २०६६ सालदेखि निरन्तर एउटै स्थानमा बस्दै आएका केही नासु र खर्दार तहका कर्मचारीबारे गम्भीर प्रश्न उठेको छ। लामो समयदेखि मन्त्रालयमै प्रभाव जमाएर बसिरहेका कर्मचारीमाथि मन्त्रालयले कुनै चासो नदिएको भन्दै असन्तुष्टि बढेको हो।
राजप्रासाद सेवाबाट आएका भनिएका राजु श्रेष्ठ, बुद्ध महर्जन, मिना महर्जन, सुनिल महर्जन तथा खर्दार योगेन्द्र महर्जन १७ वर्षदेखि सामान्य प्रशासन मन्त्रालयमै हालिमुहाली गर्दै आएको आरोप लागेको छ। निजामती सेवा ऐनअनुसार लामो समय एउटै कार्यालयमा बस्न नपाइने स्पष्ट व्यवस्था भए पनि ती कर्मचारीलाई मन्त्रालयले निरन्तर संरक्षण दिएको आशंका गरिएको छ।
सामान्य प्रशासन मन्त्रालयले देशभरका कर्मचारीको सरुवा, समायोजन र व्यवस्थापनमा कडाइ गर्ने गरेको भए पनि आफ्नै मन्त्रालयभित्र वर्षौंदेखि जमेका कर्मचारीमाथि भने कुनै कारबाही नगरेको भन्दै आलोचना बढेको छ। कर्मचारी वृत्तमा यस्ता कर्मचारीले मन्त्रालयभित्रै पहुँच, प्रभाव र नेटवर्कका आधारमा टिकिरहने गरेको चर्चा छ।
उनीहरूकै कारण मन्त्रालयभित्र सरुवा, पदस्थापन र प्रशासनिक निर्णयहरूमा अस्वस्थ प्रभाव परेको आरोप समेत लाग्न थालेको छ। सामान्य प्रशासन मन्त्रालयले देशभरका कर्मचारीमाथि नियम लागू गर्ने तर आफ्नै मन्त्रालयभित्रका ‘स्थायी शक्ति केन्द्र’ बनेका कर्मचारीलाई नछुने प्रवृत्तिले मन्त्रालयको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।
अब मन्त्रालयले यस्ता कर्मचारीमाथि छानबिन गरी ऐनअनुसार सरुवा र जिम्मेवारी परिवर्तन नगर्ने हो भने ‘कानुन सर्वसाधारणका लागि मात्र’ भन्ने सन्देश जाने देखिएको छ।




























