पूर्वीय दर्शनको ऐनामा सत्ताको आत्मपरीक्षण

441
shares

 

कहिलेकाहीँ समय चिच्याउँदैन। ऊ केवल दिशा बदल्छ। मानिसले त्यो परिवर्तन तत्काल देख्दैन। विश्वासको धागो कहाँ चुँडियो, प्रेम कहिले अविश्वासमा बदलियो, सम्मान कहिले संशयमा रूपान्तरित भयो यसको उत्तर नायकसँग पनि हुँदैन। उसका अनुयायीसँग पनि हुँदैन। इतिहासले भने मौन बसेर सबै कुरा टिपिरहेको हुन्छ।यही कारण इतिहासका धेरै महान् पात्रहरू आफ्नै आँखामा विजेता रहे। तर इतिहासको आँखामा पराजित बने। उनीहरू आफूलाई उज्यालो सम्झिरहे। समयले उनीहरूलाई अँध्यारो प्रमाणित गर्‍यो।

पूर्वीय दर्शनले एउटा अद्भुत सत्य सिकाउँछ। संसारमा कुनै पनि पतन अचानक हुँदैन। प्रत्येक पतनको बीउ चेतनाभित्रै उम्रिन्छ। जब मनमा अहंकार अंकुराउँछ, त्यही क्षण पतनको यात्रा सुरु भइसकेको हुन्छ। बाहिर देखिने पराजय त केवल अन्तिम दृश्य हो।

यही कारण भगवद्गीताले सबैभन्दा पहिले युद्धभूमि होइन, मनको भूमि जित्न सिकाउँछ। उपनिषद् ले संसारलाई जित्नुभन्दा पहिले आफूलाई चिन्न आग्रह गर्छ। धम्मपद ले शत्रुभन्दा ठूलो शत्रु आफ्नै अविवेकी मनलाई मानेको छ। ईशोपनिषद्ले भोगमा होइन, त्यागमा आनन्द देखेको छ। पूर्वीय चिन्तनको केन्द्र सत्ता होइन। आत्मा हो। विजय होइन। विवेक हो।

त्यसैले म आजको यो विमर्श कुनै व्यक्तिको आलोचना गर्न लेखिरहेको छैन। यो त इतिहासको एउटा ऐना हो। त्यस ऐनामा हामी सबैले आफ्नै अनुहार हेर्नुपर्छ। विशेष गरी सत्तामा बस्नेहरूले।

इतिहासमा एउटा नाम बारम्बार उच्चारण हुन्छ मुसोलिनी। सन् १९२२ मा इटाली आर्थिक संकटले थलिएको थियो। जनता निराश थिए। उनीहरू आशा खोजिरहेका थिए। मुसोलिनी त्यही आशाको प्रतीक बने। मानिसहरूले उनलाई राष्ट्रको उद्धारकर्ता ठाने। उनले पनि राष्ट्र पुनर्निर्माणको सपना देखाए। केही सुधार भए। जनताले विश्वास गरे।तर चेतनाको भित्री यात्रामा उनी हार्दै गए।अहंकारले विस्तारै विवेकलाई विस्थापित गर्‍यो। शक्ति सेवाबाट शासनमा बदलियो। शासन नियन्त्रणमा बदलियो। नियन्त्रण दमनमा बदलियो। अन्ततः राज्य एउटा व्यक्तिको इच्छाको पर्याय बन्न पुग्यो।

कहिलेकाहीँ इतिहास कुनै युद्धको अन्त्यबाट होइन, एउटा व्यक्तिको चेतनाभित्र सुरु भएको सूक्ष्म परिवर्तनबाट मोडिन्छ। समयले आफ्नो दिशा बदल्दा त्यसको कुनै ठूलो आवाज हुँदैन। न कुनै शङ्खनाद हुन्छ, न कुनै उद्घोष। परिवर्तन पहिला मानिसको दृष्टिमा होइन, उसको विवेकमा आउँछ। त्यसपछि व्यवहारमा झर्छ। अन्ततः इतिहासको पानामा स्थायी अभिलेख बन्छ। यही कारण धेरै नायकहरू आफ्नो पतनको आरम्भ देख्न सक्दैनन्। उनीहरू बाह्य विजय, लोकप्रियता र शक्तिलाई सफलताको प्रमाण ठानिरहन्छन्। तर उनीहरूको अन्तर्मनमा विवेकको प्रकाश क्रमशः क्षीण हुँदै गइरहेको हुन्छ।

विश्वास कुनै भवनजस्तो एकैचोटि ढल्दैन। त्यो त रेशमको धागोजस्तै बिस्तारै चुँडिन्छ। सम्मान एकैदिन समाप्त हुँदैन। त्यो निर्णयहरूमा बढ्दै गएको असन्तुलन, आत्मालोचनाको अभाव र आलोचनाप्रतिको असहिष्णुताले क्रमशः क्षय हुन्छ। जब व्यक्तिले आफ्ना समर्थकहरूको तालीलाई सत्यको अन्तिम प्रमाण मान्न थाल्छ, त्यही क्षण ऊ यथार्थबाट टाढिन थालिसकेको हुन्छ। त्यसपछि उसको वरिपरि सत्य बोल्ने मानिसहरू घट्छन् र प्रशंसाका प्रतिध्वनिहरू बढ्छन्। यही प्रतिध्वनि अन्ततः उसको सबैभन्दा ठूलो भ्रम बन्छ।

पूर्वीय दर्शनले पतनलाई आन्तरिक विकृतिको अपरिहार्य परिणाम मानेको छ। उपनिषद्, भगवद्गीता र बौद्ध दर्शनले समान रूपमा चेतावनी दिएका छन् कि अहंकार, मोह र आत्मविस्मृतिले विवेकलाई ढाक्छन्। विवेक ढाकिएपछि निर्णयहरू शक्तिशाली देखिए पनि न्यायपूर्ण रहँदैनन्। न्याय हराएपछि विश्वास क्षीण हुन्छ। विश्वास क्षीण भएपछि नेतृत्व केवल पदमा सीमित रहन्छ, हृदयमा होइन।

त्यसैले कुनै पनि महान् व्यक्तित्वको वास्तविक परीक्षा उसका विजयहरूमा हुँदैन, आफ्नै सीमाहरू चिन्न सक्ने क्षमतामा हुन्छ। इतिहासले केवल कसले जित्यो भन्ने अभिलेख राख्दैन; उसले कसरी जित्यो, किन हार्यो र कुन चेतनाले उसको यात्रालाई दिशा दियो भन्ने पनि निस्पक्ष रूपमा लेखिरहन्छ। यही कारण पतनको अन्तिम दृश्य देखिनुभन्दा धेरैअघि त्यसको कथा मानिसको अन्तरात्माभित्र लेखिन सुरु भइसकेको हुन्छ। समय त्यसको मौन साक्षी बन्छ, र इतिहास त्यसको निष्पक्ष न्यायाधीश।

पूर्वीय चिन्तनले एउटा  सत्य उद्घाटित गर्छ अहंकार विनाशको बीउ हो। संस्कृतको प्रसिद्ध सूक्ति छ, अहङ्कारः विनाशस्य कारणम्” अर्थात् अहंकार नै विनाशको कारण बन्छ। जब मानिसले बाहिरी संसारलाई जित्ने महत्त्वाकाङ्क्षामा आफ्नै विवेक, संयम र आत्मबोध गुमाउँछ, त्यही क्षण पतनको यात्रा सुरु हुन्छ।

इतिहास यसको असंख्य उदाहरणहरूले भरिएको छ। हिटलरले विश्वलाई आफ्नो अधीनमा ल्याउने सपना देखे। सेनाहरू जिते, भूगोल बदले, लाखौँ मानिसमाथि शासन गर्ने प्रयास गरे। तर आफ्नै अहंकार, क्रोध र विनाशकारी महत्वाकाङ्क्षामाथि विजय प्राप्त गर्न सकेनन्। अन्ततः बाह्य शक्तिले होइन, आफ्नै चेतनाभित्र हुर्किएको अहंकारले उनलाई पराजित गर्‍यो। संसार जित्ने आकाङ्क्षाभन्दा कठिन कार्य आफूलाई जित्नु रहेछ। यही उनको सबैभन्दा ठूलो हार थियो, र यही इतिहासले दिएको सबैभन्दा गम्भीर शिक्षा पनि हो।

लिबियाका गद्दाफी पनि सुरुवातमा परिवर्तनका प्रतीक थिए। युवाहरूले उनलाई नयाँ युगको प्रतिनिधि ठाने। उनले पनि क्रान्तिको भाषा बोले। तर क्रान्ति चेतनामा टिकेन। व्यक्तित्वमा केन्द्रित भयो। संस्थाहरू कमजोर भए। आलोचना अपराध बन्यो। शक्ति नै सत्य ठानियो।

पूर्वीय चिन्तनले शासनलाई शक्ति प्राप्त गर्ने साधन होइन, उत्तरदायित्व निर्वाह गर्ने तपस्या मानेको छ। राजधर्मको मूल आधार यही हो कि राजा धर्मभन्दा माथि कहिल्यै हुँदैन; धर्म नै राजाको मर्यादा, वैधता र गौरवको स्रोत हो। शासकको वास्तविक उचाइ उसको सिंहासनले होइन, उसको चरित्रले नापिन्छ। जब शासनबाट सत्य, न्याय, करुणा र आत्मसंयम ओझेल पर्छन्, तब राज्यका संस्थाहरू बाहिरबाट बलिया देखिए पनि भित्रबाट खोक्रा बन्दै जान्छन्। सिंहासन रहन सक्छ, राजत्व भने हराइसकेको हुन्छ। यही कारण पूर्वीय दर्शनले शासनलाई अधिकारको प्रदर्शनभन्दा धेरै कर्तव्यको अनुशासनका रूपमा व्याख्या गर्छ।

रोमानियाका चाउचेस्कुको राजनीतिक यात्रा पनि यही दार्शनिक दृष्टिकोणबाट गहिरो रूपमा बुझ्न सकिन्छ। उनले राष्ट्रिय विकास, औद्योगिकीकरण र आधुनिक राज्य निर्माणको महत्वाकांक्षी सपना अघि सारे। तर विकासको आत्मा केवल कङ्क्रिट, महल र स्मारकमा बस्दैन। विकास त्यतिबेला सार्थक हुन्छ, जब त्यसको केन्द्रमा नागरिकको सम्मान, स्वतन्त्रता र जीवनको गुणस्तर हुन्छ। जब राज्यको स्रोत जनताको आशाभन्दा शासकको वैभव प्रदर्शनमा बढी खर्चिन थालिन्छ, तब समृद्धिका प्रतीकहरू नै जनअसन्तुष्टिका स्मारक बन्न पुग्छन्। दरबारहरू विशाल बन्दै जान सक्छन्, तर यदि नागरिकको भान्सामा अभाव, हृदयमा भय र भविष्यप्रति निराशा छ भने ती दरबारहरूले शासनको सफलता होइन, नैतिक असफलताको मौन साक्ष्य दिन्छन्।

पूर्वीय दर्शनले त्यसैले एउटा अत्यन्त सरल तर कालजयी प्रश्न सोध्छ, महल ठूलो कि मन? यो प्रश्न वास्तुकलाको होइन, चेतनाको हो। सम्पत्तिको होइन, मूल्यको हो। मन विशाल छ भने सानो घर पनि सभ्यताको केन्द्र बन्न सक्छ। मन सङ्कुचित छ भने संसारकै भव्य महल पनि असुरक्षा, अहंकार र एकान्तको कारागार बन्न सक्छ। इतिहासले अन्ततः भवनको उचाइ होइन, मानवताको उचाइ मापन गर्छ। त्यसैले कुनै पनि शासकको महानता उसले कति अग्ला दरबार बनायो भन्नेमा होइन, कति मानिसको जीवनमा आशा, न्याय र सम्मानको उज्यालो फैलायो भन्नेमा निर्भर हुन्छ। यही राजधर्मको शाश्वत सार हो र यही पूर्वीय दर्शनले समयलाई दिएको अमर सन्देश पनि हो।

रोबर्ट मुगाबेको कथा पनि त्यही हो। स्वतन्त्रताको महानायक। तर समयसँगै शक्ति सेवाबाट स्वामित्वमा बदलियो। जनताको भरोसा बिस्तारै हराउँदै गयो। अन्ततः जसले स्वतन्त्रता दिलाएका थिए, तिनै जनताले उनको बहिर्गमनमा उत्सव मनाए।

यी सबै पात्र फरक देशका हुन्। फरक सभ्यताका हुन्। तर उनीहरूको पतनको कारण एउटै थियो।आत्मविस्मृति।

पूर्वीय दर्शनमा मानिसलाई काम, क्रोध र अहंकार तीन शत्रुको चर्चा गरिएको छ । यी तीनमध्ये अहंकार सबैभन्दा सूक्ष्म हुन्छ। किनकि यसले आफूलाई दोष देख्न दिँदैन। जसले आफूलाई पूर्ण ठान्छ, उसले सिक्न छोड्छ। जसले सिक्न छोड्छ, उसले परिवर्तन बुझ्न छोड्छ। अनि इतिहास उसको विरुद्ध लेखिन थाल्छ।

राजनीतिशास्त्रले शक्ति बाँड्न सिकाउँछ। पूर्वीय दर्शनले शक्ति त्याग्न सिकाउँछ। यी दुई विरोधी होइनन्। परिपूरक हुन्। त्यागबिनाको शक्ति हिंसा बन्छ। शक्तिबिनाको त्याग निष्क्रिय बन्छ। सन्तुलन नै सभ्यता हो।

हाम्रै समाजमा पनि यस्ता अनेक अनुभव छन्। जनताको विश्वास लिएर उदाएका धेरै नेताहरू समयसँगै आलोचनाको केन्द्र बने। यसको कारण केवल राजनीतिक असफलता थिएन। नैतिक दूरी पनि थियो। जब नेता नागरिकभन्दा माथि उठ्न खोज्छ, त्यही क्षण लोकतन्त्र तल झर्न थाल्छ।

लोकतन्त्र मतदानले मात्र बाँच्दैन। त्यसको वास्तविक प्राण विनम्रता, उत्तरदायित्व र जनविश्वासमा निहित हुन्छ। संविधान नागरिक र राज्यबीचको नैतिक प्रतिज्ञा  हो। त्यसैले संविधानको स्थायित्व केवल धाराहरूको कठोरताले सुनिश्चित हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने नेतृत्वको चरित्रले सुनिश्चित गर्छ। कानुनले अनुशासन कायम गर्न सक्छ, तर न्यायप्रतिको आस्था नैतिकताले मात्र निर्माण गर्छ।

पूर्वीय दर्शनले यही सत्यलाई बारम्बार स्मरण गराउँछ। कठोपनिषद्मा कठोपनिषद्का नचिकेताले मृत्युका देवता यमसँग सत्यको खोजी गर्छन्। त्यहाँ एउटा  विभाजन प्रस्तुत गरिएको छ, श्रेय प्रेय। प्रेय तत्काल आकर्षक हुन्छ। श्रेय दीर्घकालीन कल्याणको मार्ग हो। शासन र राजनीतिमा पनि यही भेद लागू हुन्छ। लोकप्रिय निर्णय सधैँ लोकहितकारी नहुन सक्छ। तर लोकहितकारी निर्णय, यद्यपि कठिन र अलोकप्रिय देखिए पनि, इतिहासका लागि अधिक मूल्यवान् हुन्छ। यही पूर्वीय राजनीतिक दर्शनको आत्मा हो।

शासन आदेश दिने अधिकार होइन, सार्वजनिक विश्वासको उत्तरदायित्व हो। नेतृत्व प्रसिद्धि प्राप्त गर्ने माध्यम होइन, सेवाभावको अनुशासन हो। पद विशेषाधिकारको प्रतीक होइन, आत्मसंयम, त्याग र तपस्याको दायित्व हो। राजधर्मको मूल मर्म यही हो कि शासक जनताभन्दा माथि हुँदैन। जनताको विश्वास, न्यायप्रतिको प्रतिबद्धता र नैतिक आचरणले मात्र नेतृत्वलाई वैधता प्रदान गर्छ। जहाँ विश्वास क्षीण हुन्छ, त्यहाँ शक्तिका संरचनाहरू केही समय टिके पनि नैतिक नेतृत्व टिक्न सक्दैन।

यही कारण पूर्वीय दर्शनले सत्तालाई उपलब्धिको शिखर होइन, उत्तरदायित्वको शिखरका रूपमा हेर्छ। भगवद्गीता को कर्मयोग सत्ता प्राप्त गर्ने रणनीति होइन, कर्तव्यलाई निष्काम भावले निर्वाह गर्ने जीवनदर्शन हो। गौतम बुद्धको मध्यममार्ग शासन सञ्चालनको आत्मसंयम, करुणा र सन्तुलित चेतनाको अनुशासन हो। उपनिषद्को ब्रह्मविद्या संसारको केन्द्रमै रहेर पनि अहंकार, लोभ र मोहबाट मुक्त रहने चेतनाको साधना हो। यी सबै दर्शनको साझा निष्कर्ष एउटै छ बाह्य शासनभन्दा कठिन कार्य आफ्नै मनमाथि शासन गर्नु हो।

इतिहासका अधिकांश तानाशाहहरूको एउटा साझा भ्रम थियो। उनीहरूले आफूलाई अपरिहार्य ठाने। उनीहरूलाई लाग्यो, उनीहरूबिनाको इतिहास अधुरो हुन्छ। तर प्रकृतिले कहिल्यै कसैलाई अपरिहार्य मानेन। सूर्य प्रत्येक साँझ अस्ताउँछ। ऋतुहरू निरन्तर परिवर्तन हुन्छन्। नदी एउटै जल लिएर कहिल्यै बग्दैन। समय कुनै शक्ति, कुनै साम्राज्य र कुनै व्यक्तिको इच्छाअनुसार रोकिँदैन। त्यसैले सत्ता पनि अनन्त हुँदैन। पद समाप्त हुन्छ। प्रभाव क्षीण हुन्छ। वैभव हराउँछ। तर कर्मको प्रतिध्वनि समयको सीमाभन्दा धेरै टाढासम्म सुनिन्छ। चरित्रको सुवास पुस्तौँसम्म बाँच्छ। इतिहासको निर्णय ढिलो हुन सक्छ, तर अन्यायपूर्ण हुँदैन।

यसैले अन्त्यमा यति मात्र भन्न चाहन्छु नायक बन्ने आकाङ्क्षाभन्दा सज्जन नेता बन्ने साधना ठूलो हो। लोकप्रिय बन्नुभन्दा पहिले लोकप्रति उत्तरदायी बन्नु आवश्यक छ। शासन गर्नुभन्दा पहिले आफ्ना इच्छा, क्रोध, लोभ र अहंकारमाथि शासन गर्न सिक्नुपर्छ। किनकि राज्य जित्नु उपलब्धि हुन सक्छ, तर आत्मा जित्नु महानता हो। जनसमर्थन प्राप्त गर्नु सफलता हुन सक्छ, तर जनविश्वास जोगाइराख्नु चरित्रको विजय हो।

पूर्वीय दर्शनले अन्ततः यही शाश्वत सत्य उद्घोष गर्छ आफ्नो अहंकारलाई जित्ने व्यक्ति इतिहासको न्यायसँग डराउनुपर्दैन। तर जसले आफ्नै चेतनामाथि हार स्वीकार्छ, उसलाई संसारकै सबैभन्दा विशाल सिंहासन, सबैभन्दा शक्तिशाली सेना वा सबैभन्दा ठूलो प्रशंसाले पनि अन्ततः बचाउन सक्दैन। इतिहासले मानिसको उचाइ उसको पदले होइन, उसको अन्तःकरणले नाप्छ र त्यही निर्णय नै समयको सबैभन्दा निष्पक्ष फैसला हो।

 

civil hospital
Hams Hospitals