सिभिल अस्पतालमा २.९१ करोडको औषधि भ्रष्टाचारको आरोप: ८ कर्मचारीविरुद्ध अख्तियारको मुद्दा
वि.सं.२०८३ असार २४ बुधवार
shares
काठमाडौं। काठमाडौंको निजामती अस्पताल (सिभिल) मा औषधि खरिद र मौज्दात व्यवस्थापनमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगको अनुसन्धानअनुसार अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नै नगरी बिलभरपाइ मिलाएको, सफ्टवेयरमा मात्रै औषधि दाखिला देखाएर करोडौँ रुपैयाँ बराबरको सरकारी रकम हिनामिना गरेको आरोप लागेको छ।
जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै फार्मेसी इन्चार्ज दीपा ढुङ्गानासहित लवेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा, विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशव राज न्यौपाने र सन्दीप तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा अस्पतालको स्टोर तथा भर्याङमुनि करोडौँ मूल्यका औषधि म्याद गुज्रिएर फालिएको अवस्थामा भेटिएको थियो। तर कम्प्युटर प्रणालीमा भने ती औषधि मौज्दातमै रहेको देखाइएको पाइएको आयोगको दाबी छ।
यस्तै, महालेखा परीक्षकको कार्यालय को प्रतिवेदनले पनि अस्पतालमा खरिद, बिक्री र बाँकी मौज्दातको सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स) तयार नगरिएको र लेखापरीक्षणमा गम्भीर कैफियत देखिएको औँल्याएको थियो।
आयोगका अनुसार म्याद सकिन लागेका औषधि आपूर्तिकर्तालाई फिर्ता गरी सोधभर्ना लिनुपर्ने कानुनी व्यवस्था बेवास्ता गर्दै सम्बन्धित कर्मचारीहरूले उल्टै आपूर्तिकर्ताको धरौटी रकम फिर्ता दिएका थिए। साथै, कार्यकारी निर्देशकको निर्देशनसमेत पालना नगरी नक्कली प्रतिवेदन तयार पारेर सरकारी सम्पत्तिको हिनामिना गरिएको आरोपसहित उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
सिभिल अस्पतालमा सिटीस्क्यान र एमआरआई सेवामा समस्या, निजी अस्पतालसँगै मिलेमतो





























