इक्किगाइ: जीवनमा सन्तोष र उद्देश्य खोज्ने दस्तावेज

162
shares

 

 

हेक्टर गार्सिया र फ्रान्सेस्क मिरालेस् दुई जना स्पेनिश लेखक र विचारक हुन्, जो जापानी संस्कृति र दर्शनप्रति आकर्षित थिए। उनीहरूले विशेष गरी जापानी जीवनशैली, वर्क–लाइफ सन्तुलन र “इक्किगाइ” (जीवनको उद्देश्य) विषयमा लेखेका छन्। गार्सियाको शैली स्पष्ट, व्यावहारिक र व्यक्तिगत अनुभवमा आधारित छ भने मिरालेस्ले सांस्कृतिक र ऐतिहासिक दृष्टिले गहिरो विश्लेषण गर्छन्। सँगैको लेखनले पाठकलाई जीवनलाई सरल तर सन्तोषजनक बनाउन, उद्देश्य खोज्न र दैनिक जीवनमा खुशी पाउन मार्गदर्शन गर्छ। उनीहरूको विचार आधुनिक पश्चिमी जीवनशैलीलाई जापानी सादगी र मानसिक शान्तिसँग जोड्ने पुलका रूपमा काम गर्छ। आजको तीब्र गतिमा दौडँदै गरेका मानिसहरू अक्सर जीवनको साँचो उद्देश्य, शान्ति, र आनन्द बिर्सेर बस्छन्। यस्तो परिस्थितिमा, जापानी दर्शन “इकिगाइ” को दर्शनले संसारलाई अर्को दिशा दर्शन दिएको छ। यो पुस्तक जीवनको दर्शन हो, जसले हामीलाई आफ्नो अस्तित्वसँग सामञ्जस्य गराउन प्रेरित गर्छ।

पुस्तक जीवनको उद्देश्य खोज्ने एउटा यात्रा हो जसले पाठकलाई मानव अस्तित्वको गहिराइमा प्रवेश गराउँछ। पुस्तकले चार अध्याय मार्फत जीवनका आधारभूत तत्व के म साँच्चै प्रेम गर्छु? म के–मा सक्षम छु? के मलाई यसको लागि भुक्तानी मिल्छ? विश्वलाई यसबाट के फाइदा हुन्छ? लाई उजागर गर्छ। यी चार कोणहरू लेखकले डायग्राममार्फत स्पष्ट पार्दै पाठकलाई “इकिगाइ” अर्थात् जीवनको अर्थको केन्द्रसम्म पुर्याउँछन्।

लेखकहरूले पठन अनुभवलाई सहज र आकर्षक बनाउन अवलोकनात्मक कथाहरूको प्रयोग गरेका छन्। विशेष गरी ओकिनावाका शताब्दी बुढा–बुढीहरूसँग गरिएको अन्तर्वार्ताले पाठकलाई वास्तविक जीवनका उदाहरण मार्फत जीवनको सन्तोष र उद्देश्य बुझ्न प्रेरित गर्छ। यी कथाहरू केवल तथ्य प्रस्तुत गर्दैनन्, तर पाठकलाई आफ्नै जीवनसँग तुलना गर्न, आत्म–अन्वेषण गर्न र सानो खुशी र सन्तोष पत्ता लगाउन प्रेरित गर्छन्।

लेखन शैली सरल र अर्थपूर्ण छ। कथाहरू र सिद्धान्तहरू सँगसँगै मिलेर पाठकलाई जापानी जीवनशैलीको सादगी, मानसिक शान्ति, र दैनिक जीवनमा सन्तोष खोज्ने मार्गमा लैजान्छ। पुस्तकले पाठकलाई जीवनभरिको यात्रामा एउटा दिमाग र हृदयको साथी बन्ने अवसर दिन्छ।

‘म को हुँ?’

‘मेरो जीवनको उद्देश्य के हो?’

यी प्रश्न मानव जीवनका प्रमुख र गहिरा प्रश्न हुन्। लेखक भन्छन् कि जबसम्म हामी दैनिक उठ्ने कारण पाउँदैनौँ, तबसम्म हामी पूर्णरूपमा जीवित छैनौँ। यसले पाठकलाई आफ्नै जीवनलाई पुनः मूल्याङ्कन गर्न र सानो–सानो कुरामा पनि अर्थ खोज्न प्रेरित गर्दछ।

जापानी संस्कृतिमा, विशेष गरी ओकिनावामा, रिटायर शब्दको व्यावहारिक अर्थ नै छैन। वहाँका मानिसहरू आफ्नो कामलाई जीवन लक्ष्यको अभिव्यक्ति मान्छन्। यस दृष्टिले काम र जीवनको उद्देश्य आपसमा गहिरो रूपमा जोडिएका हुन्छन्, र इकिगाइले यही सन्तुलन खोज्ने मार्ग देखाउँछ।

लेखकहरूले जीवनका सरल पाठहरू प्रस्तुत गरेर पाठकलाई आफ्नै दिनचर्यामा खुशी, उद्देश्य र सन्तोष खोज्न प्रेरित गर्छन्। एक दार्शनिक यात्रा हो, जसले हरेक पाठकलाई आफ्नै जीवनभित्र गहिरो सोच र आत्म–अन्वेषणमा लैजान्छ।

“इक्किगाइ”ले जापानी वृद्धहरूसँगको संवादमार्फत देखाउँछ कि जीवनभर सधैं सक्रिय रहनु चाल–चलन, जीविका, कला, बगैचा—बुढ्यौली टाढा राख्ने महत्वपूर्ण उपाय हो। यो सन्तुलित, अर्थपूर्ण र दैनिक अभ्यासमा आधारित जीवनशैली हो। सक्रिय रहनुले शरीर र मन दुवै तन्दुरुस्त रहन्छ र सानो–सानो क्रियाकलापले पनि ऊर्जा र उद्देश्यको अनुभूति दिन्छ।

ओकिनावाका मानिसहरूले आफ्नो खान–पानमा कम क्यालोरी, बढी तरकारी, प्राकृतिक स्वाद र कम प्रशोधित खाना अपनाएका छन्। पुस्तकले भन्छ: “आहार स्वास्थ्यभन्दा धेरै जीवनशैली दर्शन हो।” यसले देखाउँछ कि खाना मानसिक शान्ति, दीर्घायु र जीवनको सन्तुलनमा योगदान पुर्याउने माध्यम हो।

साथै, “इकिगाइ” समुदायसँग जोडिएको जीवनको अर्थ पनि हो। मिलनसार सम्बन्ध, पारिवारिक समर्पण, साझा उत्सव, संगीत र संस्कृतिक रीतिरिवाजहरूले जीवन मात्र मूल्यवान् बनाउँदैनन्, जीवनलाई भरिपूर्ण र अर्थपूर्ण बनाउँछन्। पुस्तकले पाठकलाई जीवनलाई सन्तुलित, सक्रिय, र समुदायसँग सम्बन्धित ढंगले जिउन प्रेरित गर्छ, जहाँ शरीर, मन र आत्मा सबै सन्तुलित हुन्छन्।

पुस्तक हेक्टर गार्सिया र फ्रान्सेस्क मिरालेस्लेले सरल, सुचारु र गहिरो शैलीमा लेखेका छन्। उनीहरूले वैज्ञानिक तथ्य, दार्शनिक दृष्टिकोण, कथाहरू र आफ्नै अनुभवलाई सँगै मिसाएर पठन अनुभवलाई जीवन्त बनाएका छन्। पढ्दा पाठकलाई यस्तो लाग्छ, जस्तो कोही साथीले तपाईंलाई अर्थपूर्ण कुरा सुनाइरहेको छ। यस शैलीले पाठकलाई सहज तर गहिरो ढंगले सोच्न र आत्म–अन्वेषण गर्न प्रेरित गर्दछ। पुस्तकले विद्यार्थी, पेशेवर, गृहिणी, र रिटायर सबैका लागि जीवनका उत्तर खोज्ने पाठ प्रस्तुत गर्दछ। स्वास्थ्य, दीर्घायु र जीवनशैलीका वैज्ञानिक तथ्यलाई दार्शनिक दृष्टिकोणसँग जोडेर मन, शरीर, भावना र उद्देश्य एकसाथ सम्बोधन गर्ने कला यसमा अद्भुत ढंगले प्रस्तुत गरिएको छ।

पुस्तकको भाषा सरल तर प्रभावशाली छ। जटिल दार्शनिक विचारहरूलाई पाठकलाई सहजै बुझ्न र आत्मसात् गर्न सक्षम बनाउँछ। यद्यपि केही अंश दोहोर्याइएको छ, जसले पठनक्रम कहिलेकाहीं ढिलो हुन सक्छ। ओकिनावाको जीवनशैली सबै देशमा प्रत्यक्ष रूपमा लागू नहुने भए पनि, दार्शनिक र सिद्धान्तगत आधार सार्वत्रिक रहेकोले सबै पाठकका लागि उपयोगी रहन्छ। यो जीवनशैली वा स्वास्थ्य पुस्तक मात्र नभएर, जीवनलाई अर्थपूर्ण, सन्तुलित र उद्देश्यपूर्ण बनाउन मार्गदर्शन गर्ने साहित्यिक र दार्शनिक यात्रा हो।

पुस्तकको धारणात्मक स्पष्टता छ, जसले पाठकलाई जीवनका गहिरा प्रश्नहरू बुझ्न सजिलो बनाउँछ। पुस्तकले कथा, अनुभव र दार्शनिक विचारहरूलाई सहज र आकर्षक तरिकाले प्रस्तुत गरिएको छ। जापानी जीवनशैली र इकिगाइका सिद्धान्तहरू ओकिनावामा मात्र नभई सबै पाठकका लागि उपयोगी हुन सक्छन्। जीवन प्रयोगयोग्यताले यसलाई दैनिक जीवनमा प्रत्यक्ष लागू गर्न सकिने गाइड बनाउँ, र नीतिगत प्रभावले जीवनशैली, स्वास्थ्य र मानसिक सन्तुलनका क्षेत्रमा मूल्यवान् सन्देश दिन्छ।

civil hospital
Hams Hospitals