तोमनाथ उप्रेतीका पचिस हाइकुहरू
वि.सं.२०८३ वैशाख १३ आइतवार
shares
१.
निस्तब्ध आकाश
आगोले लेख्यो क्षण
खरानी बोल्यो।
२.
धातुको पन्छी
मानव अशान्ति बोकी
नीलो आकाशतिर।
३.
शान्त रात चिर्यो
तारा मौन साक्षी छन्
धर्ती सास रोके।
४.
फलाम प्रार्थना
शान्तिका लागि होइन
शक्ति मात्र चाहना।
५.
आकाश छेडियो
मानव हात टाढा पुग्यो
मौनले मूल्य चुकायो।
६.
जल्दो रेखा माथि
क्रोधले लेख्यो भाग्य
आशा हराएको।
७.
आगो माथि चढ्छ
पुरानो घृणा बोकी
फेरि झर्छ तल।
८.
मेघ बिना गर्जन
अशान्त मन हेर्छन्
खोक्रो विजयतिर।
९.
अँध्यारोमा घाम
डरले जन्माएको
पछुतो आउँदैन।
१०.
आकाश घाउ बन्यो
क्षणिक चाहनाले खोले
समय मेट्दैन।
११.
इस्पात सपना
बुद्धि होइन मार्गदर्शक
अहंकार डो-यायो।
१२.
रात आगो बन्यो
मानव गर्वले तारा ढाक्यो
खरानी इतिहास।
१३.
मौनको बाटो
अशान्त आविष्कारले
दुःखमा टुंगिन्छ।
१४.
हावाले भन्यो
बिस्तारै जल्ने भविष्य
आउनु अघि नै।
१५.
आकाश बिर्सियो
शान्ति गुमेर डर आयो
छायाले काँपायो।
१६.
आगोको रेखा
मानव द्वन्द्व देखायो
शून्य आकाशभरि।
१७.
छिटो हरायो
उज्यालोले प्रश्न छोड्यो
कोही सोधेन।
१८.
आकाशमा घाउ
एक निर्णयको बोझ
युद्ध जस्तै भारी।
१९.
आगोले छोयो
तर अर्थ छुन सकेन
खरानी मात्र झर्यो।
२०.
मानवले डर बनायो
भोलितिर पठायो
नियन्त्रण भन्यो।
२१.
क्षणिक सूर्योदय
प्रकृतिले होइन
मानवले जन्मायो।
२२.
आकाश मौन छ
आगो शान्तिसँग बोल्छ
कोही जित्दैन।
२३.
क्षितिज हल्लियो
आँधी होइन उद्देश्य
चिसो इस्पातभित्र।
२४.
आगोको प्रश्न
मौन आकाशलाई सोध्यो
दुःख फर्कियो।
२५.
क्षण उज्यालो
अनन्त अँध्यारो बाँकी
विचार मात्र रह्यो।





























