नियात्रा: माडी, इतिहासदेखि वर्तमानसम्म : ऐतिहासिक महत्त्व र गौरव
वि.सं.२०८३ असार १८ बिहीवार
shares
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
Rotary club of Gaindakot, ( Club ID No. 88552) बाट ५ असार २०८३, तदनुसार 19 June 2026 का दिन रोटरी क्लब अफ गैंडाकोटको संयुक्त क्लब सभा ( joint club Assembly) माडी ८ मा अवस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा रोटरी वर्ष 2025-2026 का अध्यक्ष रो. हिरालाल अर्यालको पाँचौ क्लब सभा तथा रोटरी वर्ष 2026-2027 का अध्यक्ष रो. रामहरि श्रेष्ठको प्रथम क्लब सभाका लागि माडी अयोध्यापुरीलाई रोज्यौँ | जसमा Ag., पूर्व अध्यक्षहरू लगायत हामी २६ जना रोटरियन साथीहरूको जम्बो टोली १० वटा निजी गाडीमा दिनको ४:०० बजे घरबाट निस्क्यौँ, जसमा वर्ष 2026-2027 की सचिव म लेखक स्वयम् रो. भूमिका गैरे तिमिल्सिना पनि उपस्थित थिएँ |
मूल मन्त्र: “Service Above self” आफ्नो स्वार्थभन्दा माथि सेवा महान् ! भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै हामी बेलुका ८:०० बजेबाट कार्यक्रम सुरु गन्यौ । कार्यक्रममा वर्ष 2025-2026 को प्रतिवेदन प्रस्तुत माथि Ag. हरिकुमार श्रेष्ठले समीक्षा गर्नुभयो, भने वर्ष 2026-2027 को भावी कार्ययोजना माथि Ag. भरत पोख्रेलले समीक्षा गरी वर्षको पूर्ण सफलता एवम् शुभकामनाका साथै हार्दिक बधाई दिनुभयो ।
कार्यक्रम सकिए लगतै हामीलाई विभिन्न मनोरञ्जनात्मक कार्यक्रम जसमा, स्थानीय कला,संस्कार ,संस्कृतिको परिचय दिलाउने सोरठी, कौडा, मारुनी नाचले स्वागत गर्नुभयो । आफ्नै भाषा, संस्कार,परम्परा, जीवनशैली रहेको गुरुङ समुदायले मादल बजाएर सामूहिक एकता, आपसी सहयोग, अतिथि सत्कार र आफ्नो सास्कृतिक सम्पदाको संरक्षणमा बेजोडको प्रस्तुति दिने गरेको होमस्टेका अध्यक्ष मोहन पुनले जानकारी दिनुभयो | उहाँका अनुसार स्थानीय कला संस्कृतिका लागि परम्परागत मारुनी, सोरठी, कौडा तथा सालौजो, थाली नाच प्रस्तुत गरिन्छ | अयोध्यापुरी उपभोक्ता समिति अन्तर्गत शिवद्वारमा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) सेवा कार्यक्रम वि. सं. २०७२ साल पौष १२ गतेका दिन नेपाल सरकारका तत्कालीन वन तथा भू-संरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाबाट विधिवत रुपमा समुद्घाटन भई सञ्चालनमा आएको हो । यो होमान्टे सदरमुकाम भरतपुर चौबिसकोटीबाट दक्षिणतर्फ ४५ किलोमिटर तथा राजधानी काठमाडौँबाट १९० किलोमिटरको दुरीमा रहेको छ । यस कार्यक्रमबाट प्राप्त आम्दानीको १० प्रतिशत रकम जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्धन कोषको रूपमा छुट्याउँने व्यवस्था गरिएको छ भनि बताउँनुभयो |
हामीले रातको ११:०० बजे खाना खायौं, र सबै होमस्टेतर्फ लाग्यौँ | फरक फरक ठाउँमा वरिपरि नै रहेका होमस्टेमा गएर सुत्यौँ र बिहान ७:०० बजे सबै रेष्टुरेन्टमा जम्मा भयौं । केही साथीहरू खाजा खाएर घरतर्फ लाग्नुभयो भने हामी १० जना चाहिं अयोध्यापुरीमा रहेको श्रीराम मन्दिरको दर्शनका लागि गयौँ |
वागमती प्रदेश, चितवन जिल्लाको दक्षिण सिमानामा रहेको माडी क्षेत्र भरतपुरबाट करिब ३८ किलोमिटरको दुरीबाट सिमाना सुरु हुन्छ | पूर्व पश्चिम राजमार्ग र उत्तरमा राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वत मालाले घेरिएको अत्यन्त सुन्दर जैविक विविधताले सुसज्जित हरियाली उपत्यका हो। यस क्षेत्रको नाम कसरी माडी रहन गयो भन्ने बारेमा पनि अत्यन्त रोचक इतिहास पाइन्छ |
परापूर्वकालमा माडब्य ऋषिले यस भूमिमा तपस्या गरेर यहाँका आदिवासी बासिन्दाहरूलाई मार्ग निर्देश गर्नुका साथै माडब्य ऋषिको तपस्या स्थल भएकाले माडी भनिएको हो भन्ने भनाइ रहेको पाइन्छ | भने अर्कोतर्फ यहाँका आदिवासी थारुजातिहरूले आफ्नो भाषामा पानी जमेको स्थानलाई माड भन्ने गरेको र माडी उपत्यका भित्र पनि पानी जमेको देखेकाले माड माड भन्ने भनाइ अपभ्रंश भई माडी नाम रहन गएको हो भन्ने किंवदन्ती पाइन्छ ।
करिब १ सय विगाहा क्षेत्र रहेको श्रीराम मन्दिर माडीको अयोध्यापुरीमा अवस्थित श्रीराम मन्दिरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति रहेको छ। चितवन, भरतपुर चौविसकोटीबाट दक्षिणतर्फ लागेपछि कृष्णपुर, यज्ञपुरी, प्रेमवस्ती, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, जगतपुर, कसरा हुँदै चितवन राष्ट्रिय निकुञ्ज पार गरेपछि माडी पुग्न सकिन्छ। निकुञ्ज भित्र ग्रावल गरेको कच्ची बाटो रहेको छ | माडी उपत्यका चारैतिर चुरे पहाडले घेरेको छ । दक्षिण भाग भारतसँग सिमाना जोडिएको छ | माडी उपत्यका ऐतिहासिक, धार्मिकस्थल, थारु संस्कृति, परम्परा रहनुका साथै जैविक विविधताले भरिपूर्ण राष्ट्रिय निकुञ्ज पनि हो।
नेपाल र भारतको सिमाना दशगजामा पर्दछ, नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज, पर्सा निकुञ्ज र ठोरी गाउँपालिकाको सिमा पर्दछ ।
इतिहासका पाना पल्टाएर हेर्दा लिच्छविकाल प्राचीन नेपालको सन् ४०० देखि ७५० सम्म करिब ३५० वर्षसम्म शासनकाल रहेको पाइन्छ | नेपाल प्रवेश गर्नुपूर्व लिच्छविहरूले बिहार राज्यको गंगा नदीको उत्तर वैशालीमा राज्य चलाएका थिए। पछि वैशालीबाट भागेर आएका सोम वंशी वीरहरूले सूर्य वंशी किराँतहरूलाई लखटेर लिच्छवि वंशको स्थापना गरेका थिए।
चाँगुनारायण मन्दिरको अभिलेख अनुसार मानदेव लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए। उक्त शासनकालमा सोमेश्वर पर्वत नेपाल भारतको प्रमुख व्यापारको नाका रहेको थियो । काठमाडौँमा लिच्छवि वंशको इतिहास शासन सुरु भएपश्चात मानदेवले तत्कालीन मल्लपुरी आक्रमण गरी काठमाडौं फर्कने क्रममा माडीमा थारु जातिको बसोवास गराएका थिए, भने चितवनमा मानवीय बस्तीको सुरुवात भएको क्षेत्र भनेर पनि चिनिन्छ |
पछि पाल्पाका राजा मणिमुकुन्दसेनले माडी क्षेत्रमा विजय प्राप्त गरेपछि सोमेश्वर पहाडमा गढी निर्माण गरेका थिए । गढीको अर्थ प्राचीन समयमा राज्य व्यवस्थामा सुरक्षाको बन्दोबस्त मिलाउँने ठाउँ वा गौँडो,सेना वा हातहतियार तैनाथ गरिने ठाउँ, किल्ला, दुर्ग आदिका नामले बुझिन्छ |
अयोध्यापुरीमा अवस्थित श्रीराम मन्दिरको दर्शन पश्चात् हाम्रो गन्तव्य पर्सा ठोरी हुँदै अगाडि बढ्यो । जङ्गल भित्र कच्ची ग्रावल गरिएको साँगुरो बाटो असङ्ख्य ससाना पानीका खोलाहरू छिचोल्दै, बाटो वरिपरिको हरियाली, जैविक विविधता, जङ्गली जनावरहरूलाई नियाल्दै हामी अगाडि बढ्यौँ। प्रशस्त घाँसे मैदान तथा पानीका स्रोतहरू भएकाले एकसिङ्गे गैंडा, जङ्गली हात्ती, पाटे बाघ तथा अन्य बन्यजन्तुहरूको उपयुक्त वासस्थान रहेछ | यसका साथै विभिन्न प्रजातिका चरा, मृग, चितुवा तथा पाटेबाघ, भालु देख्न सकिन्छ।
ठोरी जङ्गल नेपालको मधेस प्रदेश अन्तर्गत पर्सा जिल्लाको उत्तरी भागमा अवस्थित रहेको छ। ऐतिहासिक क्षेत्र, हरियाली पहाड र धना जङ्गलको बिचमा अवस्थित यस क्षेत्रलाई मिनी उपत्यका पनि भनिन्छ । उक्त स्थान प्राकृतिक सौन्दर्य, जैविक विविधता एवम् धार्मिक पर्यटनका दृष्टिकोणले पनि निकै प्रसिद्ध रहेको छ।
ठोरी क्षेत्र पुरातात्विक र धार्मिक दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेको छ | यहाँ सीत गुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर धार्मिक स्थलहरू रहेका छन् । रामायण कालसँग जोडिएका पुरातात्विक भग्नावशेषका कारणबाट पनि यस क्षेत्रको ऐतिहासिक, धार्मिक महत्त्व रहेको छ | ठोरी गाउँपालिका विरगंज वा बाराको जीतपुरबाट करिब ६५ किलोमिटरको दुरीमा रहेको छ। यस क्षेत्र पूर्वमा जिराभवानी गाउँपालिका, उत्तरमा पर्सा राष्ट्रिय निकुञ्ज, पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको सिमाना रहेको छ। यहाँका अग्ला हिमशृङ्खला, चितवन राष्ट्रिय निकुञ्जको चारकोसे झाडी र दक्षिणतर्फ भारतका समथर फाँटहरू देख्न सकिन्छ। घना जङ्गल निकुञ्जसँग जोडिएकाले यहाँ जीप सफारी र जङ्गल भ्रमणको सुविधा समेत उपलब्ध छ | यो जङ्गल ठोरी गाउँपालिकाको कुल १२८.६७ वर्ग किलोमिटर क्षेत्रफल भित्र फैलिएको छ, भने यसको सिधा लम्बाइ र चौडाइ क्षेत्र अनुसार फरक फरक रहेको छ।
पर्सा जिल्लाको नामाकरण महुवन गाउँमा रहेको पारसनाथ मठको नाम अपभ्रंश भई पर्सा रहेको हो भन्ने लोकोक्ति पाइन्छ। पर्सा जिल्ला समुन्द्री सतहबाट १२२ देखि ९२५ मिटरसम्मको उचाइमा फैलिएको छ। समथर भूभाग भएकाले खेतीयोग्य जमिन रहेको पाइन्छ। मकै, चैते धान, प्रशस्त बगैंचाहरूले गर्दा उत्पादनका दृष्टिले अब्बल क्षेत्रका रुपमा चिनिन्छ यहाँको हावापानी उष्ण र समशितोष्ण रहेको छ।
विरगंज महानगरपालिका नेपालको मधेस प्रदेश स्थित पर्सा जिल्लाको एक प्रमुख सहर हो |यसलाई नेपालको प्रवेशद्वार भनेर पनि चिनिन्छ | विरगंजलाई औद्धोगिक व्यापारिक र आर्थिक राजधानी भनेर पनि चिनिन्छ ।
पर्यटकीय नगरी माडी नगरपालिकामा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय गन्तव्यहरू रहेका छन् । जसमा; वाल्मीकि आश्रम, विक्रमबाबा, बैराठ धुनी, सोमेश्वर गढी, धरधरे धाम, बृहतगौद्धकनाथ क्षेत्र, त्रिवेणी धाम, चक्रतीर्थ धाम, शनि धाम, रामसीता गुफा, बैकुण्ठ ताल, श्रीराम मन्दिर,रेडहिल पार्क, बाँदरमुढे शान्ति पार्क, शहिद पार्क, सिमरा थारुग्राम, एकता स्तम्भ, पुष्पकमल वन वाटिका रहेका छन् |
होमस्टेहरूमा, अयोध्यापुरी सामुदायिक होमस्टे, बोटे सामुदायिक होमस्टे, कान्तिपुर सामुदायिक होमस्टे, दराई सामुदायिक होमस्टे,हिमाल चुली नेचर फार्मस्टे, ‘एकिकृत मत्स्य जोन तथा जडीबुटी पार्क’ रहेका छन्।
वाल्मीकि आश्रममा सीता माताको पाताल प्रवेश, लवकुशको जन्मस्थल, लवकुशले घोडा बाध्ने तबला, वाल्मीकि ऋषिले तपस्या गरेको ठाउँ, सिलौटो, लवकुशले शिक्षा लिएको ठाउँ लगायतका ऐतिहासिक स्थलहरू रहेका छन्।
भगवान विष्णुका लागि पनि अयोध्यापुरीलाई वेद पुराणहरूले पहिलो मोक्षदायी पुरीका रूपमा लिएका छन् |अयोध्या माहात्म्यमा अयोध्यालाई चक्र तीर्थका रूपमा परिभाषित गरिएको छ। शालग्राम शिलामा भेटिने चक्र नै भगवान विष्णुको सुदर्शन चक्रको प्रतिरूप हो |वराह पुराणको १४४ औं अध्यायको २९ औँ श्लोकमा, भगवान विष्णुको सुदर्शन चक्रको शालिग्रामसंग सम्बन्ध राख्ने पर्वत सोमेश्वर पर्वत हो। यो पर्वत माडीको अयोध्यापुरीमा अवस्थित रहेको भनिएको छ ।
कुनै अद्भुत गुण सम्पन्न व्यक्तित्व जन्मिएको ठाउँमा प्रकृतिको आह्लादिनी शक्ति प्रबल भएको हुन्छ | प्रकृति पनि उक्त ठाउँसङ्ग रमाएकी हुन्छिन् । त्यो ठाउँलाई प्रकृति स्वयम्ले पनि सिंगारपटार गर्न खोजिरहेकी हुन्छिन्। यो कुराको ज्वलन्त उदाहरणका रूपमा माडीलाई लिन सकिन्छ । अनेक उत्तरवाहिनी नदीहरूले आच्छादित उक्त मनोरम स्थानको दक्षिणमा सोमेश्वर पहाड पूर्व-पश्चिम भएर सुतेको छ । पश्चिमतर्फ महेन्द्र पर्वत, नाग पर्वत आदि उभिएका छन् । उत्तरमा रेवा नदी (रियू) नदी पश्चिमोत्तर भएर बगेकी छिन् । अहिलेको रेवा नदी रामायणकालमा देवघाटबाट गण्डकीको एउटा शाखा पहाडको काछ-काछ हुँदै केही पूर्वमा पुगेर माडी झरेको कुरा अनेक शोधले पुष्टि गरिसकेका छन्। त्यसकारण रेवा नदी नै रामायणकालमा हिमनदीका रुपमा विराजमान थिइन् । गोद्धकधाम, परशुराम कुण्ड, वैकुण्ठ ताल, बाँदर भुला, नातन चुली, पाण्डव मन्दिर, देवी ताल, भर्तृहरि कुटी, सोमेश्वर कालिका, विक्रमबाबा, द्रोपदी इनार,सहस्रधारा आदि थुप्रै स्थानहरू माडीको अयोध्यापुरीमा रहेका छन् । भने पवित्र नदीहरूको अद्भुत संयोजन रहेको छ।
अयोध्या शब्दमा ब्रहमा, विष्णु तथा शिव तीनवटै देवताको प्रतिनिधित्व भएको शास्त्रीय कथन छ। अकार व्रह्मा हो, यकार विष्णुको नाम हो भने धकार शिवको स्वरूप हो। गण्डकीका पवित्र किनारमा अवस्थित सोमेश्वर पर्वतका नामले प्रसिद्ध पर्वतमा चन्द्रको श्रापबाट निवृत हुनका लागि धेरै वर्षसम्म कठोर तपस्या गरी आफ्नै नाउको शिवलिङ्ग स्थापना गर्नु भएको थियो।
सोमेश्वर पर्वतमा दुर्लभ जडिवुटीहरू पाइन्छन् । भौतिक विविधताको अद्भुत नमुना हेर्न अन्यत्र जानु पर्दैन । केही वर्ष अगाडि सिंहदरबारको वैद्यखानामा यस ठाउँबाटै जडिबुटीहरू लैजाने गरिन्थ्यो। माडीबाट सुन्दर हिमालका दृश्य पनि देख्न सकिन्छ । वरिपरि घना जङ्गलले घेरिएको हुँदा यहाँको वायु स्वच्छ, स्वास्थ्यकर छ । वरिपरि सुरम्य झरनाहरु देख्न सकिन्छ। दक्षिण पूर्वमा गुफाहरू रहेका छन् । अयोध्यामा गुफाहरू रहेको वाल्मीकि रामायणमा पनि चर्चा गरिएको छ। हनुमानले द्रोणगिरी पर्वतबाट बुटीहरु लङ्का, लैजादै गर्दा केही भाग सोही सोमेश्वर पर्वतमा खसेको शास्त्रमा उल्लेख छ,भन्ने कुरा श्रीराम मन्दिरका पुजारी बुद्धि कुइँटेलबाट जानकारी भयो।
हाम्रो यात्रा माडी,अयोध्यापुरी, चितवन राष्ट्रिय निकुञ्ज, ठोरी,सुवर्णपुर, विरगंज,सिमरा,हेटौंडा हुँदै घर फर्कने योजना थियो | सोही अनुरुप हामी बाटोमा रहेका लहलहाउँदो धान खेती, हरिया मकै खेती, घाँसे मैदान नियाल्दै हामी १ नं. पुल अम्लेखगंज २२, मा रहेको जर्गा होटलमा २:०० बजे पुग्यौँ र खाना खायौँ | त्यसपछि हेटौँडा हुँदै करिव ४:०० बजे सकुशल घरमा आइपुग्यौँ |
रोटरी विशुद्ध सेवाभावमा समर्पित संस्था हो | ‘धर्मभन्दा सेवा महान” यस वाक्यबाट पनि यो स्पष्ट हुन्छ की समाज कल्याण, अरुको हितमा काम गर्नु, व्यक्तिगत स्वार्थभन्दा माथि सेवाभाव,समाजमा सकारात्मक परिवर्तन गर्नु,जिम्मेवार रही इमान्दारका साथ काम गर्नु पर्छ भन्ने पनि स्पष्ट पार्छ।
चितवनको माडी उपत्यका ऐतिहासिक, धार्मिक प्राकृतिक, सांस्कृतिक एवम् पर्यटकीय महत्त्व बोकेको एक विशिष्ट क्षेत्र हो। चारैतिर निकुञ्ज, पहाडहरूले घेरिएको असङ्ख्य नदीहरू रहेको स्थल, देवभूमि, उत्पादनका दृष्टिले अब्वल उर्वराशक्ति भएको कृषियोग्य ठाउँ हो। यहाँका बासिन्दाहरू जङ्गल,नदीका किनार,बिचमा बसेर आदिवासी मैथली, थारु,दरै, बोटे र कुमाल संस्कृतिको संरक्षण गरेका छन् |
माडीमा ६० हजार जनसङ्ख्या रहेको ठाउँ तर आज किन दिनप्रतिदिन घटिरहेको छ ? सोच्नुपर्ने अवस्था छ । यसको कारण के होला ? नेतृत्व गर्नेहरूले ध्यान पुन्याउँनु पर्ने देखिन्छ। राजनीति गर्ने पनि आफैँ बाहिर जाँदा त्यहाँ रहेका आदिवासी,थारु, चेपाङ्ग, सुकुम्बासी बस्तीमा कस्ता समस्या उत्पन्न हुन्छन् ? त्यसैले फगतका राजनीतिबाट टाढा रही गम्भीर भएर सोच्नु आवश्यक हुन्छ । त्यहाँको धार्मिक, ऐतिहासिक, सास्कृतिक, पर्यापर्यटनका गतिविधिलाई उजागर गरेर माडीको महत्त्व एवम् गरिमा सबै माझ ल्याउनु पर्ने देखिन्छ नत्र प्राकृतिक सुन्दरतामा अदभूत माडी ओझेलमा पर्न सक्ने खतरा देखिन्छ । यसमा सम्बन्धित निकाय, स्थानीय सकोकारवाला, संघसंस्था, विज्ञहरूको ध्यानु जानु आवश्यक रहन्छ । आवश्यक प्रचारप्रसार गरी त्यहाँको स्थानीय स्तरका सम्भावनाहरूको पहिचान, खोजी गरी राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा व्यापक प्रचार गरेर पर्यटकहरूको आवागमनलाई बढाउँन सकियो भने आर्थिक दृष्टिकोणबाट पनि मजवुत रहन्छ। फराकिलो क्षेत्रफलमा फैलिएको माडी अलौकिक छ। भनिन्छ नि, “मृगको नाइटोमा एक विशेष किसिमको सुगन्ध हुन्छ, तर त्यो कहाँबाट आयो भनि पहिचान गर्न नसक्दा जङ्गलभरि भौतारिने गर्दछ ।” हो, त्यस्तो चाहिँ नहोस् | अरूलाई खुसी अनि सफल देख्नुभन्दा पनि हामीले आफ्नै देशमा रहेका अथाह सम्भावनाहरूको खोजी अनि पहिचान गरेर त्यसलाई उजागर गरी त्यसको महत्त्व एवम् ख्याति बढाउँनमा हामी सबैको महत्त्वपूर्ण भूमिका रहन्छ |





























