बारुद, भू-राजनीति र मिसाइल प्रविधिको विकास मध्यपूर्वको चुनौती                 

435
shares

 

आजको विश्वमा शान्ति एउटा जटिल राजनीतिक समीकरण बनिसकेको छ। विशेषतः मध्यपूर्व, जहाँ बारुदको गन्ध, शक्ति प्रतिस्पर्धा र मनोवैज्ञानिक भयको त्रिकोणले विश्व शान्तिलाई गम्भीर चुनौती दिइरहेको छ। यो विश्व शक्ति सन्तुलनको संवेदनशील प्रयोगशाला पनि हो।

मध्यपूर्वको इतिहास हेर्दा, यहाँको द्वन्द्व विचारधारा, धार्मिक पहिचान र महाशक्तिहरूको स्वार्थसँग गाँसिएको छ। इजरायल–प्यालेस्टाइन विवाद, इरान–साउदी प्रतिस्पर्धा, सिरियाको गृहयुद्ध वा यमनको मानवीय संकट यी सबै घटनाहरूले यो क्षेत्र निरन्तर अस्थिरताको घेराभित्र छ। यस अस्थिरतामा मिसाइल प्रविधिको तीव्र विकासले झन् भयावह आयाम थपेको छ।

मिसाइलहरू के सैन्य अस्त्र मात्र होइनन्, ती मनोवैज्ञानिक हतियार पनि हुन्। जब कुनै देशले आफ्नो क्षेप्यास्त्र क्षमता प्रदर्शन गर्छ, त्यसले प्रत्यक्ष युद्ध नगरी नै शत्रु राष्ट्रको मनमा भय र असुरक्षा रोप्ने काम गर्छ। यसले प्रतिरोधको सन्तुलन सिर्जना गर्छ, तर यही सन्तुलन कहिल्यै स्थायी हुँदैन। सानो गलत अनुमान, प्रविधिगत त्रुटि वा राजनीतिक आवेगले पनि ठूलो युद्धको ढोका खोल्न सक्छ।

भू-राजनीतिक दृष्टिले हेर्दा, मध्यपूर्वमा विश्वका ठूला शक्तिहरूको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहँदै आएको छ। ऊर्जा स्रोतमा नियन्त्रण, सामरिक स्थानको महत्व र आफ्नो प्रभाव विस्तार गर्ने चाहनाले अमेरिका, रुस, चीनजस्ता शक्तिहरूलाई यहाँ सक्रिय बनाएको छ। यसले स्थानीय द्वन्द्वलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रूपान्तरण गरेको छ। फलस्वरूप, शान्तिको पहलहरू प्रायः शक्ति स्वार्थको छायाँमा कमजोर बन्ने गरेका छन्।

भयको अर्को पक्ष मानवीय छ। निरन्तर युद्धको सम्भावनाले आम नागरिकको मनोविज्ञानमा नकारात्मक असर पार्छ। बालबालिका विस्फोटको आवाजमा हुर्किन्छन्, परिवारहरू विस्थापित हुन्छन् र समाजमा असुरक्षाको भावना स्थायी रूपमा बस्छ। यस्तो अवस्थामा शान्ति राजनीतिक सम्झौताबाट मात्र सम्भव हुँदैन यसको लागि मानवीय विश्वास पुनर्निर्माण आवश्यक हुन्छ।

विश्व शान्तिका लागि मध्यपूर्वको चुनौती बहुआयामिक छ। पहिलो, सैन्य सन्तुलनको नाममा भइरहेको हतियार प्रतिस्पर्धा रोक्न आवश्यक छ। दोस्रो, क्षेत्रीय शक्तिहरूबीच विश्वासको वातावरण निर्माण गर्नुपर्छ। तेस्रो, अन्तर्राष्ट्रिय समुदायले निष्पक्ष र दीर्घकालीन समाधानमा ध्यान दिनुपर्छ, नकि तात्कालिक राजनीतिक लाभमा।

राष्ट्रपति ट्रम्प र इजरेली प्रधानमन्त्री नेतन्याहूबीच टेलिफोन संवाद हुनु र त्यसपछि ट्रम्पले वार्ताको साटो निःसर्त आत्मसमर्पणको माग गर्नुले कूटनीतिक संयमको अन्त्य भएको संकेत गर्छ। शान्तिवार्ताको ढोका बन्द गरिँदा सैन्य विकल्पहरू मात्र शेष रहन्छन्, जसको असर सिमानाको पारि–पारि छरिन्छ।

यो अवस्था अब इरान–इजरेल सीमामा मात्र सीमित छैन। यसले मध्यपूर्वको समग्र सुरक्षा परिदृश्यलाई डगमगाउने खतरामा पुर्याएको छ। अमेरिकाको मौन समर्थन वा आंशिक संलग्नताले अरु शक्तिराष्ट्रहरूलाई पनि आत्मसात् गर्नुपर्ने अवस्थाको संकेत दिन्छ।यदि यस्तो प्रकारको हस्तक्षेपलाई अन्धराष्ट्रवादको आवरणमा लपेटियो भने त्यसले शान्ति होइन, दीर्घकालीन द्वन्द्वको जरो गाड्नेछ। कूटनीति र संयमभन्दा बाहिरको मार्गले विनाशको दरबार खोल्नेछ।अतः यो सम्वेदनशील मोडमा अन्तर्राष्ट्रिय समुदायले दर्शकको भूमिका निर्वाह गर्नु अबको बुद्धिमत्ता हुने छैन। अमेरिका जस्तो महाशक्ति यदि इमानदारीपूर्वक शान्तिको वाहक बन्न चाहन्छ भने उसले अब आक्रोश होइन, सम्वादको भाषा बोल्नुपर्छ।

मध्यपूर्वमा इरान–इजरेल द्वन्द्वले विश्वव्यापी भूराजनीतिक प्रभाव पैदा गरेको छ। इरानको इस्लामिक क्रान्ति पछि क्षेत्रीय शक्ति सन्तुलनमा अस्थिरता बढेको छ भने इजरायलले आफ्नो सुरक्षा सुनिश्चित गर्न आधुनिक सैन्य र साइबर रणनीतिहरू प्रयोग गर्दै आएको छ। द्वन्द्वले गोल्फ क्षेत्रका राज्यहरूलाई सुरक्षा गठबन्धनमा जोड्ने काम गरेको छ, जसले तेल उत्पादन र व्यापारलाई सिधै असर गरेको छ।

विश्व अर्थतन्त्रमा यस द्वन्द्वको प्रभाव स्पष्ट छ। पेट्रोलियम निर्यातमा अस्थिरता, तेल मूल्य वृद्धिले वैश्विक बजारमा दबाब बढाएको छ। अन्तर्राष्ट्रिय शक्तिहरू, जस्तै अमेरिका, रूस र युरोपेली राष्ट्रहरू, क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न सक्रिय छन्, जसले मध्यपूर्वलाई नयाँ “सुरक्षा खेलको केन्द्र” बनाएको छ।

 

 

इरानले शान्तिपूर्ण प्रयोजनका लागि मात्र परमाणु कार्यक्रम अघि बढाएको बताउँदै आए पनि अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी ले दिएको पछिल्लो प्रतिवेदनले त्यसमा गम्भीर आशंका उत्पन्न गरेको छ। युरेनियम प्रशोधनको स्तर ८३.७ प्रतिशत पुगेको तथ्यांक, जुन परमाणु अस्त्र उत्पादनको सीमामा रहेको देखिन्छ, इरानको ‘शान्तिपूर्ण’ भनाइमाथि गम्भीर प्रश्न उठाउँछ। अर्कोतर्फ, इजरेलले प्रत्यक्ष रूपमा सैन्य आक्रमण गरेर अन्तर्राष्ट्रिय विधिलाई तोडेको आरोप लाग्न सक्दछ। यस्तो अवस्था द्वन्द्वको नैतिकतामाथि पनि प्रश्न खडा गर्छ।यदि समुचित कूटनीतिक हस्तक्षेप नभएमा यो द्वन्द्वले समग्र मध्यपूर्वलाई परमाणु जोखिमको खतरामा धकेल्न सक्छ। विश्व समुदाय, विशेषतः संयुक्त राष्ट्रसङ्घ र महाशक्तिहरूले यो सशस्त्र टकरावको नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ। किनभने इरान–इजरायल द्वन्द्व वैश्विक शान्ति र सुरक्षा प्रणालीको परीक्षण हो। यस्तो संवेदनशील मोडमा न्याय, संयमता र दीर्घकालीन शान्तिको मार्ग रोज्नु आजको अनिवार्य आवश्यकता हो।

मध्यपूर्वका प्रमुख राष्ट्रहरू इरान, इजरायल, साउदी अरब बीचको प्रतिस्पर्धा अब पारम्परिक युद्धभन्दा फरक स्वरूप लिँदैछ। विशेषतः इरानको मिसाइल कार्यक्रम र इजरायलको उन्नत प्रतिरक्षा प्रणालीले क्षेत्रलाई उच्च सतर्कतामा राखेको छ।

यस सन्दर्भमा, मिसाइल शक्ति विश्व शान्तिका लागि किन चुनौती बनेको छ भन्ने प्रश्न अत्यन्त महत्त्वपूर्ण हुन्छ। पहिलो, मिसाइलहरूको तीव्रता र पहुँच अत्यधिक भएको कारण कुनै पनि आक्रमणको प्रतिक्रिया तुरुन्तै दिन सकिन्छ, जसले द्वन्द्वलाई छिटो विस्तार गर्ने जोखिम बढाउँछ। दोस्रो, ड्रोन र स्मार्ट मिसाइल प्रविधिको विकासले युद्धलाई अझ सटीक र विनाशकारी बनाएको छ। तेस्रो, मिसाइल प्रणालीहरू परमाणु क्षमतासँग जोडिन सक्ने सम्भावनाले स्थिति झनै जटिल बनाएको छ।

विशेषगरी इरानको परमाणु कार्यक्रम र इजरायलको अनुमानित परमाणु क्षमता बीचको तनावले रणनीतिक असन्तुलन सिर्जना गरेको छ। यदि यी दुई शक्तिहरूबीच प्रत्यक्ष मिसाइल द्वन्द्व भयो भने, त्यसको असर मध्यपूर्वमा मात्र सीमित रहने छैन। विश्वव्यापी रूपमा ऊर्जा आपूर्ति, व्यापारिक मार्ग र आर्थिक स्थिरता प्रभावित हुनेछ। होर्मुज जलडमरूमध्य जस्ता संवेदनशील मार्गहरू बन्द भएमा, तेल आपूर्ति अवरुद्ध हुनसक्छ, जसले विश्व अर्थतन्त्रलाई संकटमा पार्न सक्छ।

अर्कोतर्फ, संयुक्त राज्य अमेरिकाको भूमिका पनि यस क्षेत्रमा निर्णायक छ। अमेरिकाले इजरायललाई रणनीतिक समर्थन प्रदान गर्दै आएको छ र इरानको सैन्य तथा मिसाइल क्षमतामाथि नियन्त्रण राख्न चाहन्छ। तर अमेरिका र इजरायलका रणनीतिक प्राथमिकतामा केही भिन्नता देखिन्छ, जसले निर्णय प्रक्रियामा जटिलता ल्याउन सक्छ। यस्तो अवस्थामा सानो गल्ती वा गलत आकलनले ठूलो युद्धको रूप लिन सक्छ।

मध्यपूर्वमा तेस्रो पक्षहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। हिजबुल्लाह, हमास जस्ता समूहहरूले मिसाइल र ड्रोन प्रविधि प्रयोग गर्दै क्षेत्रीय द्वन्द्वलाई थप जटिल बनाएका छन्। यसले युद्धलाई राज्य–केन्द्रित मात्र नभई अर्ध–राज्य र गैर–राज्य अभिनेताहरू सम्म विस्तार गरेको छ, जसले नियन्त्रण र समाधानलाई अझ कठिन बनाएको छ।

इरान–इजरेल द्वन्द्व आजको इतिहासको एउटा साँघुरो अध्याय मात्र होइन, यो मानव सभ्यताको विवेक र संयमको कठोर परीक्षा पनि हो। शक्ति र प्रतिशोधको नाममा जब राष्ट्रहरू बारुदका भाषामा संवाद गर्न थाल्छन्, तब अन्तर्राष्ट्रिय सम्बन्धहरूको मेरुदण्डमा कम्पन उत्पन्न हुन्छ। आजको युद्ध केवल भूगोलको सीमामा सीमित नरहने, बरु सम्पूर्ण मानव सभ्यतामा  प्रभाव पार्ने वैश्विक घटनाको स्वरूप लिइरहेको छ।यो द्वन्द्वले परमाणु जोखिमको सम्भावनालाई पुनः उजागर गरेको छ। यदि समुचित कूटनीतिक हस्तक्षेप र संयमको आवाज नउठाइयो भने, युद्धको ज्वालाले मध्यपूर्व मात्र होइन, सम्पूर्ण विश्वलाई नै अस्थिर बनाउने खतरा छ। विशेषतः संयुक्त राष्ट्रसंघ, जी-सेभेनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र अमेरिका, चीन, रुसजस्ता महाशक्तिहरूले आफ्नो कर्तव्य बिर्सने हो भने इतिहासले तिनको मौनतालाई सह–दोषीका रूपमा चित्रण गर्नेछ।

 

 

 

civil hospital
Hams Hospitals